जनता टाइम्स

२ भाद्र २०७६, सोमबार १५:४८

विपद्का समयमा महिला प्रजनन स्वास्थ्य उच्च जोखिम


काठमाडौं, भदौ २

विपद्का अवस्थामा महिला, बालबालिका, ज्येष्ठ नागरिकको स्वास्थ्य उच्च जोखिममा पर्ने हुँदा त्यस्तो अवस्थामा सरकारले ती वर्गलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । विसं २०७२ को विनाशकारी भूकम्प, हालैको तराई–मधेशको बाढी–ढुबान तथा पहाडी क्षेत्रमा गएका पहिराले घरबारविहिन भएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्य जोखिममा परेको थियो ।

विपद्का समयमा जोखिममा परेका र पछाडि पारिएका समुदायलाई सम्बोधन गर्न छुट्टै नीति सरकारले अहिलेसम्म बनाएको छैन । एक अध्ययनका अनुसार नेपालमा हरेक वर्ष ती वर्गका दुई लाखभन्दा बढी जनसङ्ख्या उच्च जोखिममा पर्दै आएको छ । विपद्का अवस्थामा महिलालाई प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतन, परिवारनियोजन सेवा, बालबालिकालाई आवास, पोषण तथा ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा बढी आवश्यक हुन्छ ।

नेपाल परिवारनियोजन सङ्घका वरिष्ठ कार्यक्रम अधिकृत शरद अर्यालका अनुसार विसं २०७२ जेठ महीनामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या धेरै थियो । साथै परिवारनियोजनको सेवा लिने सङ्ख्या पनि उल्लेखनीय थियो । उहाँले भन्नुभयो, “विपद्का अवस्थामा प्रजनन स्वास्थ्यका गतिविधिमा कमी हुँदैनन । झन् बढी सेवाको आवश्यकता परिरहेको हुन्छ । विपद् आउँदैमा प्रजनन सेवा नलिने भन्ने कुरा आउँदैन ।”

नेपाल परिवार नियोजन सङ्घ र नेपाल रेडक्रस सोसाइटीद्वारा विश्व मानवता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सहभागीहरूले विपद्का समयमा जोखिममा परेका र पछाडि पारिएका समुदायलाई सम्बोधन गर्न सरकारले नयाँ नीति ल्याउन आवश्यक रहेकामा जोड दिए ।

मानवनिर्मित तथा प्राकृतिक विपद् पूर्वतयारीमा समुदायलाई उत्थानशील बनाउन, विपद्का अवस्थामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि छुट्टै स्वास्थ्य नीति ल्याई सम्बोधन गर्नसमेत उनीहरूको भनाइ थियो । “संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषसँगको सहकार्यमा विपद्का समयमा पनि सङ्घले महिलाको प्रजनन स्वास्थ्य, र परिवारनियोजनका सेवा निरन्तर जारी राख्दै आएको छ”, सङ्घका सञ्चार अधिकृत जमुना सिटौलाले भन्नुभयो ।

सातै प्रदेशमा स्वास्थ्य आपत्कालीन केन्द्र सञ्चालन हुँदै

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख सहसचिव चूडामणि भण्डारीले सातवटै प्रदेशमा स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्र सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । प्रदेश ३ र ५ मा भने उक्त केन्द्र कहाँ राख्ने विषयमा हालसम्म प्रदेश सरकारहरूले निर्णय गरेका छैनन् । केन्द्रले विपद्का समयमा स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयनमा समन्वय गर्ने गर्दछ ।

उहाँले भन्नुभयो, “विपद्का समयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी जोखिममा पर्दछन् । जोखिमा परेका र पछाडि पारिएका समुदायको स्वास्थ्यलाई सम्बोधन गर्ने नीति मन्त्रालयको छ ।” सङ्घका वरिष्ठ कार्यक्रम संयोजक सुवास श्रेष्ठले विपद्का समयमा जोखिममा पर्ने महिलाको प्रजनन स्वास्थ्यमा सङ्घले आफ्नो सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।

नेपाली सेनाका प्रमुख सेनानी सुरेश कायस्थले विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्दै प्रभावकारी बनाउने निर्देशनअनुसार विपद्का समय र पूर्वतयारीमा नेपाली सेनाले काम गर्दै आएको छ भन्नुभयो ।प्रहरी उपरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीले वरिष्ठ प्रहरीको नेतृत्वमा विपद् व्यवस्थापन महाशाखामार्फत विपद् व्यवस्थापनको कार्य गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विपद्का समयमा सबैभन्दा पहिलो उपस्थिति प्रहरीको नै हुन्छ ।” यस वर्षको मानवता दिवसको नारा ‘विपद्का अवस्थामा जोखिममा परेका र पछाडि पारिएका जनसङ्ख्याको सम्बोधन’ भन्ने रहेको छ । संयुक्त राष्ट्रसङ्घको अगुवाइमा सन् २००९ देखि यो दिवस आजकै दिन मनाइँदै आइएको छ ।