जनता टाइम्स

२४ भाद्र २०८०, आईतवार १८:४९

पार्टीको झण्डा छाडेर राष्ट्रिय झण्डामा सेल्फी खिचेर संबिधान दिवस मनाउँदै एमाले, असोज ३ को बिहान नक्सालको नारायण चौरमा आउन सवैलाई निम्तो


काठमाडौं, भदौ २४ । नेकपा एमालेले ब्यापक जनसहभागितामा संबिधान दिवस मनाउने भएको छ । आम नागरिकलाई संबिधानप्रति अपनत्व कायम गर्न एमालेले राष्ट्रिय झण्डाको मात्रै प्रयोग गरेर असोज ३ गते जनसहभागितामुलक कार्यक्रम गर्न लागेको हो ।

संबिधान जारी भएको असोज ३ गते काठमाडौंको नक्सालस्थित नारायणचौरमा एमालेले जनस्तरबाट कार्यक्रम मनाउने गरी योजना बनाएको कार्यबहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो कार्यक्रममा पार्टीको झण्डाको साटो राष्ट्रिय झण्डाको प्रयोग गरिने छ । बिहान ७ः३० बजे सुरु हुने कार्यक्रमको अवधीभर सवैको हातमा राष्ट्रिय झण्डा हुनेछ भने कार्यक्रम अवधीभर संबिधानको धुन बजाइने छ । यस्तै कार्यक्रममा नेपाल झल्कने बिभिन्न झाँकी पनि प्रस्तुत हुनेछ ।

कार्यबहाक महासचिव ज्ञवालीका अनुसार कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सवै नेताहरु सहभागी हुनुहुनेछ भने अध्यक्ष ओलीसहित सहभागी सवैले राष्ट्रिय झण्डामा सेल्फी लिने गरी कार्यक्रमको डिजाइन गरिएको छ । अध्यक्ष ओलीसँग राष्ट्रिय झण्डामै सहभागीहरुले सेल्फी लिने गरी ब्यवस्था मिलाइने उहाँले बताउनु भयो ।

एमालेले संबिधान जारी भएको दिन अर्थात असोज तीन गतेलाई ‘असोज तीन : एकतीस ग्यारेण्टी गरिएको दिन’ भन्ने मुल नारा बनाएको छ । सोही नारामा जनताको तहबाट राष्ट्रिय दिवस मनाउने निर्णयमा एमाले पुगेको हो । संबिधानको धारा १६ देखि धारा ४७ सम्म रहेको मौलिक हकलाई सुत्रवद्ध गरी एमालेले यो नारा बनाएको हो ।

कार्यबहाक महासचिव ज्ञवाली र उपमहासचिव बिष्णु रिमालका अनुसार त्यस दिन मुख्य कार्यक्रम नै ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ राखिएको छ । यस्तै नेपालको झण्डा जस्तै गरी कार्यक्रम स्थलको डेकेरेशन गरिने छ । जनताको तहबाटै संबिधानप्रतिको अपनत्व दर्साउन यो कार्यक्रम गरिएको एमालेले जनाएको छ ।

‘राष्ट्रिय दिवसलाई जनस्तरबाटै मनाउने अभियान स्वरुप यो कार्यक्रम गर्न लागिएको हो, त्यसैले राष्ट्रिय दिवसमा पार्टीको झण्डा नभई राष्ट्रिय झण्डाको प्रयोग गर्न लागिएको हो,’ कार्यबहाक महासचिव ज्ञवालीले भन्नुभयो, ‘एमालेले कार्यक्रम डिजाइन गरेको भए पनि सवै नेपाली सहभागी हुन भनेर राष्ट्रिय झण्डा मात्रै प्रयोग गरेर सेल्फीको समेत ब्यवस्था गरिएको हो ।’