जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार १४:१९

भारतसँगको वार्तामा नेपाली पक्षले बुझ्नैपर्ने यथार्थ


कुरा बुझेका हाम्रा कर्मचारीले आफ्नो स्वाभिमान जोगाएर भारतीय समकक्षीसँग बहस गर्ने हो भने हामीले कोशी, गण्डकी र महाकाली (टनकपुर) को पीडा अब कहिल्यै ब्यहोर्नु पर्दैन । कोशी उच्चबाँधको असहमतिले यो स्वाभिमानको दैलो खोलेको छ । यो दैलो कहिल्यै बन्द नहोस् ।

हाम्रा पुर्खा साह्रै बहादुर थिए । त्यसैले नेपाल सधैँ स्वतन्त्र रह्यो । प्रलोभन त तिनलाई पनि दिएका थिए, सात समुद्रपारिका फिरङ्गीहरूले । तर तिनीहरूले लोभ गरेर मातृभूमिलाई धोका दिएनन । अमरसिंह थापाले गङ्गोत्रीमा मन्दिर स्थापना गरेर नेपालको परिचयलाई अहिलेको हिमाञ्चल प्रदेशसम्म पुर्याएका थिए । दामोदर पाण्डेले टिस्टामा रक्ताम्य खाँडो पखालेका थिए । किल्ला काङ्गडाका नेपाली सैनिक र तिनका परिवारले शत्रु पक्षका जर्नेलसँग, ‘हामी आत्मसमर्पण गर्न तयार छौँ भनेका भए कहाँ लेखिन्थ्यो ‘हाम्रा बहादुर शत्रु बलभद्र’ नालापानीमा ! ‘म त बूढो भएँ अब आरामले बस्छु’ भनेर आराम गर्न गएका भए सरदार भक्ति थापालाई इतिहासले यत्तिको सम्मान दिन्थ्यो ! बाँच्नु छ इतिहासमा भने स्वामिभानका साथ बाँच्न सक्नुपर्छ ।

मैले युद्ध गर्नुपर्छ भनेको होइन । मैले साह्रै सानो कुरा गरेको हुँ । हामीलाई अरूको केही चाहिएको होइन– जे छ हाम्रो त्यसमा कसैले आँखा नगाडून । आँखा गाड्नेले बेलैमा कुरो बुझोस– नेपाली त्यस्तो जाति हो जो लोभलालचको आडमा कसैसामु झुकेन । हामी तिनै वीर पुर्खाका सन्तान हौँ, जसलाई पाउण्डले किन्न सकेन ।

गोपाल योञ्जनका प्रत्येक गीतमा जातीय गौरव भेट्छु म । ‘म तृष्णा सहन्छु, तिरस्कार सहन्न, म आगो सहन्छु, अन्याय सहन्न ।’ अथवा यो चुनौती ‘होइन भने नेपाली नभन, वीरको छोरा नातिमा नगन ।’ गोपाल योञ्जन त जानुभयो देशसँग बिदा मागेर । के हामी ती गीतहरूलाई गौरवगाथाका रूपमा गाउन सक्दैनौँ !

पृथ्वीनारायण शाहको पालाको निष्कर्ष थियो । ‘दक्खिनको बादसाह महाचत्तुर छ ।’ बेलायतको उपनिवेश नभए पनि भारत अहिले पनि ठ्याक्कै त्यसैको सन्तान भएर जन्मिएको छ । ७० वर्षको लामो काल गुज्रिसक्दा पनि दिल्लीले बेलायतको मस्तिष्कलाई झिकेर फ्याँक्न सकेको छैन । तर हामी नेपाली पृथ्वीनारायण शाहलाई अहिले पनि विस्तारवादी देख्छौं र लाजै नमानी भन्छौं । हाम्रो आँखामा मोतियाबिन्दु भएको छ । अन्तिम सत्य के हो भने पृथ्वीनारायण शाह नभएको भए नेपाल नामकोे स्वतन्त्र अस्तित्व कतै रहने थिएन । त्यो बेतिया, रामनगर, सहरसा या चमोली हुन सक्थ्यो । यो नेपाल नामको गौरव लिएर उभिइरहन सक्ने थिएन ।

हो, लम्पसारवाद भन्ने एउटा नेपाली शब्द सुनेको थिएँ मैले । अहिलेका नीति निर्माताका लागि भनिएको हो यो भन्ने मलाई लाग्छ । त्यो लम्पसारवादको निर्णय मैले कोशी नदीको बाँध सम्झौतामा देखेँ, गण्डकी र महाकालीको टनकपुरमा पनि देखेँ । जहाँसम्म महाकाली सन्धिको कुरा हो, त्यो यथाहालमा बन्दैन । कोशी र गण्डकको परम्परामा नदी सम्झौतातिर नफर्किएसम्म त्यो कार्यान्वयन हुनै सक्दैन । र, यथाहालतबाट नेपाल दाहिने देब्रे गर्न सक्तैन । हाम्रा पुर्खा महान थिए, बहादुर थिए । हाम्रो पुस्ता न बहादुर बन्न सक्यो न महान । तर म निराश छैन । हामीभन्दा ठिक्क पछिल्लो पुस्ताले संघीयतासहितको नेपाल बचाउने जिम्मेवारी लिएको छ । हामी राष्ट्रघातको अपराधबाट बच्नेछौं ।

पछिल्लो समय कोशी उच्चबाँधबारे भारतीय प्रस्तावलाई, भारतले आफ्नो हित हुने गरी ल्याएको हुनाले नेपाली पक्षले स्वीकार गर्न नसकिने भनेर स्थगित गरेछ । स्वीकार गर्न नसकिने भनेर घुमाउरो भाषा प्रयोग गरे पनि नयाँ अभ्यास आरम्भ भएको छ । यसप्रति खुशी व्यक्त गर्नुपर्छ । किनभने कुनै हिसाबमा पनि कोशी उच्चबाँध नेपालको हितमा छैन र हुन पनि सक्दैन । यसको कारण पनि मलाई थाहा छ । एकजना सचिवले मलाई राम्रो सल्लाह दिनुभएको थियो, ‘सर, सबै कुरामा उताको मात्रै दोष छैन, लक्ष्मणपुर र रसियावाल खुर्दलोटन बाँधमा हाम्रो पक्षको पनि गल्ती छ । ’

प्रदेश नं. १ को चौथाइ जनसंख्यालाई सङ्कटमा फ्यालेर, सयौँ बस्तीलाई विस्थापन गरेर, सबैभन्दा राम्रो उत्पादन हुने लाखौँ टन धानबाली डुबाउने यो (कोशी उच्चबाँध) परियोजनामा कुन नेपालीले हस्ताक्षर गर्न सक्छ ? निर्लज्जहरूसँग एउटा तर्क हुन्छ सधैँ– विस्थापितहरूलाई क्षतिपूर्ति दिने, उनीहरूका लागि तराई मधेशमा अग्ला अग्ला घरहरू (आवास कोलोनी) बनाइदिने । यस्तो तर्क गर्नेलाई म एउटा प्रामाणिक सत्यको जानकारी गराउन कोशी ब्यारेजको बाँधतिर लैजान चाहन्छु । अहिले पनि आफ्नो जग्गामाथि उम्रिएको जलाशय र आफ्नो खेतमा बगिरहेको कोशीको हाँगो हेरेर कुनै न कुनै दिन त क्षतिपूर्ति पाइएला नि भनेर मृत्यु पर्खिएर बसिरहेका छन पीडितहरू । यस्तो स्थितिमा कोशी उच्च बाँधको नाउँमा नेकपाको सरकारको निधारमा कलंकको कालो टीको नलागोस ।

दोस्रोपटक जलस्रोतमन्त्री भएको बेला सुनसरी जिल्लामा निर्माणाधीन एउटा सिँचाइ नहरको प्रगति रिपोर्ट बुझ्न म आफैं त्यहाँ गएको थिएँ । सय मिटर पर थियो नेपाल–भारतबीचको सिमाना । छक्क परेर मैले आयोजना प्रमुख इन्जिनियरसँग सोधेँ– कसका लागि बनाइएको सिँचाइ नहर ? यसले नेपालको कति प्रतिशत जमिन भिजाउँछ ?
‘१५ प्रतिशत नेपाल र ८५ प्रतिशत भारतको जमिन सिँचाइ गर्छ यो नहरले मन्त्रीज्यू ?’
‘अनि यस्तो नकाम गर्नुहुन्छ त ?’
‘यो प्रधानमन्त्रीज्यूको निर्वाचन क्षेत्र हो ।’
‘के यसलाई भत्काउन या अलपत्र पारेर छोड्न मिल्दैन ?’
‘हामी कर्मचारीबाट यस्तो काम हुन सक्दैन, हामी त अह्राएको काम गर्ने मात्र हौँ । ’

यो कुराकानी एउटा उदाहरण हो विवशताको । ती इन्जिनियर विद्यार्थी जीवनमा नेविसंघका रहेछन । तर एउटा इन्जिनियरका रूपमा उनी मेरो मस्तिष्कमा बसिरहेका छन् । किनभने उनले मलाई नेता र कर्मचारीको भेद मात्रै चिनाएनन, आफ्नो विभागीय मन्त्रीलाई सत्यबोध गराउने काम गरे । कुरा बुझेका हाम्रा कर्मचारीले आफ्नो स्वाभिमान जोगाएर भारतीय समकक्षीसँग बहस गर्ने हो भने हामीले कोशी, गण्डकी र महाकाली (टनकपुर) को पीडा अब कहिल्यै ब्यहोर्नु पर्दैन । कोशी उच्चबाँधको असहमतिले यो स्वाभिमानको दैलो खोलेको छ । यो दैलो कहिल्यै बन्द नहोस् ।

राजनीतिका पण्डितलाई गुहारेर भन्दा यस्ता मुद्दामा स्थायी कर्मचारीतन्त्रसँग अनुरोध गर्दा केही काम होला कि भन्ने लागेर मैले द्विपक्षीय वार्तामा बस्नेहरूबाट देश र जनभावना बुझेर हस्ताक्षर गर्ने काम होस् भनेर मैले यो टिप्पणी लेखेको हुँ । भारतीय पक्षसँग वार्तामा बस्ने सबै साथीले बुझ्नुपर्छ– भारत एउटा पराधीन देश र नेपाल सधैँभरि स्वतन्त्र देश हो । बेलायती भारतका वार्ताकार, अहिलेका भारतीय वार्ताकारभन्दा कमजोर थिएनन् । त्यस्तो अवस्थामा जङ्गबहादुरलाई इण्डियाका रजौटासरहको मान दिने भएका थिए । तर नेपाली पक्षले ‘जङ्गबहादुर राणा एउटा स्वतन्त्र देशको प्रधानमन्त्री हुनुहुन्छ’ भन्ने अडान लिएपछि बेलायतले आफ्नो पुरानो निर्णय सच्याएको थियो । के अहिले हामी त्यस्तो अडान लिन सक्दैनौँ ? हामीले अडान लिँदा काम हुँदैन भन्ने दयाको मानसिकतामा हुनुहुन्छ भने त्यसलाई बिर्सिदिनोस । कति आफ्नो मातृभूमिको अहितमा हस्ताक्षर गर्ने ?

कोशी उच्चबाँधको निर्माण नेपालको विनाश हो । खास गरेर प्रदेश नं. १ को । जनताको स्वतःस्फूर्त विरोधका कारण अहिलेसम्म त्यहाँ उच्चबाँधको काम ढिलो भएको छ । अब फेरि अँध्यारोमा प्वाल खोजेर बिरालो भित्र पस्ने कोशिस गरिरहेछ । त्यसलाई छेकेर पहिलो वार्ता टोलीले राम्रो र सराहनीय काम गरेको छ । त्यसलाई त्यसै थन्किन नदिनुहोस् । उसै पनि कोशी उच्चबाँध नेपालको प्राथमिकतामा पर्दैन । कहिलेसम्म हामीले भारतीय स्वार्थमा मातृभूमिको चोक्टो लुछ्ने हो ? एउटा यो सत्यको जानकारी पनि सबैमा होस– नेपालको कुुनै पनि भूमिमा अग्ला बाँध बाँध्नुहुँदैन । नेपाल भूकम्पीय क्षेत्रमा पर्छ ।