सेभिया (स्पेन), असार १७ । प्रधानमन्त्री तथा नेपाली प्रतिनिधिमण्डलका प्रमुख केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय विकास सहकार्यलाई ‘दान वा अनुदान’को रुपमा नभई ‘साझा समृद्धि हासिल गर्ने नैतिक कर्तव्य र रणनीतिक आवश्यकताको रुपमा’ बुझिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
मंगलबार स्पेनको सेभिया शहरमा आयोजना भएको चौथो विकासको लागि वित्त (FfD4) सम्मेलनअन्तर्गतको तेस्रो विषयगत गोलमेचलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुपक्षीय संकटहरूको सन्दर्भमा विकासशील राष्ट्रहरू थप जोखिममा परिरहेको उल्लेख गर्नुभयो। ‘जलवायु परिवर्तन, महामारी, खाद्य असुरक्षा र द्वन्द्वका कारण अल्पविकसित तथा मध्यम आय भएका राष्ट्रहरूलाई असह्य संकटको सामना गर्नुपरेको छ,’ उहाँले भन्नुभयो, ‘ऋणको बोझ, मुद्रास्फीति, र स्वास्थ्य-शिक्षा प्रणालीको कमजोर अवस्थाले तिनीहरूको स्थितिलाई झनै जटिल बनाएको छ।’
प्रधानमन्त्री ओलीले नेपालको उदाहरण दिँदै पछिल्लो समय विकास सहायता क्रमशः घट्दो क्रममा रहेको र अनुदानको अंश झनै सुकाउँदै गएको बताउनुभयाे। उहाँले अझ चिन्ताजनक कुरा केही दातृ राष्ट्रहरू आफ्ना आन्तरिक खर्च (जस्तै शरणार्थी सहायता) मा विकास सहायता पुनः प्रयोग गर्न थालेको उल्लेख गर्दै त्यसप्रकारको प्रवृत्तिले वास्तविक विकासको मूल मर्मलाई विस्थापित गरिरहेको टिप्पणी गर्नुभयो। ‘विकास सहायता अहिलेको जस्तो विश्व परिप्रेक्ष्यमा अनिवार्य, अनुमानयोग्य र देशको आवश्यकतासँग मेल खाने हुनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘केवल प्रभावकारी भएर पुग्दैन, पर्याप्त पनि हुनुपर्छ।’
उहाँले दातृ राष्ट्रहरूलाई घोषणामा मात्र होइन, व्यवहारमै आफ्नो प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभयो। विकास सहायता अनुदान वा अत्यन्त सहुलियतपूर्ण ऋणको रूपमा उपलब्ध गरिनुपर्ने, त्यो सहायता राष्ट्रिय रणनीति तथा प्रणालीमार्फत प्रवाह हुनुपर्ने र सेवा प्रवाह तथा सहनशीलता निर्माणमा केन्द्रित हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो।
जलवायु वित्तको सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले सबैभन्दा प्रभावित राष्ट्रहरूलाई लक्षित गरेर नयाँ र थप स्रोतहरू प्रदान गर्न आह्वान गर्नुभयो। ‘अन्तर्राष्ट्रिय सहकार्यको उद्देश्य आश्रित बनाउनु होइन, आत्मनिर्भरता र गरिमा निर्माण गर्नु हो,’ उहाँले भन्नुभयो, ‘स्थानीय नेतृत्व, पारदर्शिता र विश्वासको आधारमा नयाँ धारको सहकार्य आवश्यक छ।’
‘सेभियाको यो सम्मेलन नयाँ सुरुवात बनोस्, जहाँ हामी संकल्पलाई कार्यमा, दृष्टिलाई प्रभावमा रूपान्तरण गर्न सकौं’, प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो।
प्रतिक्रिया दिनुहोस्