जनता टाइम्स

१६ मंसिर २०८०, शनिबार १४:३०

महाकाली कोरिडोर सम्पन्नदेखि यस्ता छन एमाले संकल्प यात्राले सुदुरपश्चिमका लागि बनाएको बिशेष योजना


काठमाडौं, मंसिर १६ । नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राले सुदुरपश्चिम प्रदेशमा १५ वटा दूरगामी महत्वका काम गर्ने उदघोष गरेको छ ।

एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले सुदुरपश्चिमका १५ काम गर्नका लागि यात्रा फलदायी हुने बताउनु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झुलाघाटबाट मंसिर १४ गते सुरु भएको यात्रा अहिले डडेलधुरा, डोटी हुँदै अछाम पुगेको छ ।

एमाले टोली आइतवार सुदुरपश्चिमको यात्रा पूरा गरी अछामबाट कर्णाली प्रदेशको दैलेख जिल्लास्थित राकम पुग्ने छ । पौडेलका अनुसार मध्यपहाडी पुष्पलाल लोकमार्गको दूरी छोट्याउन अध्ययनका लागि इन्जिनियहरुसहितको टोली परिचालन पनि गरिएको छ ।

मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गअन्तर्गत आसपासका क्षेत्रहरुमा नागरिकसँग जोडिने अभिायन थालेको एमालेले मध्यपहाडी लोकमार्गको दूरी छोटो बनाउनका लागि विज्ञहरुसहितको टोली परिचालन गरेको पौडेलले जानकारी दिनुभयो । पौडेलले अभियानमा इन्जिनियहरुसहित जाने र लोकमार्गको दूरी छोटो बनाउने उपाय र आधारबारे अध्ययन गर्ने बताउनु भयो । मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा पनि डबल लेनमा स्तरोन्नति गर्नेतर्फ अभियानले ध्यान दिने पौडेलको भनाई छ ।

लोकमार्गका ठाउँठाउँमा सुरुङ मार्गको डिजाइन गरेर भएपनि लोकमार्गको दूरी छोटो बनाउने बारेमा एमालेले अभियानका क्रममा अध्ययन गर्ने पौडेलले बताउनु भयो । उपाध्यक्ष पौडेलले दार्चुलाका बासिन्दा काठमाडौं आउँदा कैलाली झरेर नभइ मध्यपहाडी लोकमार्गबाट नै आउनसक्ने र पाँचथर, ताप्लेजुङका जनता काठमाडौं आउँदा झापा नझरी काठमाडौं आउनसक्ने गरी पुष्पलाल लोकमार्गको विकास गर्ने उद्देश्य रहेको जानकारी पनि दिनुभयो ।

‘यस पटकको यात्रामा पुष्पलाल लोकमार्गको सन्दर्भमा हामीले केही महत्वपूर्ण अनुभव संग्रहित गर्छौं । यस लोकमार्गको एलाइमेण्टलाई अझ छोटो पार्ने उपाय के हुनसक्छ ? त्यसतर्फ पनि हाम्रो ध्यान जान्छ । विषय विज्ञहरुको टिम पनि साथमा रहन्छ । दूरीलाई छोटो पार्ने उपाय के हुनसक्छन् ? त्यसमा ध्यान जान्छ । हामीले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा पनि डबल लेनमा यसको स्तरोन्नति गर्नेतर्फ हामी के गर्नुपर्छ, त्यस्मा ध्यान दिनेछौँ,’ पौडेलले भन्नुभयो, ‘दूरी छोटो गर्ने सन्दर्भमा ठाउँठाउँमा सुरुङ मार्गको डिजाइन कहाँ गर्ने हो, त्यो पनि अध्ययन गर्छौं । पाँचथर, ताप्लेजुङका जनता काठमाडौं आउँदा उहाँहरु झापा झरेर होइन पुष्पलाल लोकमार्गको बाटो आउन सक्नुहोस् । दार्चुलाका बासिन्दा काठमाडौं आउँदा कैलाली झरेर होइन, पुष्पलाल लोकमार्ग हुँदै आउन सक्नुहोस । राजधानीबाट सुदूरपूर्व र सुदूरपश्चिमको पहाडी जिल्लामा जाँदा पनि त्यही बाटो भएर जान सकियोस् भन्ने स्तरमा सडकको स्तरोन्नति गर्न चाहेका छौँ ।’

१८ सय ७९ किलोमिटरमध्ये ४ सय ६२ किलामिटर सडक भने पहिले नै बनेको सडकलाई मध्य पहाडी लोकमार्गमा जोडिएको छ । पाँचथरको चिवाभञ्ज्याङबाट शुरू हुने मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला हुँदै बैतडीको झुलाघाटमा पुगेर टुङ्गिन्छ । लोकमार्गलाई अझै छोट्याउने, डेडिकेटेट एक्सप्रेस हाइवेको रूपमा विकास गर्ने तथा आवश्यक ठाउँमा सुरुङ खन्ने लगायतका कामको योजना भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले गरिरहेको छ ।

पौडेलले सुदरपश्चिम प्रदेशको विकासमा निर्णायक महत्व राख्ने आयोजना/परियोजनाहरूलाई पनि अभियानले समेटने बताउनु भयो ।

सुदरपश्चिम प्रदेशको विकासमा निर्णायक महत्व राख्ने आयोजना/परियोजनाहरू

(१) महाकाली कोरिडोर सडक सम्पन्न गर्न ।

(२) मध्य पहाडी पुष्पलाल राजमार्ग (झुलाघाट–गोठालापानी–पाटन–अमरगढी–दीपायल–साँफेबगर–मङ्गलसेन–बेलखेत) आवश्यक ठाउँमा एलायनमेण्ट परिवर्तन र सुरूङ एवम् भायडक प्रविधिको प्रयोग गरी दुरी घटाउन र द्रुतमार्गमा स्तरोन्नती गर्न ।

(३) अत्तरियाबाट अमरगढीजाने सडक, खोड्पेबाट चैनपुरजाने सड़क, सतबाँझबाट दार्चुलाको खलङ्गाजाने सड़क, साँफेबगरबाट मार्तडी जाने सडकलाई डेडिकेटेड डबललेनमा स्तरोन्नी गर्न ।

(४) सेती लोकमार्ग (बौनिया–साफेबगर–चैनपुर–उरईनाका) निर्माण गर्न ।

(५) खुटिया – दिपयल सडक तिब्र गतिमा निर्माण गर्न ।

(६) महाकाली नदीको झुलाधाट र दार्लुला खलङ्गा लगायत आवश्यक ठाउँमा मोटरेवल पुल निर्माण गर्न ।

(७) नेपालको राष्ट्रीय हित अनुरूप पञ्चेश्वर वहुउद्देशीय परियोजना निर्माण गर्न ।

(८) पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्न ।

(९) सुदुरपश्चिम विश्वविद्यालयलाई भौतिक पूर्वाधार, दक्ष जनशक्ति र शैक्षिक गुस्तरका दृष्टिले आधुनिक र स्तरीय बनाउन ।

(१०) बडीमालिका, शैलेश्वरी, उग्रतारा, निगलाशैनी, मालिकार्जुन, त्रिपुरासुन्दरी, खप्तड, रामारोशन, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रीय निकुञ्ज र अपि, शैपाल जस्ता हिम श्रीङ्खला लगायत धार्मिक एवम् पर्यटकीय स्थलहरूलाई आकर्षक गन्तव्यमा विकशीत गर्न ।

(११) दोधारा–चाँदनीको सुख्खा बन्दरगाह सम्पन्न गर्न ।

(१२) गड्डचौकी देखी कर्णाली चिसापानी सम्मको पूर्व–पश्चिम राजमार्गलाई ६ लेनको एक्सप्रेसवेमा स्तरोन्नती गर्न ।

(१३) हुलाकी सडकको बाँकी काम सम्पन्न गर्न ।

(१४) गेटा मेडिकल कलेज लगायत शिक्षा व स्वास्थ्य क्षेत्रका आवश्यक पूर्वाधार निर्माण निर्माण सम्पन्न गर्न ।

(१५) देशकै सर्वाधिक महत्वपूर्ण कर्णाली चिसापानी वहुउध्देशीय परियोजनाको निर्माणकार्य आरम्भ गर्न र सुदुरपश्चीमलाई भौतिक एवम् मानवीय विकासका दृष्टिले देशकै अग्रणी प्रदेशमा रूपान्तरण गर्न नेकपा (एमाले) को बहुमतको सरकार आवश्यक छ । यस उद्देश्य हासिल गर्न अघि सारिएको मिसन–८४ लाई सुदुरपश्चिमका स्वाभिमानी मतदाताको बलियो साथ प्राप्त हुनछ भन्ने सन्देश झुलाघाट–चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्राको प्रारम्भमै प्राप्त भएको छ ।