जनता टाइम्स

६ मंसिर २०८०, बुधबार ०९:५९

चिउरीवासी भन्छन : हाम्रो बस्ती सार्दिए हुन्थ्यो


भरत शर्मा/जाजरकोट । गत कात्तिक १७ गते राती नलगाड नगरपालिका १ चिउरीमा रहेको आफ्नै घरमा मस्त निद्रामा हुनुहुन्थ्यो कमला विक । निदाएकै बेला राती ११ः४७ बजे बिकमाथि सिङ्गो घर खस्यो । कमलासँगै सोही घरमा सुतेका ६ जनामाथि घरको छानो बजारियो ।

घरको धुरबलो उहाँहरुमाथि अड्डियो र उहाँहरुको शरीरमा ढुङ्गा माटो लाग्नबाट जोगायो । उहाँहरुलाई सामान्य चोट लाग्नुबाहेक केही भएन । भूकम्प रोकिएपछि भत्किएको घरले पुरिएकी कमला सानो प्वाल पारेर आफू बाहिर निस्किनु भयो । आफू निस्केपछि अन्य ४ जनालाई पनि त्यसैगरी बाहिर निकाल्न सफन हुनुभयो । तर फुपूको घरमा पाहुना आएको कमलाको ३ वर्षको भतिजोलाई निकाल्न सक्नुभएन ।

भतिजोको खुट्टा त्यही धुरबलोले चापिएकोले उहाँ एक्लैले निकाल्न नसकेको बताउनु भयो । ‘हामी ५ जना बाहिर निस्केपछि भतिजोलाई निकाल्न खोजें,’ कमलाले भन्नुभयो, ’उस्को खुट्टा धुरबलोले च्यापिएकोले एक्लै बलो उठाएर निकाल्न सकिन । चिच्याएपछी गाउँले आएर भतिजोलाई निकाल्न सफल भयौं ।’

भूकम्पबाट कमलाको परिवारमा कसैको ज्यान त गएन तर अब बस्ने बास छ न बास बनाउने जमिन नै । भूकम्पले उहाँको १ वर्ष अघि बनाएको घर पूर्णरुपमा धोस्त भएको छ भने भोगचलन गर्दै आएको जमिन समेत ठाउँ ठाउँमा चिरा परेको छ । ‘१ वर्ष अघि ऋण सापट गरेर बनाएको घर त ढल्यो नै,’ कमला भन्नुहुन्छ, ’अब घर बनाउने जग्गा समेत चिरा परेको छ, हामी कहाँ बस्नु ?’ कमलाले चिउरीमा बस्ने अवस्था नरहेकोले बस्ती नै सार्दिन आग्रह गर्नुभयो ।

भूकम्पले भत्किएका संरचनाहरुको भग्नावशेष हटाउन र पीडितहरुको लागि अस्थायी टहरा निर्माण गर्न चिउरीगाउँ पुगेका एमालेका स्वयंसेवकहरुसंग उहाँले यस्तो माग राख्नुभएको हो । एमाले केन्द्रीय विपद व्यवस्थापन विभागका प्रमुख केन्द्रीय सदस्य किरण पौडेल, केन्द्रीय सदस्य निरज आचार्य लगायतको टोलीसंग चिउरीवासीले बस्ती स्थानान्तरणको माग गरेका हुन । सो भेटमा स्थानीय लालसरी विकले भन्नुभयो, ’भूकम्पले जमिन फाट्यो, अब यहाँ बस्न नै गाह्रो भयो । हामीलाई कतै सुरक्षित ठाउँमा सारिदिए हुन्थ्यो ।’

आफ्नो थातथलो छोड्न आफुहरुको रहर नभई बाध्यता रहेको चिउरीवासीको भनाई छ । पीडितहरुलाई सान्त्वना दिदै विभाग प्रमुख पौडेल नेतृत्वको टोलीले जोखिममा रहेका वस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित निकायहरु संग समन्वय गर्ने आश्वासन दिएको छ ।

अधिकांश दलित बस्ती रहेको चिउरीगाउँ एउटै गाउँमा सबैभन्दा बढी मानवीय क्षती भएको थियो । भूकम्पले त्यहाँ १३ जनाको ज्यान गएको थियो भने प्रायः सबै घरहरु पूर्णरुपमा क्षती भएका छन ।