काठमाडौं, १७ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको दोस्रो विधान महाधिवेशनको तयारीलाई संगठित, शुद्धिकृत र एकताबद्ध रूपमा अगाडि बढाउन प्रदेश र जिल्ला कमिटीहरूलाई स्पष्ट निर्देशन दिनुभएको छ।
उहाँले असार मसान्तभित्र सबै प्रदेश तथा जिल्ला कमिटीहरूले संगठनात्मक प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउनुपर्ने भन्दै त्यसअनुसार गृहकार्यमा लाग्न आग्रह गर्नुभएको हो। मंगलबार एमाले केन्द्रीय कार्यालयबाट कोशी र मधेस प्रदेश अन्तर्गतका इन्चार्ज, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्षहरू तथा पदाधिकारीहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले नेतृत्वको पक्ष–विपक्षमा ध्रुवीकरण सिर्जना गर्नु भन्दा संगठन सुदृढीकरण, नीति र विधि निर्माणमा केन्द्रित हुन आवश्यक रहेको प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘विधान महाधिवेशन पार्टीको नीति र विधि निर्माणका लागि हो, नेतृत्व चयनका लागि होइन, त्यसैले राष्ट्रिय महाधिवेशन नभएको अवस्थामा नेतृत्वबारे सञ्चारमाध्यम वा आन्तरिक बहसमार्फत धार निर्माण गर्नु अनुचित हुन्छ।’
महासचिव पोखरेलले प्रदेश र जिल्ला कमिटीहरूलाई पार्टीको वर्तमान संरचना, कार्यशैली, गतिविधि, कमजोर पक्ष, अवसर र चुनौतीको समग्र चित्र पेश गर्ने गरी संगठनात्मक प्रतिवेदन तयार गर्न निर्देशन दिनुभयो। साथै उहाँले असार मसान्तसम्म पार्टी सदस्यताको प्रमाणीकरण प्रक्रिया टुङ्ग्याएर केन्द्रीय संगठन विभागमा विवरण पठाउन आग्रह गर्नुभयो। सदस्यता प्रमाणीकरणमा ढिलाइ हुने हो भने महाधिवेशनको प्रतिनिधित्व र निर्णय प्रक्रियामा असर पर्ने भन्दै उनले समयमै प्रक्रिया पूरा गर्न निर्देशन दिनुभयो।
महासचिव पोखरेलले पार्टी प्रवेश गरी संगठनमा सक्रिय भइनसकेका सदस्यहरू, जनसंगठनहरूका अधिवेशनपछि बाहिरिएका कार्यकर्ताहरू र भूगोल अनुसार निष्क्रिय कार्यकर्ताहरूलाई पुनः परिचालन गर्ने कार्यलाई तत्काल प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले यो कार्यमार्फत संगठनलाई अझ व्यापक, जनसंलग्न र चुनावी तयारीमैत्री बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो।
अहिले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेको अवस्थामा कतिपय सञ्चारमाध्यम तथा पार्टीभित्रैबाट नेतृत्व प्रतिस्पर्धाका विषयमा धार निर्माण गर्ने प्रयास भइरहेकाप्रति महासचिव पोखरेलले असन्तुष्टि व्यक्त गर्नुभयो। पार्टीलाई कमजोर बनाउने ढंगले सुरु भएका टिका टिप्पणीप्रति कार्यकर्ता सचेत हुनुपर्ने भन्दै उहाँले अहिले नेतृत्वको बहस होइन, नीति र विधिमा योगदान गर्ने समय भएको उल्लेख गर्नुभयो।
नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा आयोजना हुने निर्णय भइसकेको छ। महाधिवेशनका लागि पार्टी केन्द्रीय सचिवालयले तीन प्रमुख प्रतिवेदन तयारीको जिम्मेवारी निर्धारण गरिसकेको छ। राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेल, र संगठनात्मक प्रतिवेदन महासचिव शंकर पोखरेलले तयार गर्नुहुने छ । यी प्रतिवेदनहरूमार्फत एमालेले आफ्नो भावी कार्यदिशा, संगठन संरचना, आन्तरिक कार्यपद्धति र वैचारिक अनुशासनलाई परिमार्जन र स्पष्ट पार्ने लक्ष्य लिएको छ।
भर्चुअल बैठकमा कोशी र मधेस प्रदेशका इन्चार्ज, अध्यक्षहरू र जिल्लाका पदाधिकारीहरूले आ–आफ्ना संगठनगत गतिविधिको संक्षिप्त रिपोर्ट प्रस्तुत गरेका थिए। सहभागीहरूले पार्टी सदस्यता नवीकरण पूरा भइसकेको, टोल तथा वडा कमिटी गठन, पालिका अधिवेशन र जनसंगठनको सक्रियता सम्बन्धी विवरण राखेका थिए। कोही सहभागीहरूले संगठनभित्र पुराना कार्यकर्ता र नयाँ प्रवेशकर्ताबिच समन्वयको चुनौती रहेको जनाए भने केहीले सांगठनिक विस्तारका लागि रणनीतिक रूपमा अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।
‘मिशन–२०८४’ अन्तर्गत २०८४ सालमा आमनिर्वाचन जित्ने लक्ष्य लिएको एमालेका लागि यो विधान महाधिवेशन वैचारिक र सांगठनिक संहितालाई पुनः सुदृढ बनाउने अवसरका रूपमा लिइएको छ। पार्टीभित्र सम्भावित गुटगत ध्रुवीकरणलाई नियन्त्रणमा राख्दै विधान महाधिवेशनलाई सफल बनाउन महासचिव पोखरेलले कार्यकर्तालाई गम्भीर र अनुशासित बन्न आह्वान गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्