जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार ०७:१५

गणतन्त्र शासन प्रणाली मात्र नभएर सभ्यता पनि हो : अध्यक्ष ओली


काठमाडौं , १५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्र नभएर सभ्यता समेत भएको बताउनुभएको छ ।

गणतन्त्रमा नै अवसरमा समानता र न्यायमा सर्वसाधरणलाई पहुँच दिने प्रणाली अध्यक्ष ओलीको भनाइ छ ।

गणतन्त्र दिवशको अवसरमा आज शुभकामना सन्देश प्रकाशित गर्दै अध्यक्ष ओलीले गणतन्त्रमा आम जनताले राज्य सञ्चालक माथी प्रश्न उठाउने संवैधानिक अधिकार पाएको उल्लेख गर्नुभएको छ ।

‘आफ्ना मत र मान्यताहरुलाई राख्ने र राज्य सञ्चालकहरुमाथि प्रश्न उठाउन पाउने संवैधािनक अधिकार जनतालाई छ । अहिलेको आवश्यकता गणतन्त्र स्थापनापछिका त्रुटिहरुको प्रचार गर्ने होइन ’ त्रुटि भएका छन् ’ ‘।। ‘तिनलाई सच्याउनु पर्छ । त्रुटि गर्नेले महसुस गर्ने र सच्चिने काम गर्नु पर्छ । तर, नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो र अघिल्लो पुस्ताले भोगेको बंशीय एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित हुनु हुन्न । ’

गणतन्त्र दिवसको शुभकामना

आज हामी १५ औं गणतन्त्र दिवस मनाइरहेका छौं । यो नेपाली जनताको बलिदान र सङ्घर्षको सफलताको दिवस हो । नेपाली जनताको उल्लासपूर्ण पर्वको दिन हो ।

गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । जन्मसिद्ध श्रेष्ठताको सामन्ती प्रणालीमा आधारित र जबरजस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको लागि आफ्नो जीवन उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

गणतन्त्रको सपना देख्नुहुने र हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्दछु । गणतन्त्र प्राप्तिको यस लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायलाई हार्दिक अभिनन्दन गर्दछु ।

गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो । जनता वास्तविक अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन हो । हामीले गणतान्त्रिक प्रणालीका लागि जीवन जोखिममा राखेर संघर्ष गरेको राज्य सञ्चालनमा रहेको बंशीय एकाधिकार तोडेर जनता स्वयं आफ्नो मालिक बन्ने प्रणाली स्थापनाका लागि हो । सबैलाई अवसरमा समानता, न्यायमा पहुँच र जीवनमा सुखको प्रत्याभूति गर्नका लागि हो ।

मानव सभ्यताको विकास क्रममा राज्यहरूको उत्पत्ति गणराज्यहरूबाट भएको थियो । लोकले छानेका प्रतिनिधिहरूबाट गणराज्यहरूको व्यवस्थापन हुने र हरेक महत्वपूर्ण निर्णयहरू जनताको अभिमतबाट हुने परम्परागत व्यवस्थाबाट नेपाली सभ्यताको आरम्भ भएको थियो । इतिहासमा नेपाल गणराज्य नै थियो, जहाँ जनताले शासक चुन्ने गरेका थिए । लिगलिगकोटमा दौड जितेर राजा हुने विधिलाई हामी यसै रुपमा बुझ्न सक्दछौं । भौतिक बलले राज्यको निर्माण र सुरक्षा गर्ने त्यस समयमा राजा चुन्ने विधिहरु पनि तात्कालीन समय अनुरुपका नै थिए । तर, सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताको आधारमा शासकहरू स्थापित हुने, वंश परम्पराले निरन्तरता र नेतृत्व पाउने तथा ‘हुकुम’बाट राज्य सञ्चालन गर्ने व्यवस्था शुरु भयो । यसै व्यवस्था अन्तर्गत नेपालमा शाह बंशमा आधारित शासन सत्ता अढाइसय वर्षसम्म चल्यो । त्यस अवधिभित्र पनि राणा बंशले १०४ वर्ष प्रत्यक्ष शासन ग¥यो । यस्तो बंशीय र हुकुमी शासनलाई प्रत्यक्ष नभोगेको आजको पुस्ताले सामन्ती राजतन्त्रभित्र हुने कपटपूर्ण खेल, हत्याकाण्डहरुबाट गद्दि हत्याउने, राज्य टुक्र्याएर भाइभाइबीच अंशवण्डा गर्ने र जनताका अधिकार खोसेर शासन थोपर्ने परिघटनाहरुलाई इतिहासमा मात्र अध्ययन गर्न पाएको छ । त्यस निरंकुश तन्त्रलाई हामीले २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट अन्त्य ग¥यौं र एक बंशीय एकाधिकारको प्रणाली तोडेर जनताको शासन स्थापित ग¥यौं ।

अहिले हामी स्वतन्त्रताको निर्वाध उपभोग गर्न पाउने खुला समाजमा छौं । आफ्ना मत र मान्यताहरुलाई राख्ने र राज्य सञ्चालकहरुमाथि प्रश्न उठाउन पाउने संवैधािनक अधिकार जनतालाई छ । अहिलेको आवश्यकता गणतन्त्र स्थापनापछिका त्रुटिहरुको प्रचार गर्ने होइन । त्रुटि भएका छन्, तिनलाई सच्याउनु पर्छ । त्रुटि गर्नेले महसुस गर्ने र सच्चिने काम गर्नु पर्छ । तर, नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो र अघिल्लो पुस्ताले भोगेको बंशीय एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित हुनु हुन्न । यसले गणतान्त्रिक शासन व्यवस्था र जनतालाई कमजोर बनाउँछ । गणतन्त्रात्मक प्रणाली सञ्चालन गर्ने क्रममा भएका त्रुटिको अर्थ हिजोको निरंकुश कालमा जनतामाथि भएका क्रूर दमन, जनताका अधिकारहरुमाथिका बन्देज र हुकुम नै कानुन हुने परिपाटी सही थियो भन्ने होइन । त्यो बर्बरता बिर्सिइएको हुन सक्ला, सही सावित भएको किमार्थ होइन ।
अहिले लोकतान्त्रिक आन्दोलनको ऐतिहासिकता नबुझेका वा निरंकुशतन्त्र मार्फत राज्यस्रोतमाथिको हालीमुहाली गुमेकाहरुबाट ‘लोकतान्त्रिक व्यवस्थामा वेथिति हुन्छ, गणतन्त्रको कारण अख्तियारको दुरुपयोग भयो, भ्रष्टाचार बढ्यो’ भन्नेजस्ता मिथ्या प्रचार सुरु गरिएका छन् । २००७ सालमा राणा शाहीको अन्त्य गरेदेखि नै गणतन्त्रको सपना देख्ने हामी नेपालीहरुले यसको तथ्यसंगत खण्डन गर्नु पर्दछ । शासनाधिकार एउटा बंशमा हुन्थ्यो, उसको बोली कानुन हुन्थ्यो, राज्यस्रोतमा उसले चाहेजसरी मनमौजी गथ्र्यो, गणतन्त्रमा जस्तो त्यसबारे प्रश्न उठाउने अधिकार जनतालाई हुँदैनथ्यो । जनताका मुख बन्द गरेर देखाइने सुशासन सुशासन थिएन, हुकुमी बन्देजले खडा गरेको मूर्दाशान्ति थियो । तसर्थ हाम्रा बाआमा, दाजुभाइ, दिदीबहिनीहरुले शहादत गरेर, अङ्गभङ्ग हुनेगरी घाइते भएर र रगत बगाएर ल्याएको यस प्रणालीको दृढतापूर्वक पक्षपोषण गर्नु पर्छ । मुलुकको मालिक जनता बन्ने प्रणालीको विकल्प एक परिवार, एक बंशको हुकुमी शासन हुन सक्दैन । यसमा हामी सबै स्पष्ट हुनु पर्दछ ।
नेपालमा गणतन्त्र स्थापना भएको आज १५ वर्ष पूरा भएको छ । गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्दति समेत हो । यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनु पर्छ, जहाँ सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायहरुको बीचमा विभेद र बहिस्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस् । लोकतान्त्रिक गणतन्त्रको यस सुन्दर प्रणालीलाई मजबुत बनाएर हामीले गरिबी र पछौटेपन विरूद्धको लडाईँ जित्नु पर्ने छ । गणतन्त्र दिवसको यस अवसरमा म सबैलाई त्यसका लागि अग्रसर हुन हार्दिक आह्वान गर्दछु । सबैमा धेरैधेरै शुभकामना १

१५ जेठ २०८०

केपी शर्मा ओली
अध्यक्ष