जनता टाइम्स

१६ पुष २०७९, शनिबार १६:११

नयाँ बर्षसँगै कोरियामा बढ्यो नेपाली कामदारको तलव, यस्तो छ अव न्यूनतम तलव


जनवरी १, २०२३ बाट लागू भएको नयाँ तलवमानसँगै अव नेपाली कामदारको तलव बढेर प्रतिघन्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) पुगेको छ । यो तलवमानअनुसार नेपाली कामदारले अव मासिक न्यूनतम तलब २० लाख १० हजार ५ सय ८० अर्थात दुई लाख रुपैयाँ पाउने भएका हुन 

सञ्जु केसी/सोल (दक्षिण कोरिया) 

रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत दक्षिण कोरिया आएका नेपाली कामदारको तलब बढेको छ । नयाँ वर्ष २०२३ लागेसँगै दक्षिण कोरियामा कार्यरत नेपाली कामदारको तलब अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बढेको हो ।

जनवरी १, २०२३ बाट लागू भएको नयाँ तलवमानसँगै अव नेपाली कामदारको तलव बढेर प्रतिघन्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) पुगेको छ । यो तलवमानअनुसार नेपाली कामदारले अव मासिक न्यूनतम तलब २० लाख १० हजार ५ सय ८० अर्थात दुई लाख रुपैयाँ पाउने भएका हुन ।

कोरिया सरकारले केही समयअघि नै तलव बढाएको थियो । सुन २०२२ को जुलाई महिनामा निर्णय भएपनि नयाँ बर्ष सन २०२३ बाट लागू गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अव कोरियामा कार्यरत नेपाली कामदारले नयाँ बर्षसँगै यो तलव पाउने छन । नयाँ नियमअनुसार पाँच जनाभन्दा धेरै कामदार भएको कम्पनीले एक घण्टा ओभर टाइम गरे १४ हजार ४ सय ३० (१४ सय ४०) प्राप्त गर्नेछन । यस्तै राति १० बजेदेखि बिहान ६ बजेभित्र काम गरे १९ हजार २ सय ४० (झन्डै २ हजार रुपैयाँ) पाउने छन ।

पाँच जनाभन्दा कम कामदार भएका कम्पनीको हकमा भने यो नियम लागू हुँदैन । कोरियामा कृषि क्षेत्रमा काम गर्ने प्रायः कम्पनीको कामदार पाँच जनाभन्दा कम छन । कम कामदार भएको कम्पनीमा ओभरटाइम गरे पनि थप पैसा पाउँदैनन । कोरियाली श्रम कानुनअनुसार पाँच जनाभन्दा कम कामदार भएको कम्पनीहरूले न्यूनतम ज्याला ९ हजार ६ सय २० वनमै कामदारलाई काम लगाउने छूट रहेको छ ।

ओभरटाइमलगायतका अन्य कामदारले कोरियाली श्रम कानुनअनुसार नै पाउनु पर्ने माग कोरियाली ट्रेड युनियनहरूले राख्दै आएका छन । तर सरकारले सानो पुँजी भएका कम्पनीलाई पनि यो कानुन लगाए कम्पनी बन्द हुने र लाखौं मानिस प्रभावित हुने भन्दै श्रम कानुन लागू गर्न नसक्ने जनाउँदै आएको छ ।

तलबवृद्धिले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका ३५ हजारभन्दा बढी नेपाली कामदार लाभान्वित भएका छन ।
कोरियाली सरकारले सन् १९८६ मा न्यूनतम ज्याला निर्धारण गर्ने नियम पारित गरेको थियो । त्यसको दुई वर्षपछि सन् १९८८ देखि यो नियम लागू हुँदै आएको छ । यसअघिका राष्ट्रपति मुन जे–इनको कार्यकालमा सन् २०१८ मा १६.४ प्रतिशत, २०१९ मा १०.९ प्रतिशत, २०२० मा २.९ प्रतिशत ज्याला बढाइएको थियो भने सन् २०२१ मा १.५ प्रतिशत तलब बढेको थियो ।

यसैबीच दक्षिण कोरियामा इ–९ भिषा बाहक इपिएस श्रमिक लगातार १२ बर्षसम्म बस्न पाउने निणय लागू हुने भएको छ । कोरियाको न्याय मन्त्रालयमा अध्यागमन शिक्षकको रुपमा कार्यरत लाक्पा शेर्पाले आफ्नो आधिकारिक फेसबुक पेज टीडिएनकेमार्फत यस्तो जानकारी दिनुभएको हो ।

कोरिया सरकारले उक्त नियम ल्याउन लागेको भएपनि कहिलेदेखि र कस्तो तरिकाले लागू गर्ने भन्नेबारे स्पष्ट खुलाइएको भने छैन ।
हालसम्मको नियमअनुसार इपिएसबाट आउने श्रमिकले इ–९ भिषामा दुई कार्यकाल गरेर ९ बर्ष ८ महिना मात्र बस्न पाउँछन । कोरोना महामारीको समयमा सरकारले १ बर्ष थप बसाई अवधी लम्ब्याएको थियो ।