जनता टाइम्स

६ मंसिर २०८३, आइतबार १२:३६

भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री बालेनलाई एमालेको सुझाव : लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला


काठमाडौं, मंसिर ६ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले प्रधानमन्त्री बालेन्द्र साह बालेनको भारत भ्रमणअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल तथा राष्ट्रपतिसँग परामर्श नगरिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री साह भारत भ्रमणमा जान लाग्नुभएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले यस्ता महत्त्वपूर्ण भ्रमणअघि राष्ट्रिय सहमति र साझा धारणा निर्माणका लागि राजनीतिक दलहरूसँग परामर्श गर्नुपर्ने भए पनि त्यसो नगरिएको भन्दै प्रश्न उठाउनुभएको हो ।

उहाँले सार्वभौम राष्ट्रको प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दा नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, समानता र राष्ट्रिय हितका आधारमा अघि बढाउनुपर्ने बताउनुभएको छ । आचार्यले भन्नुभएको छ, “यस्ता महत्त्वपूर्ण भ्रमणअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल, आवश्यक परामर्श गर्नु तथा राष्ट्रपतिसँग संवाद गर्नु लोकतान्त्रिक अभ्यास र संस्थागत मर्यादाका दृष्टिले महत्त्वपूर्ण हुन्छ। यसले राष्ट्रिय चासोका विषयमा साझा धारणा बनाउन र विदेशमा नेपालको आवाज थप सशक्त बनाउन सहयोग पुर्‍याउँछ, तर त्यस्तो गरिएन।”

उहाँले भ्रमणअघि नै गर्नुपर्ने परामर्श नगरेको विषयलाई लोकतान्त्रिक अभ्यास र संस्थागत मर्यादासँग जोड्दै राष्ट्रिय महत्त्वका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

त्यसैगरी, सीमा तथा भूभागसम्बन्धी विषयमा नेपालको स्थापित अडान, ऐतिहासिक प्रमाण र राष्ट्रिय सहमतिअनुरूप स्पष्ट तथा जिम्मेवार प्रस्तुति दिनुपर्नेमा पनि आचार्यले जोड दिनुभएको छ । “मित्रवत् सम्बन्धलाई सुदृढ बनाउँदै आफ्ना चासो दृढतापूर्वक राख्न सक्नु नै प्रभावकारी कूटनीति हो,” उहाँले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादालाई स्मरण गर्नुपर्ने उहाँको सुझाव छ ।

भारत भ्रमणका क्रममा नेपालको भूमि तथा सीमा विवादका विषयमा नेपालको अडान कमजोर हुने अभिव्यक्ति नदिन आग्रह गर्दै आचार्यले कडा शब्दमा भन्नुभएको छ, “नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुपर्ने परिस्थिति नआओस्। लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला।”

प्रधानमन्त्री साहले घोषणापत्रमा उल्लेख गर्नुभएका रोजगारीका सपना, बहुपक्षीय कूटनीति र राष्ट्रिय हितसम्बन्धी प्रतिबद्धताहरू व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । ती विषय केवल भाषण र प्रचारका विषय बन्न नहुने आचार्यको भनाइ छ ।

भ्रमणले नेपालको स्वाभिमान उँचो राख्दै दुई देशबीचको विश्वास अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्दै उहाँले भ्रमणबाट फर्किएपछि भएका समझदारी र उपलब्धिबारे संसद् तथा जनतालाई जानकारी गराउन पनि प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ । “यहाँको भ्रमणले नेपालको स्वाभिमान उँचो राख्दै दुई देशबीच विश्वास बढाओस् र नेपाली जनताका अपेक्षा सम्बोधन गर्ने ठोस आधार तयार गरोस्,” आचार्यले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।