जनता टाइम्स

५ आश्विन २०७६, आईतवार १९:४३

आर्थिक योजनासहित महेश श्रेष्ठले गरे एनआरएनएको कोषाध्यक्षमा उम्मेदवारी घोषणा


काठमाडौं, असोज ५ । गैरआवासीय नेपाली संघ अन्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसी) को कोषाध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किनु भएका श्रेष्ठले आर्थिक योजनासहित एनआरएनको कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

श्रेष्ठ एनआरएनएभित्र प्रभावशाली हैसियत राख्ने ब्यक्तिमा समेत पर्नुहुन्छ । श्रेष्ठले एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेत्तृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने विश्वासका साथ कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको जनताटाइम्सलाई बताउनु भयो । उहाँले बिगत धेरै वर्षदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने पद कोषाध्यक्ष नै भएकोले सो पदको लागि आफ्नो उम्मेदवारी उपयुक्त हुने निश्कर्षका साथ उम्मेद्वारी दिने निर्णय गरेको बताउनु भयो । नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्यसमेत रहिसक्नु भएका श्रेष्ठले आफुले कोषाध्यक्षको जिम्मेवारी पाए गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने योजना अघि सार्नुभएको छ ।

उक्त कोषमा वार्षिक ८ करोड रुपैया संकलन गर्ने योजनासहितको कार्ययोजना तर्जुमा गरेको श्रेष्ठले बताउनु भयो । ‘संसारभरबाट बार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिट्यान्समार्फत नेपाल भित्रिने गरेको र नेपाल राष्ट्र बैंकले इन्सेन्टिभको रुपमा १ अमेरिकन डलर बराबर ३० पैसा बैंकलाई दिने गरिएकोमा उक्त ३० पैसामध्ये १ पैसा उक्त कोषमा जम्मा गर्न सकिएमा बार्षिक ८ करोड रुपैया जम्मा गर्न सकिन्छ,’ श्रेष्ठले जनताटाइम्ससँग भन्नुभयो । उहाँले सो कोषको संचालनका लागि निमावली तथा कार्यबिधि बनाउने सम्बन्धमा सम्बन्धित पक्षहरुसंग गहन छलफल भैरहेको जानकारी दिनुभयो । श्रेष्ठले नेपालको संविधानको धारा २९१ ले बिदेशमा स्थायी बसोबास भिसा लिएकाहरुलाई ठूलो अन्याय गरेको भन्दै सर्बोच्च अदालतमा मुद्धा समेत दायर गर्नुभएको छ ।

‘संविधानले बिदेशमा स्थायी बसोबास भिसा लिएर बसेकाप्रति विभेदपूर्ण व्यवस्था गरेको छ । त्यसका बिरुद्ध गैर आवासीय नेपालीहरुको हकहित र अधिकारको लागि कानुनी लडाई जारी छ,’ श्रेष्ठले भन्नुभयो । पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सकेका श्रेष्ठ सोसोलोजी र एन्थ्रोपोलोजीमा स्नाकोत्तर हुनुहुन्छ । उहाँले जापानको ग्लोबिस विश्वविधालयबाट एमबीएको अध्ययन पूरा गर्नुभएको छ । यस्तै सिभिल इन्जिनियरिङमा जापानको काएचु विश्वविधालयमा पीएचडी हासिल गर्ने क्रममा रहनुभएको छ । जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको सीईओ, तोनान कम्पनीको अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, सिटी ट्राभल एण्ड टुरका निर्देशक, एभेरेष्ट इन्टरनेसनल स्कुल जापान का प्रोमोटर एवं सल्लाहकार , सिइ ह्युमन रिशोर्स कम्पनी लिमिटेडका डाइरेक्टर तथा एसबिआई सिटी एस्प्रेस गोलोवलका निर्देशकसमेत हुनुहुन्छ श्रेष्ठ ।

जेएनएन एग्रो कम्पनीका डाइरेक्टर श्रेष्ठले सिटी एक्सप्रेस ग्रुपका विभिन्न कम्पनीहरु, विभिन्न वैंकहरु, सिटी एक्सप्रेस फाइनान्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटी एक्सप्रेस म्यानेजमेन्ट, सिटी एक्सप्रेस ट्रेडिङ,सिटी इन्भेस्मेन्ट फण्ड,सिटी ट्राभल एण्ड टुर, आइटी कम्पनी , आयात तथा निर्यात कम्पनि, र विभिन्न हाइड्रोपावर कम्पनीहरुमा प्रोमोटर एवं डाइरेक्टरको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

एनआरएनए अभियानबारे श्रेष्ठ

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोदेखि वर्तमान अध्यक्ष भवन भट्टसम्मले एनआरएनएको अभियानमा महत्वपूर्ण भूमिका खेल्नु भएको देखिन्छ । संस्थापक अध्यक्ष उपेन्द्र महतोजीले संगठन विस्तार गरि एनआरएनएको अन्तराष्ट्रिय संजाल विस्तार गर्नका लागि महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । त्यसैगरी देवमान हिराचनजीले एनआरएनएमा हामी भन्ने सामुहिकताको भवनाको विकास गर्नुभएको थियो भने जीवा लामिछानेजीले एनआरएनएलाई वैधानिक रुपमा नेपालमा दर्ता गर्ने काम र सामुहिक लगानीको लागि योगदान गर्नु भएको थियो । यस्तै पुर्ब अध्यक्ष शेष घलेजीले ‘भिजन २०२० एण्ड बियोण्ड’ को अबधारणा ल्याई एनआरएनएको संस्थागत संरचनामा महत्वपूर्ण योगदान दिनुभयो भने अध्यक्ष भवन भट्टजीले ‘सवै हात एकै साथ’को नारालाई अगाडि सार्दै एनआरएन केन्द्रीय कार्यालय भवन, लाप्राक बस्ती, शंखमूल पार्क जस्ता महत्वपूर्ण आयोजना सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । यसप्रकार एनआरएनए अभियान सन् २००३ देखि हालसम्ममा विभिन्न आरोह–अबरोह पार गर्दै क्रमिक रुपमा संगठनिक बिकास गर्दै अगाडि बढेको छ ।

यसकारण कोषाध्यक्षमा उम्मेदवारी

म एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेत्तृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने लागेर नै उम्मेदवारी घोाषणा गरेको हुँ । कोषाध्यक्षले संस्थाको आर्थिक पाटो हेर्नु पर्ने हुन्छ र संस्थामा आम्दानीको श्रोतहरु जुटाउने, अनावश्यक खर्च कटौती गरी मितब्ययिता अपनाउने, आम्दानी र खर्चको सन्तुलन मिलाउने जस्ता नित्तान्त आर्थिक कारोबार गर्नु पर्ने हुन्छ । म आफू बिगत धेरै वर्षदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने पद कोषाध्यक्ष नै भएकोले मा यस पदको लागि आफ्नो उमेदवारी दाबी गरेको हो ।

एनआरएनए अभियानमा याेगदानः
स्थापना कालदेखि नै एनआरएनए जापानमा सक्रिय भूमिका खेल्दै आइरहेको छु र सन् २००७ देखि लगातार एनआरएनएको केन्द्रिय विधान समितिमा बसेर कम गरिरहेको छु र त्यसैगरी एनआरएनएको लगानी सम्बन्धी समितिमा रही २०१३ सालदेखि सक्रिय योगदान दिइरहेको छु । एनआरएनएको सामुहिक लगानीको अबधारणा अनुसार निर्माण गरिएको एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको निर्देशक भएर काम गरिरहेको छु । हाल एनआरएनएको केन्द्रिय सदस्य, नेपालको संविधानमा एनआरएनका अधिकार सम्वन्धी समिति (2017-2019) को संयोजक, एनआरएनएको विधान संसोधन तथा निमावली निर्माण सुझाव समिति (2017-2019) को क्षेत्रिय संयोजक तथा व्यापार तथा लगानी प्रवर्धन समिति (2017-2019) को सह संयोजकको रुपमा योगदान दिईरहेकोछु ।

एनआरएनए अभियानमा योगदान :
१. केन्द्रिय सदस्य NRNA (2017-2019)
२. संयोजक: नेपालको संविधानमा एनआरएनका अधिकार सम्वन्धी समिति (2017-2019)
३. क्षेत्रिय संयोजक: एनआरएनएको विधान संसोधन तथा निमावली निर्माण सुझाव समिति (2017-2019)
४. सदस्य : एनआरएनएको विधान संसोधन तथा निमावली निर्माण सुझाव समिति (2007-2009 र 2013-2017)
५. सह संयोजक : व्यापार तथा लगानी प्रवर्धन समिति (2017-2019)
६. सदस्य : व्यापार तथा लगानी प्रवर्धन समिति (2013-2017)
बिदेशमा रहेर गरेका अन्य कार्यहरुः
नेपालको संविधानको धारा २९१ ले बिदेशमा स्थायी बसोबास भिसा लिएकाहरुलाई ठूलो अन्याय गरेको छ । उक्त धारा बिदेशमा स्थायी बसोबास भिसा लिएर बसेकाप्रति विभेदपूर्ण छ । उक्त धाराले बिदेशमा स्थायी भिसा लिएर बस्नुहुने नेपाली नागरिकहरुको नैसर्गिक अधिकार खोसेको छ । मैले संविधानको उक्त धाराको विरुद्धमा सर्बोच्च अदालतमा रिट हालेको छु र म गैर आवासीय नेपालीहरुको हक हित र अधिकारको लागि निरन्तर लडिरहेको छु ।
एनआरएनएको भावी कार्यदिशाहरु
भिजन २०२० एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो ।विश्वभर छरिएर रहेका विभिन्न पेशा, वर्ग , क्षेत्र र विभिन्न समुदायका ६० लाख भन्दा बढि गैर आवासीय नेपालीहरुको साझा संगठन रुपमा एनआरएनएलाई अघि बढाउन यसको सांगठनिक संरचनामा आमूल परिवर्तन गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।
एनआरएनएमा देहाय वमोजिमका आधार स्तम्भहरुको निर्माण गरी एनआरएनएको सांगठनिक संरचनामा परिवर्तन गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।
मुख्य आधार स्तम्भहरु (Main Institute):
1.NRNA Foundation
2. NRNA policy institute
3. NRNA knowledge and skill Academy
4. NRNA businesses and Investment Forum
5. Migration and Foreign Workers Welfare committee
त्यसैगरी Women and Youth Forum जस्ता अन्य सहायक स्तम्भहरु पनि आबश्यकता अनुसार निर्माण गर्दै जानु पर्दछ । उपरोक्त इन्स्टिच्युटहरुको निर्माण गरी तिनीहरुलाई अधिकारसंगै पूर्ण जिम्मेवारी दिइनु पर्दछ । त्यसै गरी केन्द्रीय सचिवालयलाई अझ प्रभावकारी ढंगले संचालन गरिनु पर्दछ ।