जनता टाइम्स

४ चैत्र २०७९, शनिबार १८:५८

सरस्वतीमा अखिलको ‘पंगेनी टिम’ विद्यार्थीको रोजाई, टुरिष्ट हराऊँ, अखिल जिताऊँ अभियान


काठमाडौं, ४ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको संघारमा ठमेलस्थित सरस्वती क्याम्पस लैनचौरमा अनेरास्ववियुका सभापतिका उम्मेद्वार युवराज पंगेनीको टिम विद्यार्थीहरुको रोजाई बन्दै गएको छ । अनेरास्ववियुले पंगेनीको नेतृत्वमा क्याम्पसमा अहोरात्र क्रियाशील उम्मेद्वारहरुको टिम अगाडि सारेपछि ५ चैतमा हुने निर्वाचनमा विद्यार्थीहरुले स्वतस्र्फूत ‘टुरिष्ट हराऊँ, अखिल जिताऊँ’ अभियान संचालन चलाउन शुरु गरेका छन् ।

यो अभियानले सरस्वतीमा अनेरास्ववियुको जितका पक्षमा माहौल सिर्जना हुँदै गएको छ । ‘गुणस्तरीय जीवन उपयोगी शिक्षा हाम्रो अभियान: जिम्मेवार नेतृत्वको लागि चैत्र ५ मा अनेरास्ववियुलाई मतदान’ नाराका साथ अनेरास्ववियु निर्वाचनमा होमिदाँ विद्यार्थीहरुले अखिलको जित सुनिश्चितका लागि स्वतस्फूर्त त्यस्तो अभियान अघि बढाएको विद्यार्थी अगुवा सन्तोष काफ्लेले बताउनुभयो ।

नेरास्ववियुबाट सभापति पंगेनीको नेतृत्वमा सचिवमा प्रकाश गुप्ता र कोषाध्यक्षमा अस्मिता अंगाइले उम्मेद्वारी दिनुभएको छ । त्यस्तै, सदस्यहरुमा राजेश पौडेल, इश्वर शर्मा, दिपेन प्रसाइँ, अनिशा ओस्ती, उज्वल तामाङ, मोतिलाल भुसाल, विवेकराज जोशी र पदम विक्रम थापा उम्मेद्वार बन्नुभएको छ ।

अनेरास्ववियुसँग नेविसंघ, अखिल क्रान्तिकारी, नेकपा एसको दीर्घ अनेरास्ववियू, विप्लव नेतृत्वको अखिल क्रान्तिकारीसहित पाँच संगठनले गठबन्धन गरेर प्रतिस्पर्धा गर्ने प्रयास गरेका छन् । पाँच विद्यार्थी संगठनको गठबन्धनबाट सभापतिमा नेविसंघका मुस्कान राज गौतम, सचिवमा अखिल क्रान्तिकारीका राजेशबाबु बगाले र कोषाध्यक्षमा नेकपा एकीकृत समाजवादी निकट दीर्घ अनेरास्ववीयूका हर्कबहादुर तामाङले उम्मेद्वारी दिनुभएको छ ।

त्यस्तै, सदस्यहरुमा मन्दिप मल्ल, मनिष राज बस्नेत, सुस्मिता अधिकारी, दिपेश श्रेष्ठ, लालबहादुर खत्री, कमल सिंखडा, अस्मिता देवकोटा र बजिरसिंह ढोली उम्मेद्वार बनेका छन् । सरस्वती क्याम्पसमा विद्यार्थी संख्याको आधारमा उपाध्यक्ष, सहसचिव र सदस्यसहित १० जनाको समानुपातिक प्रक्रियाबाट नेतृत्व चयन हुनेछ । प्रत्यक्षतर्फ भने सभापतिसहित ११ जना निर्वाचित हुनेछन् ।

प्रष्ट वक्ता, मिजासिला वौद्धिक व्यक्तित्व– युवराज पंगेनी

अनेरास्ववियुबाट स्ववियु सभापतिका उम्मेद्वार २६ वर्षीया पंगेनी विद्यार्थी हकहितका लागि लामो समयदेखि अहोरात्र क्रियाशील हुनुहुन्छ । उहाँ क्याम्पसमा स्पष्ट वक्ता, मिजासिला, सहयोगी र बौद्धिक व्यक्तित्वका रुपमा चिनिनुहुन्छ । अनेरास्ववियुका प्रारम्भिक कमिटीको अध्यक्षसमेत रहनुभएको पंगेनी ११ वर्षदेखि सोही क्याम्पसमा विभिन्न हिसाबले क्रियाशील हुँदै आउनुभएको छ ।

अनेरास्ववियु रोज्नुअघि अन्य विद्यार्थी संगठनको विचार र कामको पनि तुलानात्मक अध्ययन गरेको बताउने पंगेनी युवा केन्द्रित राजनीति, विद्यार्थीको समस्या समाधानमा अहोरात्र लाग्ने र भद्र विद्यार्थीहरुको समूह अखिल भएको निचोडमा पुगेर संगठनमा आबद्ध भएको बताउँनुहुन्छ । ‘विभिन्न विकृति–विसंगतिविरुद्ध लड्न आवाज बुलन्द गर्ने एकमात्रै विद्यार्थी संगठन पनि अनेरास्ववियु नै रहेछ ।’ पंगेनीले अखिलमा आवद्ध हुनुको कारण खोतल्दै भन्नुभयो ।

त्यसो त, जुन दिनदेखि सरस्वती क्याम्पसमा पंगेनीले अनेरास्ववियुको नेतृत्व तहमा रहेर राजनीति गर्नुभयो, त्यस दिनदेखि विद्यार्थीहरुले भोग्नुपरेको धेरै समस्या न्यूनिकरण भएको क्याम्पसमा चर्चा चल्दै आएको छ । क्याम्पसमा सांस्कृतिक कार्यक्रम, रगत अभावका बेला रक्तदान, स्वागत कार्यक्रम, महामारीका बेला किटनाशक औषधि छर्किनेदेखि तालिम, खेलकुदका विभिन्न कार्यक्रम, नियमित पठनपाठन प्रभावकारी बनाउनेलगायतका काममा पंगेनीले अगुवाई गर्दै आउनुभएको छ ।

यस्ता छन्, अखिलका उम्मेद्वारको प्रतिबद्धता

देशमा २०६५ सालदेखि स्ववियु निर्वाचन हुन नसक्दा विग्रिएको शैक्षिक वाताबरणलाई सुधार गर्दै क्याम्पसलाई शैक्षिक प्राज्ञिक थलोका रुपमा विकास गर्न साझा प्रयास गर्ने अनेरास्ववियुका उम्मेद्वारहरुको प्रतिबद्धता छ । एक हजार विद्यार्थी अध्ययन गर्ने एउटा नीजि क्याम्पसमा धेरै सुविधा हुन्छ तर ६ हजारसम्म विद्यार्थी अध्ययन गर्ने क्याम्पसमा सामान्य सुविधाहरु पनि नहुनु विडम्बनाको विषय भएको सभापतिका उम्मेद्वार पंगेनी बताउँनुहुन्छ ।

स्ववियुमा अनेरास्ववियुको नेतृत्व पुगेपछि न्युनतम सुविधा दिलाई छाड्ने पंगेनीको प्रतिबद्धता छ । त्यस्तै, कोषाध्यक्षकी उम्मेद्वार अस्मिता अंगाईले जितपछि अनेरास्ववियुको टिमले युग सुहाउँदो प्रविधिमैत्री शिक्षामा जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरस्वतीमा विद्यार्थीको सुःख–दुःखको सारथी अनेरास्ववियु

२०४६ को जनआन्दोलन र २०६२/६३ सालको दोस्रो जनअन्दोलनमा नेतृत्वदायी भूमिकामार्फत गणतन्त्र प्राप्तिका लागि महत्वपूर्ण योगदान पुर्याएको सरस्वती क्याम्पसको अनेरास्ववियु विद्यार्थीहरुको सुःख–दुःखको सारथीका रुपमा लोकप्रिय छ । प्राकृतिक विपत्तिमा विद्यार्थीहरुलाई सहयोग गर्ने, क्याम्पसको शैक्षिक समस्या समाधानमा स्थानीय कमिटीले सँधैभरी अगुवाको भूमिका खेल्दै आएको छ ।

सभापतिका उम्मेद्वार पंगेनी भन्छन्, ‘हामी सँधैभरी विद्यार्थीमाझ छौ, अरु विद्यार्थी संगठनका नेताहरु चुनावको वेला बल्ल देखिए, हामीले दुःखसुखमा विद्यार्थीलाई साथ दियौं, कोरोना र डेंगु प्रकोपका बेला पनि विद्यार्थीको समस्या पहिचान गर्दै समाधान गर्यौं, राहत सहयोग गर्यौं ।’ मोर्चा बनाएर प्रतिस्पर्धाको प्रयास गरिरहेका अन्य संगठनहरु चलायमान नदेखिएको, मतदाताको झुकाव कम रहेको, मोर्चाबन्दीभित्र पनि असन्तुष्टि, अतिरिक्त क्रियाकलाप र विद्यार्थीको समस्या समाधानमा उदासिनतालगायतका कमजोरीका कारण जित सुनिश्चित देखिएको अनेरास्ववियुको दाबी छ ।

सरस्वतीमा विद्यार्थीहरुलाई लेखा तालिम दिएर दक्षता बृद्धि गर्ने कामको अगुवाई अनेरास्ववियुले गरेको छ । २०७२ सालको भूकम्पमा पीडित विद्यार्थी तथा तिनका परिवारसम्म पुगेर राहत वितरण, कोरोना महामारीका बेला यातायातका साधनमा विद्यार्थीलाई सहुलितपूर्ण भाडा दिलाउने कामको अगुवाईमा पंगेनी नेतृत्वको अनेरास्ववियु सफल भएको छ।

विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका, प्रशासनिक र शैक्षिक उन्नयनका लागि गरेको पहल, क्याम्पसमा विभिन्न किसिमका संकाय ल्याउनका लागि खेलेको भूमिकालगायत पक्ष नै आफूहरुको जित्ने आधार भएको सचिवका उम्मेद्वार प्रकाश गुप्ता बताउँनुहुन्छ ।

स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुनेछ । स्ववियु निर्वाचन देशभरिका त्रिविमा ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । क्याम्पसमा ३ हजार ४ सय ५३ जना मतदाता छन् । विद्यार्थी संख्याको आधारमा प्रत्यक्ष र समानुपातिक गरी २१ जनाले यस क्याम्पसको स्ववियुमा प्रतिनिधित्व गर्नेछन् ।