राधिका शाक्यलाई पब्लिसिटी खासै मन पर्दैन । पत्रकार भेट्ने र अन्तर्वार्ता दिने, आफ्ना कुरा भन्ने बानी एकदम कम छ । धेरै कर गरेपछि र आफूलाई ठिक लागेको मान्छेसँग मात्र कुरा गर्ने जति पनि मान्छे र जो पनि भेट्ने टाइम टेबल उनको छैन । जसले जस्तो देखेपनि म कुन दुःखले आएँ ? कति कष्ट झेलें ? त्यो कुरा कमैलाई थाहा छ ? मान्छे आजको सफलता हेरेर हिजो पनि सुख नै थियो होला भन्ठान्छन । तर हिजो गरेको असहज यात्राको परिणाम आजको दिन सहज देखिएको हो । दुःखका समुन्द्र तरेर नै आएको हुँ । दुःखसँग डर लाग्दैन ।
सञ्जीव कार्की
राधिकालाई न हिजो दुःखले अत्याएको थियो न आज सुख र वैभवले मत्याएको छ । सदावहार जिन्दगी सामान्य जिन्दगी जिउनु उनको आफ्नोपन हो । विसं २०४४ सालमा एउटा रोगी जिर्ण शरीर भएको राज्यको नजरमा द्रोही रहेको, कुनै पनि बेला मारिन सक्ने कम्युनिष्ट पार्टीको नेता, धनसम्पति विहीन डेरा डण्डाको ठेगान नभएको मान्छेसँग विहे गरिन । तर भन्नेहरूले झापाका जमिन्दार देखेर बिहे गरी भने । बिहेताका अफिसमा पनि यस्तै हल्ला थियो तर झापामा उहाँको के छ ? के छैन ? त्यो मलाई थाहा छ । उहाँ कुन आर्थिक हैसियतमा गुज्रेको मान्छे हो त्यो उहाँका अन्य आफन्तलाई पनि जानकारी छ ।
कम्युनिस्ट पार्टीका थुप्रै नेता कार्यकर्तालाई नि थाहा छ तर साथीभाइले झापाका कुमाई जमिन्दार होलान भनेर गेस गरेर भन्या होलान । तर उहाँ १४ वर्ष जेल बसेर निस्केको आफ्नो जीविकोपार्जन लागि कुनै आय आर्जन नभएको व्यक्ति हुनुहुन्थ्यो । मैले सहारा दिएको हो । मैले सम्पन्न र आफ्नै जात थरको केटा खोजेको भए यहीँ काठमाडौंमा बन्दोबस्त भएकै मान्छे पाउन सक्थें । म आफै जागिरे थिएँ । स्नातकोतर तह अध्ययन सकाएको मान्छे थिए । मैले धन दौलत होइन, मानवता रोजेर ओलीसँग बिहे गरेकी हुँ । नारीले पनि पुरूषलाई संरक्षणको छाता ओढाएर टेको दिन सक्छन् भन्ने उदाहरण दिन पनि विपन्न ओलीसँग सम्पन्न राधिकाले जनवादी बिहे गरेको बुझ्न सकिन्छ ।
नेकपा एमालेको लोकप्रिय नौ महिने शासनकाल २०५१ सालदेखि शक्तिशाली गृहमन्त्री, उपप्रधानमन्त्री र दुई पटक प्रधानमन्त्री भएका ओलीकी पत्नी राधिका शाक्यमा शक्ति अभ्यासको कुनै मोह देखिन्न । हाइ प्रोफाइल भएर पनि लो प्रोफाइल जिन्दगी जिउन रूचाउने राधिकामा मानवताको अजस्र स्रोत रहेको पाइन्छ । अहंकार नामको कुनै छेकछन्द कसैले पाउन सकेको छैन । ओलीलाई जानेजति गालीगलौज गर्ने, आलोचना गर्नेलाई पनि राधिका शाक्यको नाममा कुनै गाली हुँदैन ।
दीनहीनको दुःखमा मलम लगाउदा आफ्नो सुख र आत्मिक खुशी पाउने राधिकालाई मानव सेवामा आफूलाई लिन गराउनुमा जुन आनन्द प्राप्त हुन्छ, त्यति आनन्द अन्यत्र कँही कतै मिल्दैन रे । त्यसैले समाजसेवा, दीनहीनको लागि काम, दुःख पाएका बालवालिका बृद्दबृद्दाको लागि आफूले सकेको गर्न पाउँदा खुशी मिल्छ भन्छिन । बाल संगठनमा रहेका केटाकेटीलाई आफै गएर खाना खुवाउनु, विभिन्न स्कुलका वालवालिकाहरूलाई कापी, कलम किताब र युनिफर्म दिनु, आश्रममा बसेका वच्चावच्चीको लागि सहयोग गर्न निरन्तर क्रियाशील रहँदा आनन्दानूभूति हुन्छ रे राधिकालाई ।
ओलीलाई वरण गर्नु पनि उनको अवस्था र दुःखले मन छोएर हो । प्रथम महिलाको हैसियत र शक्तिशाली नेता पत्नी हुनुको अर्थमा उनले चाहेमा शक्ति र सत्ताको अभ्यास गरेर राजनीति गर्ने जति पनि आधार र स्पेस थियो । अवसर नपाएर इमान्दार बनेका मान्छेको अघिल्तिर अवसर पाउँदा पनि आफ्नो पहुँचको दुरूपयोग नगर्ने महिलाको रूपमा राधिका शाक्यको नाम आजसम्म दर्ज छ । सम्भवत भोलि पनि बेदाग छविमा दागको थोपो छिटो पर्ने छैन ।
नेता पत्नी हुनु र २०३४ साल देखि नै कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेर काम गरेको कारण राधिका पार्टीमा सक्रिय हुने, सांसद बन्ने र मन्त्री हुने अवस्था रहेको कुरा कसैले नकार्न सक्दैन । तर एउटा राजनीतिक परिवारकी मान्छे, देशको राजनीतिको केन्द्रमा रहेका नेकपा एमालेका अध्यक्ष ओली पत्नी राधिका आफ्नै सामाजिक कर्म र पारिवारिक कर्ममा सदा व्यस्त रहन्छिन । राजनीतिमा लाग्ने अवसर भएर पनि मोह नहुनु नेपाली राजनीतिमा देखिने अनौठो दृश्य हो । बिरलै घटना पनि हो ।
शक्ति र सत्ताको वरिपरी रहने नेताको घरको सदस्य भएर पनि त्यतातिर रूची नहुनु अलि फरकपन हो । यही फरकपन र सामान्य सादगी सरल स्वभावको कारण मलाई यी मान्छे भेट्ने उत्सुकता लाग्छ । विगतमा पनि एउटा रिसर्चमा (२०४७ देखि हालसम्मका प्रधानमन्त्री पत्नी) राधिका प्रथम लेडीहरूमध्ये योग्यता, क्षमता र पहुँच भएर पनि सत्ताको दुरूपयोगबाट टाढा बस्ने नारी भनेर उल्लेख गरेको थिएँ ।
एकपटक गलत नगर्ने मान्छे र राजनीतिकर्मी फेरि अर्कोपटक कतै न कतै कहिँ न काँही चुक्ने गरेको पाइन्छ । विशेषत राजनीतिक परिवारको मान्छेमा यस्तो किसिमको समस्या देखा पर्दछ । तर राजनीतिको भट्टीमा सँधै बेदाग रहेको मान्छे राधिका शाक्यमा निर्मलपन र सफा बस्न सक्ने क्षमता छ ।
राजनीतिको फोहोरी छिट्टा पर्यो कि भनेर जति पटक नियालेर जुन–जुन कोणबाट चिहाए पनि राधिकामा त्यस्तो कुनै धब्बा देखिन्न । बरू राजनीति बिग्रेको, राजनीतिले कर्मचारीतन्त्र खत्तम भएको र जनताले पाउने सास्ती बढेकोमा राधिकामा बहुत चिन्ता देखिन्छ । प्रशासनिक झमेला धेरै भएको उनको बुझाई छ । राजनीतिले बाटो बिराएकोमा उनको दुखेसो छ । नेताहरू मिल्न नसकेको र देश बनाउने एजेण्डामा आफ्नो पार्टीको होस या अन्य पार्टीको एक ठाउँमा सदा बस्न नसकेकोमा खिन्नता छ । नेताहरूले मन सानो गरेकोमा चिन्ता छ ।
बालुवाटार कुनै नेताको पनि स्थायी क्याम्प नभएकोले राजनीतिक प्रयोजनमा त्यहाँ जान आउन सकिन्छ तर त्यहाँ छोडेर आफ्नो घर आउँदा पनि बालकोटको बार्दलीमा ओलीलाई पुर्यायौं भन्ने नेता र तिनका कार्यकर्ताप्रति राधिकाको चित्त दुखाई छ । आफ्नो घर आउनु पछारिनु हो र ? घर आएको पनि अपराधी करार भएर जेल गए समान प्रचार गरियो । सत्ता कसैको पनि स्थायी घर नभएको र पार्टी प्रणालीमा कहिले को ? कहिले को ? जाने आउने प्रक्रियालाई सामान्य रूपमा बुझ्दा नै राजनीति शुद्ध हुने उनको बुझाई छ ।
अस्ति भर्खरै प्रचण्ड आफ्नो बार्दलीमा आएर प्रधानमन्त्री बन्ने पक्का गरेर जानु भयो । मेरो बार्दली अब बिम्ब बनेर फैलिएको छ । त्यसमा चै खुशी र गर्व छ भन्दै पङ्क्तिकारलाई बातचितकै बेला बार्दली खोलेर देखाउनु भयो राधिकाले । ‘मेरो बार्दली’ र ‘कठै बालुवाटार’ शीर्षकमा कविता रचना गरेको र समयक्रममा त्यसलाई सार्वजनिक गर्ने प्रतिवद्दता पनि व्यक्त गर्नुभयो ।
अरू धन, सम्पति, मान, पद र प्रतिष्ठालाई मुख्य मान्छन, तर राधिकालाई ओली र आफ्नो नाममा आएका थुप्रै मेडल, उपहार सोभनियर विशेष र सच्चा धन लाग्छ रे । आफ्नो बैठक कोठाभन्दा भित्र जम्मा भएका र सजाएर राखेका अनेक उपहार देखाउंदै राधिकाले यी समान र यिनको महत्वमा गर्व गरिन । शाक्यका घरका हरेक बैठक कोठा, प्यासेज र खाली ठाउँ कुनै संग्राहलयको भित्तो जस्तो प्रतीत हुन्छ । मानौ एउटा संग्रालय हो त्यो घर ।
मैले आजसम्म भ्रमण गरेका नेताको घर भन्दा भिन्न थियो केपी ओलीको निवास, जहाँ एउटा सानो संग्रहालय बनाएर राधिकाले घर सजाएकी छन । आज यो घर निजी रूपमा रहे पनि ओली दम्पत्तिको सेखापछि यो घर राज्यको हुनेछ । आफनो सबै सम्पति राज्यलाई सुम्पेको कुरा ओलीले संसद्को फोरमबाट नै घोषणा गरेका छन । शाक्य पनि आफ्नो कमाइले निर्माण गरेको यो घर सम्पति राज्यलाई दिन पाएकोमा गर्व गर्छिन । ‘आफ्नो सबै सम्पति ट्रस्ट बनाएर राज्यलाई सुम्पेको कारण धनदौलतको मोह किन पाल्नु र ? ओलीमथिका सबै आरोप आफ्नो सबै सम्पति राज्यको नाममा दिएपछि खण्डन भएन र ?’ राधिकाको बुझाइ छ ।
पतिपत्नी नै सांसद, नेता र मन्त्री बन्ने राजनीतिमा अपवाद राधिका (मदन भण्डारी–बिद्या भण्डारी, रविन्द्र अधिकारी–बिद्या भट्टराई), (बामदेव गौतम–तुलाशा थापा मगर, (अमृत बोहोरा–अष्टलक्ष्मी शाक्य मन्त्री समेत पालैपालो), ईश्वर पोख्रेल–मिरा धोजु, शङ्कर पोख्रेल–सुजिता शाक्य, (शेरबहादुर तामाङ–उषाकला राई, मन्त्री समेत पालैपालो), (रघुवीर महासेठ–जुली महतो मन्त्री समेत पालैपालो) भीम आचार्य–मीरादेवी आचार्य, (सीपी मैनाली–सीता खडका, मन्त्री समेत पालैपालो), (बाबुराम भट्टराई–हिसिला यमी, मन्त्री समेत एकै पटक), वर्षमान पुन–ओनसरी घर्ती, अशोककुमार राई–सुशिला श्रेष्ठ, शक्ति बस्नेत–सत्या पहाडी, देव गुरुङ–यशोदा सुवेदी, (कृष्णध्वज खड्का–रेखा शर्मा मन्त्री समेत पालैपालो),कृष्णगोपाल श्रेष्ठ–बिना श्रेष्ठ, विरोध खतिवडा–मुनु सिग्देल, देवेन्द्र पौडेल–वलावती शर्मा, हितमान शाक्य–अमृता शाक्य, लिलामणि पोखरेल–शशी श्रेष्ठ, रामकुमार भट्टराई–कल्याणी खडका, राजकुमार श्रेष्ठ–देवी खडका, सरल सहयात्री– समिता कार्की, महेश्वर गहतराज– उषा पुन, शेरबहादुर देउवा–आरजु राणा, बालकृष्ण खाँड–मन्जु खाँड, हरिबहादुर खडका–चम्पा खडका, अनिल कुमार झा–डिम्पल झा, रेशम चौधरी–रन्जिता चौधरी आदि २०४६ को परिवर्तन पश्चात आजसम्म मन्त्री सांसद सभामुख लगायत बनेर जोडी संसद बन्ने कृतिमान कायम गरेका छन ।
(यहाँ उधृत भएका नाम र जोडी सबै अयोग्य बदनाम र नातावादको कारण मात्र आएका हुन भन्ने मेरो भनाइ होइन )
माथि उल्लिखित सबै दम्पति राजनीतिक योग्यता, त्याग र बलिदानको कारण पनि आएका छन भने कतिपय नेताको पत्नी हुनुको नाताले परेका छन । यो भिडमा ओलीपत्नी राधिका पर्न नचाहनु उनको आफू भएर बाँच्ने अस्तित्वको लडाई हो । यद्यपि नेताको पति र पत्नी भएकै कारण कोही योग्य र कोही अयोग्य हुन सक्दैन । राधिका ओलीपत्नी भएर होइन, राधिका शाक्य भएर बाँच्ने र चिनिने अभिलाषा पाल्छिन । आफ्नो स्वत्व र कर्ममा गहिरो विश्वास छ राधिका शाक्यलाई । राधिका शाक्यलाई अपवाद बन्न मन लाग्नु नै उनको राजनीतिप्रतिको असल बुझाइ र सम्मान हो । जो जहाँ छ जसको जे कर्तव्य हो ? त्यही गर्नु कर्तव्य हो ।
सबैजना राजनीतिमै जानु र त्यहीं मात्र आकर्षण देख्नु दुःखको कुरा हो । राजनीति सबैलाई गर्ने छुट भए पनि आफ्नो पहिलो कर्तव्य भुलेर गरिने राजनीति नभएर त्यो झुट नीति हो । राजनीतिको नाममा गरिने अराजनीति हो, स्वार्थको व्यापार हो । राजनीति स्वार्थको सौदाबाजी होइन, जो पनि राजनीतिमा पसेर राजनीति लयविहीन भएको राधिकाको निस्कर्ष रहेछ ।
भ्रमपूर्ण प्रतिष्ठाको लोभ गरेको भए पद र सत्ताको ढोका राधिकालाई सहजै खुल्थ्यो । यहाँ उल्लेखित कति नाम गुमनाम पनि छन् तर मन्त्री, सांसद सभामुख लगायत कुनै पनि राजकीय पद बिना आफ्नो छुट्टै अस्तित्व नाम र छाप राधिका शाक्यले छोडको देखिन्छ । राजनीतिको शक्तिशाली केन्द्रमा बसेर पनि सत्ता भोगको मोह नहुनु विशेष योग्यता हो । राजनीति बाहिरका क्षेत्रमा प्रसस्तै नाम र इज्जत भएका मान्छेहरू राजनीतिमा पसेबाट फोहोरी देखिएका छन् । राजनीति बाहिर बसेर आर्जित इज्जतलाई धुलो बनाएका छन । राजनीति आफ्ना नातागोता परिवार,आफन्त कुटुम्ब आदिको मारमा छ ।
पद र प्रतिष्ठा आफ्नै दाजुभाइ दिदी बहिनी, मामा माइजू, सालो जेठान, भतिजभतिजी सम्धी सम्धिनी, प्रेमिका समेतमा बाँड्ने र समानुपातिक समावेशी कोटाको दुरूपयोग गर्ने चलनले ‘जसको लागि गोठ बनायो उसकै पुच्छर बाहिर’ भन्ने उक्ति चरितार्थ भएको छ । दक्षिण एशियाली देशहरू भारतमा गान्धी परिवार, श्रीलंकामा राजपाक्षे, पाकिस्थानमा भुट्टो र नेपालमा कोइरालाहरूको राजनीतिमा परिवारवाद हावी भएको देखिन्छ । नेपालका हर राजनीतिक पार्टी र तिनका ठुला नेताहरूको परिवारवाद हुँदा पनि ओलीलाई परिवारवादको आरोप छैन । झन राधिका शाक्यलाई यो आरोप केवल फतुर मात्रै भएको देखिन्छ ।
आम मान्छेले आफ्नो क्षेत्र सीमा र योग्यता पहिचान गर्न नसकेर राजनीतिमा पस्दा इज्जत गुमाएका र गुमनाम भएका छन । यसर्थ आफ्नो क्षेत्र आफैले रोजेर त्यहीँबाट निरन्तर देश सेवामा लागिपरे राजनीति यति धमिलो पनि हुँदैनथ्यो होला । सबैको बेढंगको आकर्षणले पनि राजनीति यति लथालिङ्ग भएको पो हो कि ? राधिका राजनीतिले बाटो बिगार्नुमा अनावश्यक मान्छे र राजनीतिभन्दा बाहिरका मान्छेको प्रवेशले भएको हो भन्ने मान्छिन् । जो जहाँ र जुन पेशा व्यवसाय, सेवा र धर्ममा छन् त्यहीँ बसेर आफ्नो कर्तव्य निर्वाह गरे राजनीति जत्तिकै त्यो क्षेत्र आकर्षक हुन्छ । देश सेवा जहाँ बसेर पनि गर्न सकिन्छ । देश बनाउन सबै राजनीतिमा नै आउनुपर्छ भन्ने छैन ।
राधिकालाई फेरि बालुवाटार जाने विशेष आकर्षण छैन तर परिस्थिति अनुकूल बने नजाने भन्ने हुँदैन । तथापि बालुवाटारसँग अतिरिक्त लोभ छैन । आफू बस्दा त्यहाँ रोपिएको र हुर्काइएको विरूवाले उचित स्याहारसुसार र संरक्षण नपाएको सुनेर दुःख लागेको बताउँछिन । आफू बस्दा बालुवाटार जीवन्त भएको र वातारणीय दृष्टिले पनि गजब बनेको राधिकाको अनुभव छ । बालुवाटारभित्रको परिवेशलाई विशेष बनाएर राधिकाले फूलबारी प्रकृति र बोट विरूवा आदिमा आफ्नो लगाव देखाएकी छन ।
आकर्षक बुद्धको मूर्ति स्थापना गरेर अखण्ड दियो बाल्ने गरेकी थिइन् । घर र वातावरणलाई भव्य, सजाएर, आकर्षक बनाएर राख्नु राधिकाको सौख रहेछ । राधिका शाक्यले आफ्नो घरलाई एउटा संग्रह जस्तै बनाएर राखेकोमा त्यहाँ जाने हरेकलाई ध्यान खिच्न बाध्य बनाउँछ र उनको यो जाँगरको तारिफ नगर्ने कमै मान्छे रहेका छन । अलि अस्तिनै डाक्टर आरजु राणा आएर खुव प्रसंशा गर्नुभयो राधिका सुनाउँछिन । कौसीमा अनेक किसिमका तरकारी लगाएकी छन् तिनको गोडमेलमा बस्दा मजा लाग्छ ।
एमालेको नवौ अधिवेशनमा आर्यघाटमा जाने मान्छेलाई अध्यक्ष भन्ने जस्तो अत्यन्त तुच्छ र छुद्र टिप्पणी आफ्नै पार्टीका नेता कमरेडले समेत गरेर अमानवीयता प्रदर्शन गरेकोमा नमिठो लागेको छ राधिकालाई । आफ्ना सहकर्मी र पार्टी नेताको षडयन्त्रका कारण ओलीलाई असफल बनाइएको बुझाई राधिकाको छ । एकपटक सुनेको, देखेको र पढेको कुरा स्मरण गर्न सक्ने ओलीको अद्भूत क्षमता देख्दा ताजुब लाग्छ राधिकालाई ।
एउटा मान्छेको रूपमा राधिकाको पनि आवेग, आग्रह र मानवीय स्वभाव छन् । कमजोरी होलान, कसको पो हुँदैन र ? कमजोरी भगवानको समेत छ र मान्छे भगवानसँग पनि गुनासो गर्छ ।
एउटा तीतो यथार्थ हो कहीं कतै शाक्य थरको नामले एमाले वृतमा कुनै राजनीतिक अवसर पायो भने ओलीको ससुराली भएको प्रचार बेतोड्सँग गरिन्छ । मिथ्या प्रचारसँग भने राधिका शाक्यलाई घृणा छ । गलत भएको कुरालाई गलत लेख्नु अन्यथा होइन तर हुँदै नभएको कुरालाई हो भनेर लेख्नु अपराध हो, राधिका केही आक्रोश पोख्छिन ।
अस्पतालका कष्टका दिनहरू
त्रिवि शिक्षण अस्पताल, ब्ल्युबर्ड क्लिनिक, नर्भिक अस्पतालमा ६० दिन । बिदेशका एपोलो अस्पताल, मेदान्त अस्पताल, म्याक्स अस्पताल, न्युयोर्क लेनोक्स हिल हस्पिटल, थाइल्याण्डको बैंककमा रहेको सिमिति भेज अस्पताल र बुमुरुगार्ड अस्पताल, सिङ्गापुरको नेशनल युनिभर्सिटी अस्पतालमा १५० दिन, पटक पटक ओलीलाई माया मार्दै बसेका अन्जान ठाउँका यादहरू छन राधिकासँग ।
पीडा, वेदना र सम्भावित मृत्युको भयले डामेका कहाली लाग्दा क्षणहरू छन । अल्सर,टीबी, पायल्स जस्ता अनेक रोग दुई पटक मृगौला प्रत्यारोपण (२०६४ मा दिल्लीको एपोलोमा र दोस्रो पटक २०७६ मा त्रिवि शिक्षण अस्पताल) गरेर बाँचेका ओलीलाई आफ्नो तवरबाट सकेको सहयोग गरेर राजनीतिमा सक्रिय बनाउन जति सकिन्छ, त्यति गर्नु नै आफ्नो राजनीति भएको कुरा राधिका स्वीकार गर्नुहुन्छ ।
प्रत्यक्ष राजनीतिमा संलग्न छैनन् तर राजनीतिलाई मिहिन ढङ्गले हेरेकी छन् । राजनीतिमा प्रत्यक्ष संलग्न नहुनु भनेको राजनीति नबुझ्नु र नजान्नु होइन । राधिका शाक्यको कुरा सुन्दा उनले राजनीति नगरेको मात्रै हो, नबुझेको भन्न सकिन्न । केपी ओलीसँग बिहे गर्दा दुःखको बरू कल्पना थियो तर उहाँ सांसद, मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री समेत पटक पटक हुनुहुन्छ भन्ने कुनै कल्पनाको साइनो सपना थिएन । सौभाग्य अनेक रोगले गाँजेर उहाँ बाँच्नु भयो । ओलीले नै भन्नुभएको छ मलाई मृत्युले पटक पटक छोएर गएको छ । झापा जिल्लाबाट २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ आजसम्म ६ पटक निर्वाचित सांसद हुनुभएको छ । २०६४ मा भने उहाँ नेकपा माओवादीले जनतालाई भोट नै हाल्न नदिएको कारण पराजित हुनुभएको थियो ।
जताततै बलात्कार, महिला हिंसा, अपमान र ज्यादती छोरी मान्छेमाथि सुनेर देखेर शाक्य रोष प्रकट गर्छिन । ‘शारीरिक र मानसिक हिंसा विरुद्ध उभिन नसक्ने समाज जङ्गली र बर्बर हो । छाउपडी, दलित, बोक्सी र घरेलु हिँसादेखि राजनीतिमा समेत महिला हिँसा भएको छ । महिलाको स्वाभाविक प्रक्रिया र पदोन्नतिलाई अवरुद्ध गरीदिनु पनि राजनीतिक हिँसा र अपराध हो । यस्ता कुरामा राजनीतिकर्मी र पढेलेखेका मान्छे विशेष सचेत हुनुपर्छ । आधा जमिनका साझेदार महिलालाई पीडा दिने समाज सभ्य र उन्नतिशील बन्न सक्दैन । नारीलाई हेर्ने दृष्टिकोण फराकिलो बनाएर जानुपर्ने राधिकाको सुझाव छ ।
राधिका शाक्यलाई पब्लिसिटी खासै मन पर्दैन । पत्रकार भेट्ने र अन्तर्वार्ता दिने, आफ्ना कुरा भन्ने बानी एकदम कम छ । धेरै कर गरेपछि र आफूलाई ठिक लागेको मान्छेसँग मात्र कुरा गर्ने जति पनि मान्छे र जो पनि भेट्ने टाइम टेबल उनको छैन । जसले जस्तो देखेपनि म कुन दुःखले आएँ ? कति कष्ट झेलें ? त्यो कुरा कमैलाई थाहा छ । मान्छे आजको सफलता हेरेर हिजो पनि सुख नै थियो होला भन्ठान्छन । तर हिजो गरेको असहज यात्राको परिणाम आजको दिन सहज देखिएको हो । दुःखका समुन्द्र तरेर नै आएको हुँ । दुःखसँग डर लाग्दैन । सुखको सगरमाथा चढ्नु अघि दुःखको महासागर प्राय: सबै हेलिएकै हुन्छन ।
(अनुसन्धाताः एम.फिल– पिएच.डी. त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौं)
प्रतिक्रिया दिनुहोस्