जनता टाइम्स

६ मंसिर २०८३, आइतबार १४:१७

प्रधानमन्त्री साहको भारत भ्रमण सफल र उपलब्धिपूर्ण हुने रास्वपाको विश्वास, राष्ट्रिय हितलाई केन्द्रमा राख्न आग्रह


काठमाडौं, मंसिर ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, उपलब्धिपूर्ण तथा सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि आज मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्न लाग्नुभएको सन्दर्भमा रास्वपाले भ्रमणलाई दुई देशबीचको आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ ।

प्रधानमन्त्री शाहको नेतृत्वमा रहने ३४ सदस्यीय प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी हुने रास्वपाले जनाएको छ ।

दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै रास्वपाले द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी हुने अपेक्षा गरेको छ । महामन्त्री आचार्यद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “नेपाल र भारतबीच राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध विशेष रहिआएको छ। यस भ्रमणले दुई देशबीच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।”

रास्वपाले प्रधानमन्त्री शाहले भारत भ्रमणका सन्दर्भमा पार्टी सभापतिसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराउनुभएको जनाएकाे छ । साे अवसरमा पार्टी सभापतिले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको रास्वपाले जनाएको छ । शुभकामना सन्देशमा भनिएको छ, “सभापतिज्यूले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको छ।”

रास्वपाले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने र नेपालको राष्ट्रिय हित तथा साझा सरोकारका विषयमा सकारात्मक उपलब्धि हासिल हुने अपेक्षासहित भ्रमणको सफलताको कामना गरेको छ । “राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमण सफल, उपलब्धिपूर्ण तथा सुखद रहोस् भन्ने हार्दिक शुभकामना !” महामन्त्री आचार्यद्वारा जारी सन्देशमा उल्लेख छ ।