जनता टाइम्स

२१ असार २०८२, शनिबार १५:५५

कुलमानको दवावमा पाएको ठेक्कामा आयो विवादः बागमतीका सांसद तामाङविरुद्ध पक्राउ पुर्जी


काठमाडौं, २१ असार। नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्य रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका आफ्नै भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा हुनुहुन्छ । बुद्धिमान भने घिसिङका आफ्नै ससुरा हुनुहुन्छ । धादिङ– २ (ख) बाट निर्वाचित तामाङ प्रदेशको सहकारी मन्त्री पनि हुनुभएको थियो ।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उहाँले दबाब दिएर आफ्ना काका ससुरा तामाङको कम्पनीलाई दिलाइदिएको सबस्टेसन निर्माणसम्बन्धी विवादमा तामाङलाई पक्राउ पुर्जी जारी भएको एक स्रोतले जानकारी दिएको छ। ललितपुर जिल्ला अदालतले ५ फागुन २०८१ मै पक्राउ पुर्जी जारी गरेकोमा त्यसविरुद्ध तामाङ लगायतले उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिनुभएको थियो । उच्च अदालतले पनि गत ९ असारमा उनीहरुको निवेदन खारेज गरिदिएको छ ।