जनता टाइम्स

१४ श्रावण २०८०, आईतवार ०६:१०

बजेट अभावले विद्याभूषण अनिश्चित


काठमाडौँ, १४ साउन । आवश्यक रकम अभावका कारण नेपाल विद्याभूषण पदक वितरण यस पटक पनि अनिश्चित भएको छ। पदक वितरण चार वर्षदेखि रोकिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति टुङ्गो लागेपछि मात्रै वितरण गर्ने भन्दै २०७६ सालदेखि विद्याभूषण वितरण रोकेको हो। यसले गर्दा स्नातक र स्नातकोत्तर तहका सर्वोत्कृष्ट तथा विद्यावारिधि उपाधि हासिल गरेकाहरू विद्याभूषण पाउनबाट वञ्चित भएका हुन्।

यस पटकबाट राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरिएको छ। अनिवार्य तथा निःशुल्क शिक्षा ऐन पारित भएको मितिलाई आधार मानेर उक्त दिनलाई शिक्षा दिवसका रूपमा मनाउने निर्णय गरिएको हो। नियमित रूपमा वितरण गर्न नसकिएका कारण यो अवधिमा कति जनालाई विद्याभूषण वितरण गर्नुपर्ने थियो भन्ने यकिन तथ्याङ्कसमेत मन्त्रालयसँग छैन।

मन्त्रालयको उच्च शिक्षा शाखाका उपसचिव रामप्रसाद सुवेदीले चालु आर्थिक वर्ष २०८०र८१ मा विद्याभूषणका लागि ६० लाख रुपियाँ मात्र विनियोजन भएको बताउनुभयो। उहाँले शिक्षा दिवस मनाउने सन्दर्भमा कम्तीमा छ करोड रुपियाँ आवश्यक पर्ने जानकारी दिँदै भन्नुभयो, “अर्थ मन्त्रालयसँग रकम माग गरेका छौँ। पाइन्छ कि पाइँदैन भन्ने निश्चित भइसकेको छैन।”

गत वर्ष विद्याभूषण वितरणका लागि चार करोड रुपियाँ विनियोजन भएको थियो तर गत जेठमा मात्र राष्ट्रिय शिक्षा दिवसको मिति टुङ्गो लागेकाले सो रकम अन्य शीर्षकमा खर्च गरिएको थियो। यस पटक पनि अन्योल नै भएकाले मन्त्रालयले विद्याभूषणका लागि अझैसम्म आवेदन माग्न सकेको छैन। रकम जोहो भइहालेमा पनि विद्याभूषणको तयारी गर्न न्यूनतम दुईदेखि तीन महिनासम्म लाग्ने छ। “समय धेरै छैन। छिटो अर्थ मन्त्रालयले निर्णय गरिदिनु पर्छ,” उहाँले भन्नुभयो।

शिक्षा मन्त्रालयले २०७६ सालमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि उपाधि हासिल गरेकासँग आवेदन माग गर्दा ३७८ जनाको आवेदन परेको थियो। त्यति बेलासम्म भदौ २३ गते ९सेप्टेम्बर ८ तारिख० का दिन शिक्षा दिवस मनाइँदै आएको थियो। तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भदौ २३ गते ९सेप्टेम्बर ८ तारिख० मा अन्तर्राष्ट्रिय साक्षरता दिवस परेकाले सोही दिन राष्ट्रिय शिक्षा दिवस मनाउनु उपयुक्त नहुने भन्दै नयाँ मिति चयनपछि शिक्षा दिवस मनाउने र सोही बेला विद्याभूषण पदक वितरण गर्ने निर्णय गर्नुभएको थियो। त्यो वर्ष आवेदन दिएकाको सङ्ख्यालाई आधार मान्ने हो भने त्यसयताका चार वर्षमा करिब दुई हजार जनालाई विद्याभूषण वितरण गर्नुपर्ने हुन सक्ने अनुमान मन्त्रालयले गरेको छ।

स्नातकका सर्वोत्कृष्टलाई नेपाल विद्याभूषण ‘ग’, स्नातकोत्तरका सर्वोत्कृष्टलाई नेपाल विद्याभूषण ‘ख’ र विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण ‘क’ बाट विभूषित गर्ने प्रचलन छ। चाँदीको पदकमा सुनको लेपन गर्ने गरिएको छ। ‘क’ श्रेणीको विद्याभूषणको प्रतिपदक सरदर ५० हजार रुपियाँ र अन्यका लागि प्रतिपदक ३० हजार रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ।

२०३१ सालदेखि राष्ट्रिय शिक्षा दिवस मनाइँदै आएको हो। विगतमा फागुन १२ गते मनाउने गरिएकोमा २०६२र६३ को जनआन्दोलनपछि सो मितिमा नमनाउने निर्णय भएकाले २०६३ सालमा मनाइएन। २०६४ सालदेखि अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन शिक्षा दिवस मनाउन थालिएको थियो। गोरखापत्रबाट