जनता टाइम्स

१४ फाल्गुन २०७९, आईतवार १०:४६

माओवादी र हामी एकै ठाउँमा छौं, निर्वाचनमा मलाई नै मतदान गर्नुहुन्छ : सुवास नेम्वाङ (अन्तर्वार्ता)


नयाँ राष्ट्रपतिका लागि पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुदैछ । पूर्वसभामुख नेम्वाङ सालिन र भद्र हुनुहुनछ । आठ दलीय गठबन्धनसँग एक्लै भिडनु भएका नेम्वाङसँग राष्ट्रपति निर्वाचनको सेरोफेरोमा रहेर गरिएको कुराकानी

आठ दलको गठबन्धनबिरुद्ध तपाईंको उम्मेदवारी किन ?

हामीले एउटा प्रणालीलाई हटाएर संविधान बनाउने क्रममा जुनसुकै कुलमा जन्मेका छोरा वा छोरी होस्, राष्ट्राध्यक्ष बनाउने प्रणाली बनायौं । जनताले जनतालाई राष्ट्रपति बनाउने व्यवस्था संविधानले स्थापित गर्‍यो । संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षकका रूपमा स्थापित गर्ने प्रयास गरेको छ । तसर्थ आफ्नो अध्यक्षतामा बनेको संविधानाको विगतका अनुभवलाई ध्यानमा राख्दै संविधानको पालन, संरक्षण गर्ने र विविधता बीचको एकता प्रवर्द्धन गर्ने भूमिका निर्वाह गरूँ भनेर म अग्रसर भएको छु ।

तपाईंका पक्षमा मतभार कम देखाउँछ, जित्ने आधार के छ ?

मैले निर्वाह गरेको भूमिकाप्रति संघीय र प्रदेश सांसदहरू जानकार हुनुहुन्छ । उहाँहरूसँगको भेटघाट र सम्पर्कबाट म उत्साहित छु । उहाँहरूको हौसला र साथ नै निर्वाचित हुने आधार हुन् ।

प्रतिद्वन्द्वी उम्मेदवारलाई समर्थन गरेका दललाई पनि एमालेले चिठी पठाएर मत माग्न सुरु गरेको छ । कांग्रेसलाई पनि पत्र पठाउनुभयो कि ?

अहिले हामीले जुन प्रणाली अपनाएका छौं, यसको सुन्दरता भनेकै दलहरूबीचमा हार्दिक सम्बन्ध हो । दलहरू यस्तै सम्बन्धका आधारमा देश र जनताको सेवामा लाग्नुपर्छ । निषेधको राजनीतिक होइन, स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो । त्यसैले दलहरूका बीचमा भेटघाट कम भयो भने चिन्ता गर्नुपर्छ । जति धेरै भेटघाट भयो, त्यति नै राम्रो मान्नुपर्छ । त्यसैले दलहरूका बीचमा हार्दिक सम्बन्ध विस्तार गर्ने प्रयास रहन्छ । सबै दलसँग मतदानमा सहयोगका लागि आग्रह गरेका छौं । कांग्रेसले पनि उम्मेदवारी दिएकाले उहाँहरूलाई पत्र लेखेर मत मागेका छैनौं । व्यक्तिगत रूपमा सबैसँग भोट माग्छौं ।

माओवादी र एमालेसहितको गठबन्धन कायमै रहँदा तपाईंको नाम खासै चर्चामा आएको थिएन नि ?

कतिपय कुरा नेताहरूका बीचमा मात्रै सीमित भएको हुन्छ । यस बीचमा हाम्रा पार्टी अध्यक्ष र प्रधानमन्त्री पुष्पकमल दाहालबीचमा व्यापक र बाक्लो छलफल भएको हो । छलफलमा के–के कुरा आयो, अहिले चर्चा गर्न चाहन्नँ । राम्रो छलफल भएको हो ।

अनि माओवादीसँगको सम्बन्ध कसरी बिग्रियो त ?

हाम्रो सम्बन्ध बिग्रिएको छैन । अहिले पनि सम्बन्ध कायमै छ । बाहिर देखेजस्तो तिक्तता छैन । माओवादीसँग पुस १० मा भएको सहमतिको पृष्ठभूमिमा मेरो उम्मेदवारी परेको हो ।

माओवादी तपाईं हरूको कित्ताबाट बाहिरिएपछि एमाले अब सरकारमा रहन्छ कि बाहिरिन्छ ?

पार्टीको बैठकले मलाई उम्मेदवार बनाउने मात्रै निर्णय गरेको छ । सरकारका बारेमा केही निर्णय गरेको छैन । यसबारेमा सोचेको पनि छैन ।

२५ गते निर्वाचनसम्म सरकारमै रहने अनि बाहिरिने भन्ने कुरा आएको छ नि ?

अनुमान गरेजस्तो नहुन सक्छ । हाम्रो सम्बन्ध झन् हार्दिक हुन्छ ।

कित्ता नै परिवर्तन गर्ने गरी एमाले र माओवादीको सम्बन्ध के कारणले बिग्रियो ?

माओवादी अन्त गएको हाम्रो बुझाइ छैन । उहाँसँग हामी सरकारमा छौं । त्यसैले सम्बन्ध बिग्रिएको कसरी भन्न मिल्छ ? हामी एकै ठाउँमा भएकाले २५ गतेको निर्वाचनमा मलाई मतदान गर्नुहुन्छ भन्ने मलाई विश्वास छ ।