दोहा, १९ असार । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारको दशौँ अधिवेशनको मिति नजिकिंदै गर्दा भाँडभैलो मच्चिएको छ । अन्तिम परिषद भेलामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विवाद तथा सो भेलामा उठेका प्रश्नहरूको गर्मी नसेलाउँदै पुनः संस्थाको कार्यसमिति विवादमा तानिएर भाँडभैलो भएको हो । विधानसंग सम्बन्धित रहेर अन्तिम परिषद भेलामा उठेका प्रश्नहरूको उत्तर अहिलेसम्म राष्ट्रिय समन्वय समिति कतारले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
एनआरएनए, एनसिसीमा केही समयअघि भएको सहमति अनुरुप दुइवटा भएको समूह मिलेर अधिवेशन गर्ने भनिएको भएता पनि कतारको सन्दर्भमा मुक्तादा समूहले सुरेश भट्टको समूहसँग समन्वय नगरी बन्द गरिएको परिषद सदस्यता पुनः तीन दिनको निम्ति खुलाएको थियो । जसको काउण्टरमा भट्ट समूहले केन्द्रलाई पत्राचार गरी एकताको वातावरण नबिगारिदिन केही दिन अगाडि मात्र अनुरोध गरेको थियो ।
मुक्तदाको समूह केन्द्रको भावना विपरित भट्ट समूहलाई पेलेरै जान खोजेको देखिॅदै आएको छ । फुटेर दुईवटा भएको एनआरएन आईसीसी सहमतिमा पुगेपछि कतारमा पनि सहमतिको निमित्त संवाद हुनुपर्नेमा नभएको गुनासोसहित सुरेश भट्ट समुहले असन्तुष्टि जनाउँदै आएको छ ।
यिनै विवादहरूका गर्मागर्मी बीच आज ४ जुलाई २०२३ का दिन एनआएएनए, एनसिसी कतारका पूर्व प्रथम उपाध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार उत्तम गुरुङले संस्थाका सदस्यहरू आर्थिक अपचलनमा मुछिएको अभिव्यक्ति दिनुभएको छ । संस्थाका अध्यक्ष मुक्तादा मुसलमान, महासचिव पदम गिरी कोषाध्यक्ष बिनोद बसौला तथा सन्तोष रेग्मीले आईएलओ प्रोजेक्टको पैसा के, कसरी खाएको छ, घोटाला कसरी गरेको छ, त्यसको उत्तर दिनु पर्ने भन्दै संघ संस्था समन्वय २०२१– २०२३ को ग्रुपमा लेख्नु भएको छ ।
यो आर्थिक अपचलनको कुरा पत्रकार सम्मेलन मार्फत चाडै सार्वजनिक गर्ने कुरासमेत त्यही संस्थाको ग्रुपमा उहाँले जनाउनुभएको छ । एनसिसीको कोषको रकम कहाँ कति निकालेर कहाँ लगानी गरिएको छ ? त्यसमा को को सहभागी बनेका छन् ? कुन कुन व्यवसायबाट कति कति पायौ ? एनसिसीको परिषद सदस्यता आह्वान गर्दा के के चाहिन्छ भनेर भनेका थियौ र के, कसरी सदस्यता पास गर्यौ ? ३०० देखी ४०० जनासम्म परिषद सदस्यलाई वैध दस्तावेज बिना नै प्रमाणित कसरी गर्यौ ? आदि कुराको प्रमाण सहित लिएर पत्रकार सम्मेलनमा आउने जनाउंदै उक्त पत्रकार सम्मेलनमा प्रश्नहरूको सामना गर्न तयार रहन ग्रुप मार्फत उहाँले चेतावनी दिनुभएको छ ।
वर्तमान प्रमुख सल्लाहकार उत्तम गुरुङले कार्यसमिति अर्थिक अपचलनमा मुछिएको दावी गर्दै संघ-संस्था ग्रुपमा आफ्नो धारणा टाइप गरेपश्चात गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारभित्र रहेको आर्थिक अपचलनको विषय गहिरो रहेको देखिएको छ ।
यो विषय बाहिरिएसँगै विनोद कुँवर समूह तर्फका एनआएरएनए, एनसिसी कतारका अध्यक्ष सुरेश भट्टले यसको आधिरिकताको तुरुन्त पुष्ट्याई गर्न सामाजिक संजाल मार्फत माग गर्नुभएको छ । सामाजिक संजाल फेसबुकको आफ्नो वालमा उहाँले ‘एनआरएनए, एनसिसी कतारकै प्रमुख सल्लाहाकारबाट यस्तो प्रतिक्रिया आउँदा यसलाई आधार मान्न सकिन्न भन्ने हुँदैन’ भन्ने उल्लेख गर्नुभएको छ ।
‘मोहम्मद मुक्तदा नेतृत्वको एनसिसीभित्र यस्तो कुरा बारम्बार उठिरहेका विषय हुन् तर उठेका प्रश्नहरूबाट भागेर उहाँ दोस्रो कार्यकालको अन्तिम समयसम्म पनि जवाफदेहि बन्न नसक्नु भनेको शंकाको ठुलो घेरामा आफुलाई उभ्याउनु हो’ भट्टले लेख्नु भएको छ । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कतार भित्र भएका विभिन्न किसिमका आर्थिक अपचलनका कर्तुतहरू अधिवेसनको छेक पारेर बाहिर निस्किन थालेका छन् जसले संस्था भित्र भएका आर्थिक अपचलनमा को को संलग्न छन् भन्ने कुराको निर्धारण गरिदिएको छ ।
यो भन्दा अगाडि पनि यस्ता किसिमका विषयहरू बाहिर आउने गरेका थिए, जसलाई विभिन्न माध्यमको प्रयोग गरेर दबाउने प्रयास गरिन्थ्यो । यसपटक संस्था भित्रैबाट आवाज निस्किएको हुँदा सम्बन्धित पक्षले यसको कसरी जवाफ देला ? या यतिकै दवाउला ? कतारवासी शसंकित छन् ।
भट्टले आफ्नोवालमा अझै थप्दै ‘हिजो यही विषय मैले उठाउँदा मुक्तदा समूहले त्यसलाई डिफेन्ड गर्नको निमित्त विभिन्न किसिमका समूह परिचालन गर्यो । तर अहिले समिकरणिय परिस्थिति परिवर्तन हुनासाथ संस्था भित्र भएका विकृतिहरू बाहिर आएका छन् । यस्ता कार्यहरूमा संलग्न भएका सबै फोहोरलाई बाहिर ननिकालेसम्म संस्था शुद्ध हुने छैन। संस्थाको शुद्धिकरणको निमित्त बाहिर निस्किएका सबै बिषयलाई न्यायिक ढंगले यथोचित निराकरण नगरेसम्म यो विषय पेचिलो बनिरहने भयो।’
यतिखेर चुप लागेर बस्ने समय होइन, समाज खण्डित तुल्याउने यस्ता अपचलनका विषयलाई तुरुन्त सम्बोधन गर्नको निमित्त उचित कदम चाल्नु पर्ने भट्टको बताउनुहुन्छ । ‘एनसिसी संस्था धारासायी हुनु अगावै यसको निराकरणको निमित्त जिम्मेवार पक्ष सक्रिय होस्’ भन्दै भट्टले यसका निम्ति समाजका अग्रजहरूको सामाजिक संजाल मार्फत ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्