नेपालमा समाजवाद स्थापनाको संकल्प सहित २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने संस्थापक महासचिव क.पुष्पलालको नाममा निर्माण भएको राजमार्गकै पेरिफेरिमा हुने यो संकल्प यात्रा नेकपा एमालेको नेतृत्वमा कम्युनिष्टहरुलाई ध्रुवीकृत र गोलवन्द गराउने संकल्प यात्रा पनि हो
सुनिता बराल
प्रमुख प्रतिपक्षी दलको रुपमा जिम्मेवार भूमिकासहित देशमा मडारिएको निराशाको बादल फटाउँदै आशा र उत्साहको सञ्चार गर्न नेकपा एमालेले समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको छ । मध्यपहाडी यात्राका रुपमा पनि जनस्तरमा चिनिएको यो संकल्प यात्राले राजनीतिक, आर्थिक, सामाजिक, पर्यावरणीय हिसावले अनेकौं स्थानीय सम्बन्धहरुलाई एकताको मालामा उन्दै राष्ट्रिय सन्देश दिन्छ । नेपाल यतिबेला आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक हिसावले एउटा कठिन अवस्थामा रहेको छ ।
सदियौंदेखिको सामन्ती व्यवस्थाको अन्त्य भए पनि समाजमा विभिन्न हिसावले जरा गाडेर बसेको यो व्यवस्थाका अवशेषहरु विभिन्न स्वरुपमा जिवित नै छन । नागरिकको अपेक्षा अनुरुप स्थापित विद्यमान व्यवस्थाले सोचेअनुरुपको उपलब्धि दिन नसकेको मौकामा खारेज भईसकेको सामन्ती व्यवस्थाका अवशेषहरुले टाउको उठाउने चेष्टा गरेको अवस्था छ । तर यसरी रन्थनिएको सामन्तवादले टाउको उठाउने वित्तिकै एकथरी देशी र विदेशी प्रतिक्रियावादहरु परिवर्तनलाई मास्न उद्यत छन । यसलाई स्पष्ट नजरले चिन्न र त्यसको उचित निराकरण गर्न जरुरी छ ।
सामन्तवादको अन्त्य भए पनि विभिन्न रुपमा जोडिएका सामन्तवादका अवशेष अन्त्य गर्दै नयाँ हिसावको उत्पादन सम्बन्ध निर्माण गर्न आवश्यक छ । राजनीतिक परिवर्तन पछिको यो अवधिमा नेकपा एमालेको नेतृत्वमा सरकार निर्माण भएका बेला योजनाबद्ध काम गरेर देशलाई समृद्धिको बाटोमा गतिसाथ हिँडाउने प्रयत्नहरु भएका थिए । विश्वासको अवस्था निर्माण हुँदै थियो तर एकाएक सिर्जना भएका अवरोधहरु र त्यसपछिको अन्यौलग्रस्त परिस्थितिबाट सिर्जना भएको सामाजिक निराशा एवम् आर्थिक असफलतातर्फ उन्मुख भएको यथार्थले यो गम्भिर परिस्थिति निम्त्याएको भूल्न हुँदैन । यो घटनाक्रमका पछाडी जोडिएका तत्वहरु पनि जनतालाई चिनाउन यो मध्यपहाडी संकल्प यात्रा औचित्यपूर्ण छ ।
देशमा यतिबेला देखिएको आर्थिक हिसाबको कमजोरीका कारण र उपाय समिक्षा गर्ने सन्दर्भ पनि हो । राजनीतिक तथा प्रशासनिक हिसावले नेतृत्व गर्नुपर्ने सरकार आफै स्वार्थ लोभ र परनिर्भरताको शिकार भएका कारण सामाजिक निराशा बढेको छ । तर यी भन्दा जटील समस्यामा समेत नेकपा एमालेले आफ्नो कुशल नेतृत्वद्वारा देशलाइ सही बाटोमा हिडाएको अनुभव छ । नेकपा एमालेको कुशल राजनीतिक नेतृत्वको अनुभव, नागरिकका अपार माया र सम्भावनाका सपनाहरुसहित स्थानीय सम्बन्धहरुका बलमा राष्ट्रीय सन्देश दिने प्रयत्न हुनेछ ।
जनस्तरमा बलियो जग सहित उभिएर जनक्रान्ति र जनअपेक्षालाई प्रतिविम्वित गर्ने खालको संस्कृति निर्माण गर्न जिम्मेवार दलको हिसावले नेकपा एमालेले यसको पहलकदमी लिएको हो । सरकारको नेतृत्व गर्दा होस् वा प्रतिपक्षमा बस्दा नागरिकहरुमा धारणा निर्माण हुने कुरा नेकपा एमालेले लिएको बाटो, चालेका कदमहरु र देखाएका सपनाहरुले निर्धारण गर्ने एउटा अवस्था बनिसकेको तथ्य हामीमाझ छ । बदलिएको राजनीतिक परिवेशमा राजनीतिक परिवर्तन सहितका उपलब्धिहरुलाई जोगाउँदै राष्ट्रिय आकांक्षा प्राप्त गर्न नयाँ संस्कृति निर्माणका लागि स्थानीय सम्बन्धका सुत्रहरु कसिलो पार्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्देश प्रवाह गर्नुपर्छ ।
नागरिकका अपेक्षा सम्वोधन र राष्ट्रिय आवश्यकताका सवालहरुलाई लिएर सरकारले गर्नुपर्ने कामहरु नगरेको अवस्थामा जिम्मेवार प्रतिपक्षले खबरदारी गर्नैपर्छ । देश किन निराशाको बादलभित्र अलमलिएको छ जनतालाई प्रष्ट पार्नैपर्छ अनि जनताको जगमा कसरी सपनालाई समृद्धिमा रुपान्तरण गर्नुपर्छ उनीहरुकै विचमा बसेर योजना निर्माण गर्नुपर्छ भन्ने उद्धेश्यले नेकपा एमालेले झुलाघाट चिवाभञ्ज्याङ मध्यपहाडी यात्रा सुरु गरेको हो । यो मध्यपहाडी यात्रामा नेकपा एमालेले हिजो सुरु गरेका मध्यपहाडी क्षेत्रका समृद्धिका योजनाहरुको जानकारी र कार्यान्वयनका क्रममा सिर्जना भएका अवरोधहरुको विषयमा जानकारी गराउनेछौं ।
स्रोत साधनको हिसावले प्रचुर मध्यपहाड जनसाख्यिक हिसावले रित्तिँदै गएको अवस्थालाई कसरी निराकरण गर्दै हराभरा बनाउने विकल्प र प्रयत्नहरु के हुन सक्छन् जनताका बिचमै बसेर कुरा सुन्दै अन्तरक्रिया गर्दै भावी योजना निर्माण गर्नेछौं । अभियानको निश्कर्षका रुपमा सरकारलाई खबरदारी हुनेछ कि गरेर देखाउ नत्र छोड हामी गर्नेछौं । हाम्रो नेतृत्वले हिजो नाकाबन्दीका समयमा जनताका आशा जगाएर उठाए जस्तै फेरि उठाउनेछ देशलाई । हाम्रो नेतृत्वले हिजो संविधान निर्माण नभएर अलमलिएको अवस्था संगालेर संविधान जारी गराइएको अवस्था जस्तै गरी सिंगै देशलाई एकताबद्ध र गोलबद्ध बनाउनेछ ।
पुष्पलाल मध्यपहाडी राजमार्ग र यसैको परिवेशमा हुने मध्यपहाडी संकल्प यात्रा एउटा साँच्चै संकल्प यात्रा हो । यो राजनीतिक हिसावले स्पष्ट रुपमा समाजवादी कार्यक्रम कार्यान्वयनको दवाव स्वरुप जनसमर्थन निर्माणको संकल्प हो । राजनीतिक परिवर्तन रक्षाको संकल्प हो । नेपालमा समाजवाद स्थापनाको संकल्प सहित २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने संस्थापक महासचिव क.पुष्पलालको नाममा निर्माण भएको राजमार्गकै पेरिफेरिमा हुने यो संकल्प यात्रा नेकपा एमालेको नेतृत्वमा कम्युनिष्टहरुलाई ध्रुवीकृत र गोलवन्द गराउने संकल्प यात्रा पनि हो ।
यो संकल्पयात्राका क्रममा पुष्पलालले सुरु गर्नुभएको बाटोमा जोडिएर मोडिएकाहरु, अलमलिएका र अल्मल्याइएकाहरुलाई संगाल्दै समेट्दै कम्युनिष्ट आन्दोलनको राजमार्गमा हिँडाउने संकल्प यात्रा हो । यो संकल्प यात्रा पहाडका प्रचुर सम्भावनाहरुलाई पर्गेल्न नसक्दा तिनै सम्भावनाका असीमित स्रोतहरु नै संकट बनेको महसुस गर्दै रित्तिँदै गरेको अवस्थाबाट मुक्ति खोज्ने संकल्प यात्रा हो । पहाडका जडिबुटी र खनिजमा आधारित उद्यममार्फत सैयौं वर्षलाई राष्ट्रको आय सुनिश्चित गराउन सकिन्छ भन्ने आशा जगाउने यात्रा हो । नेपालको पहाडले जोगाएको जैविक विविधता, जलवायु परिवर्तनका असर न्युनीकरणमा गरेको योगदान र दिगो आर्थिक विकासका असंख्य स्रोत र सम्भावनाको खोजीको संकल्प हो ।
मध्यपहाडी लोकमार्ग पुष्पलालको नामसंग जोडिएको हिसावले कम्युनिष्टहरुका लागि गर्वको विषय मात्र नभै यो लोकमार्ग निर्माण गर्दा कम्युनिष्ट पार्टीका अर्धमन्त्री र प्रधानमन्त्रीहरुले गाली खाँदै गरेको दृश्य सम्झाउनु पनि आवश्यक हुन्छ । संसदमै यो लोकमार्गका नाममा नेकपा एमालेले धेरै पटक विपक्षी दलहरुसंग मुकाविला गर्नुपरेको छ । पाँचथर, तेह्रथुम, सिन्धुली, धादिङ, तनहुँ, वागलुङ, रुकुम, दैलेख, अछाम हुँदै वैतडी पुग्ने यो लोकमार्गले १० जिल्लालाई सुगम बनाएको छ । यी जिल्लासंग जोडिएका आसपासका जिल्लाहरुको दैनिकीमा कायाकल्प गरेको छ । १० उन्नत आधुनिक शहरहरु निर्माण भईरहेका छन् ।
यो लोकमार्गको निर्माणले आसपासमा विकास भएको आर्थिक तथा सामाजिक सशक्तिकरण हिजोका लम्बेतान पूवर्पपश्चिम राजमार्गहरुको भन्दा कम छैन । केही भएन, देशमा केही छैन भन्दलै निरासाको बादल फैलाएर गलत क्रियाकलाप गर्न पल्किएकाहरुलाई जवाफ दिन जरुरी छ यो अवधिमा पुष्पलाल मध्यपहाडी लोकमार्ग र यस्तै अन्य विकासका काम कति भए र यसले समृद्धिमा कति योगदान दियो भन्ने तथ्यहरु ।
मध्यपहाडी लोकमार्ग कावेली, तमोर, अरुण, सेती, दूधकोशी, तामाकोशी, पश्चिमसेती जस्ता राष्ट्रिय गौरवका आयोजनाको प्राण भएको तथ्य जनस्तरदेखि विश्वस्तरसम्म बुझाउन जरुरी छ । अर्को यो लोकमार्गको अर्को विशेषता विना विश्फोटक पदार्थको प्रयोगमा निर्माण भएको वातावरणमैत्री लोकमार्ग । आजको जल्दोवल्दो वातावरणीय मुद्धाका यथार्थको ज्वलन्त सवाल र दिगो विकास लक्ष्यप्रतिको प्रतिबद्धतामा हाम्रा विकास मोडलहरुलाई बाटो देखाउने यो पुष्पलाल मध्यपहाडी लोकमार्गसंगै जोडेर नेकपा एमालेले गर्ने यो समृद्धि संकल्प यात्राले यस्ता धेरै सन्देशहरुलाई एकसाथ दिन खोजेको छ । मुख्यगरी २०६२/०६३ को जनक्रान्ति पश्चात राजनीतिक परिवर्तनलाई विकास र नागरिक समृद्धिसंग जोड्नका लागि गरिएको सशक्त प्रयत्न र त्यसको उपलब्धिको रुपमा मध्यपहाडी क्षेत्रका नागरिकहरुलाई बुझाउँदै जागृत गर्न समेत यो संकल्पयात्रा आयोजना गरिएको हो ।
यसरी नेकपा एमालेले सुरु गरेको यो संकल्प यात्रा पार्टीका केन्द्रीय अध्यक्षदेखि स्थानीय कार्यकर्तासम्मको संकल्प हो । यो मेरो सङ्कल्प हो । तपाइको सङ्कल्प हो । राष्ट्र राष्ट्रीयता, जनतन्त्र र जनजिबिकाको जपक्षीय सङ्घर्षको राष्ट्रीय सङ्कल्प हो । नेकपा एमालेले आफूलाइ राष्ट्र, राष्ट्रीयता, जनतन्त्र र जनजिबिकाको पक्षमा आफुलाइ सधै स्पष्टताका साथ सत्तीसाल झै उभ्याएको छ र उभ्याउनेछ भन्ने विश्वास दिलाउने संकल्प महायात्रा हो ।
हरेक प्रतिकूल परिस्थितिमा पनि नागरिकलाइ आशा जगाउदै उर्जा भर्दै राष्ट्र र नागरिकका जिवनदायी उर्जाको बलमा मुर्झाएका सपनालाइ जागृत गराउदै आएको तथ्य स्मरण गराउँदै इमान्दार प्रयत्नहरुमाथि भएका घात र घेरावन्दी जानकारी गराउने संकल्प महायात्रा हो ।
(बराल प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेकी केन्द्रीय सदस्य हुनुहुन्छ )
प्रतिक्रिया दिनुहोस्