जनता टाइम्स

२३ माघ २०८०, मंगलवार ०७:३५

चालू आर्थिक बर्षमा नेपाल टेलिकमले राजश्वमा २८ अर्व ४६ करोड रुपैयाँ योगदान गरेको छ


आर्थिक वर्ष २०७९/८० मा कम्पनीको कुल आय रु ४४ अर्व ४२ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा रु ७ अर्व ९२ करोड भएको छ । चालु आ.व. को पौष मसान्तसम्म कम्पनीले करिव २० अर्ब ५३ करोड राजश्व प्राप्त गरेको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पुर्याएको योगदान हेर्ने हो भने आ.व.२०७९/८० मा कर तथा गैह्रकर गरी कम्पनीले रु २८ अर्व ४६ करोड रकम योगदान गरेको छ

संगीता पाहाडी अर्याल

मुलुकमा दूरसञ्चार सेवाको शुरुवात, विकास र विस्तारको एक शताब्दी भन्दा लामो गौरवशाली इतिहास बोकेको संस्थाको रुपमा परिचित र वि.सं. २०६० माघ २२ गते “कम्पनी” मा रुपान्तरण भए पश्चात नेपाल टेलिकम आज आफ्नो कम्पनी स्थापनाको २०औं वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ ।

यो लामो यात्रामा शुभकामना, सहयोग र सद्भाव प्रदान गरी निरन्तर हौसला दिनु हुने नेपाल सरकारका निकायहरु, नियामक निकाय, कम्पनीका ग्राहकवर्ग, शेयरधनी, सेवा सञ्चालनमा सहयोग पुर्याउने आपूर्तिकर्ता लगायत विभिन्न निकायहरु तथा शुभेच्छुक महानुभावहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयात्राको अपेक्षा गर्दछु ।

विगतका विभिन्न समयमा आइपरेका बाधा अड्चन र कठिन परिस्थितिको समयमा पनि कम्पनीका सेवाहरुलाई अबिछिन्न रुपमा गुणस्तर कायम राख्दै संचालन गर्नको लागि कम्पनी सञ्चालक समितिबाट प्राप्त निर्देशन, कम्पनीका कर्मचारी मित्रहरुबाट प्रदर्शित जिम्मेवारी बोध एवम् ग्राहकवर्गबाट प्राप्त माया र सद्भाव प्रति कम्पनीको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।

विगत र वर्तमानलाई संक्षिप्त विवेचना गर्दा :

२० वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिव ४ लाख २२ हजार रहेकोमा आज कम्पनीको ग्राहक आधार २ करोड १८ लाख भन्दा बढी छ । मुलुकका अधिकांश भुभागमा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित फोरजी एलटीइ प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा ७४ जिल्लामा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर बृद्धि भइरहेको छ ।

कम्पनीले आधारभूत टेलिफोन, ताररहित जिएसएम मोबाइल, अति दुर्गम विकट स्थानहरुमा भिस्याट प्रविधिमा आधारित सेवा, इन्टरनेट÷डाटा सेवा तथा अन्य भ्यालू एडेड सर्भिस (Value Added Services) उपलब्ध गराउंदै आएको छ ।

त्यसैगरी हाल कम्पनीले बबरमहल, सुन्धारा, पोखरा तथा वीरगन्जमा फाइभजी उपकरणहरु जडान सम्पन्न गरी परीक्षण कार्य समेत सम्पन्न गरेको छ । बाँकी चार प्रदेशमा समेत उपकरण जडान गर्नका उपकरण आयातको अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरिसकेको छ । आगामी दिनमा फोरजी सेवा विस्तार र फाइभजी पनि क्रमशः परीक्षण पश्चात विस्तार गर्ने कम्पनीको योजना छ ।

कम्पनीको प्रगतिको तुलनात्मक तथ्याङ्क हेर्दा :
आर्थिक वर्ष २०७९/८० मा कम्पनीको कुल आय रु ४४ अर्व ४२ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा रु ७ अर्व ९२ करोड भएको छ । चालु आ.व. को पौष मसान्तसम्म कम्पनीले करिव २० अर्ब ५३ करोड राजश्व प्राप्त गरेको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पुर्याएको योगदान हेर्ने हो भने आ.व.२०७९/८० मा कर तथा गैह्रकर गरी कम्पनीले रु २८ अर्व ४६ करोड रकम योगदान गरेको छ भने यस आ.व. मा उक्त योगदान झन् बढ्ने अपेक्षा गरिएको छ ।

कम्पनीको सेवा विस्तार सम्बन्धमाः

भ्वाइस सेवातर्फ :

कम्पनीको ग्राहक आधार २०८० मंसिर महिनाको अन्त्य सम्ममा २ करोड १८ लाख ४४ हजार ५ सयभन्दा बढी रहेको छ । सो मध्ये जीएसएम मोबाइलका ग्राहक २ करोड १२ लाख ४२ हजार र पीएसटीएन सेवाका ग्राहक २ लाख ६६ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक ३ लाख ३६ हजार रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता १ करोड ३९ लाख ६७ हजार छन् ।

इन्टरनेट डाटा सेवातर्फ :

कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०८० मंसिर महिनाको अन्त्यसम्ममा कुल २ करोड १५ लाख ४४ हजार ३ सय भन्दा बढी पुगेका छन् । सो मध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १२ लाख ४१ हजार ८ सय, एडीएसएल सेवाका प्रयोगकर्ता २८ हजार ७ सय र एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता २ लाख ७३ हजार ७५३ रहेका छन् । यस अवधिसम्म आईपीटीभी प्रयोगकर्ता ३५ हजार १६४ छन् ।

एफटीटीएच कार्यान्वयन :

देशका विभिन्न स्थानमा पुरानो तामाको तारयुक्त प्रविधिलाई एफटीटीएच प्रविधिमा स्तरोन्नति एवम् ७४ जिल्लामा एनटी फाइबरको विस्तार गरिनुका साथै एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन विभिन्न कार्य भइरहेका छन् ।

गुणस्तर सुधारतर्फ :

सेवाको गुणस्तर सुधार गर्न माननीय मन्त्री रेखा शर्माको प्रत्यक्ष निर्देशनमा हाइवे (Highway) नेटवर्क सुधारको कार्य अगाडि बढाइएको छ । त्यसैगरी जिल्लावाइज नेटवर्क सुधार गर्ने उद्देश्यले १९ जिल्लालाई नमूना टेलिकम जिल्ला घोषणा गरी तीव्रताका साथ कार्य अगाडि बढाइएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत :

 रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट जिल्लामा गत कात्तिक १७ गते गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरुलाई टेन्ट, ब्ल्यांकेट तथा म्याट्रेस उपलब्ध गराईनुका साथै त्यस क्षेत्रमा नेपाल टेलिकमको सिमकार्डमा ५ दिनसम्म निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराईएको, जसको लागत करिब ३ करोड रहेको ।

 हरियाली प्रवद्र्धन अन्तर्गत माइतीघर–तीनकुने सडकखण्डमा हरियाली संरक्षण तथा सौन्दर्यता अभिवृद्धि कार्य गरिँदै आएको छ ।
 सामुदायिक विद्यालयहरूमा आइसिटी ल्यावको स्थापना गरिनेछ ।
 सरकारी तथा सामुदायिक विद्यालयहरुमा एफटीटीएच डाटार नमस्ते उपलब्ध गराइनेछ ।
 वीर अस्पताल तथा अन्य सामुदायिक अस्पतालमा कुरुवाहरुको लागि बेड कम चेयर (Bed-Cum Chair) उपलब्ध गराइनेछ ।

कम्पनीको २० औं वार्षिकोत्सवको अवसरमा :

 हाल सञ्चालनमा रहेको Chatbot लाई स्तरोन्नति गरी AI प्रविधिको LLM मा आधारित Chatbot को Soft Launch गरिनेछ ।
 कम्पनीका कर्मचारी ग्राहकवर्गको घरदैलामै पुगी टेलिकमका सेवा प्रदान गर्ने गरी माघ २१ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट Nepal Telecom on Wheel कार्यक्रम शुभारम्भ भई देशभर विस्तार हुने क्रममा रहेको छ ।
 गत वर्षको Anniversary Offer अन्तर्गतको FTTH Combo Package खरिद गर्नु भएका ग्राहकले साविकको भन्दा करिब १५% कम मूल्यमै 50 Mbps क्षमताको FTTH Package renew गर्न सक्नुहुनेछ । नयाँ ग्राहकको हकमा साविककै मूल्यमा क्षमता अभिवृद्धि गरी २५०% सम्म पुर्याइएको Combo Package खरिद गर्न सक्नुहुनेछ ।
 नयाँ FTTH सेवा खरिद गर्दा एक थान Prepaid SIM Card निःशुल्क प्रदान गरिनेछ ।
 नेपाल टेलिकमको APP पहिलो पटक Download गर्दा 1GB Data प्राप्त गर्न सकिनेछ ।
 Postpaid  र Prepaid स्थापना देखि नेटवर्कमा आवद्ध प्रथम ३०० ग्राहकलाई Loyalty Package अन्तर्गत १ महिनाको निःशूल्क Voice सेवा उपलब्ध गराईएको छ ।

आगामी योजनाः
हाल दूरसञ्चार बजारमा विभिन्न चुनौतीहरु छन् । यद्यपि हरेक चुनौतीलाई अवसरमा परिणत गर्दै गएको खण्डमा मात्र कम्पनीको प्रगतिमा दीर्घकालीन रुपमा स्थायित्व कायम गर्न सकिन्छ । आगामी दिनमा यसै अनुसार कार्य अगाडि बढाइने छ । दूरगामी प्रभाव पार्ने रणनीतिक आयोजनाहरु जस्तैः मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर, डाटा सेन्टर, अत्याधुनिक तालिम तथा अनुसन्धान केन्द्र, फोरजी विस्तार, फाइभजी परीक्षण, डिजिटल मार्केटिङ, नयाँ भ्यालु एडेड सर्भिस, नमूना टेलिकम सेवा आदिलाई विशेष प्राथमिकताका साथ कार्यान्वयनमा लगिने छ । सबै राजमार्गहरुमा हाइवे कभरेजलाई थप परिस्कृत तथा गुणस्तरयुक्त बनाइने छ । एफटीटीएच विस्तार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने छ । iNOC लाई अझ बढी परिस्कृत बनाइने छ । कम्पनीको मोबाइल सेवा अन्तर्गत सञ्चालनमा रहेको Managed Service कार्यलाई व्यवस्थित गरिनेछ । नयाँ  RAN परियोजना कार्यान्वयनका लागि जोड दिइने छ । परिस्कृत High Capacity SMS सेवाहरु सञ्चालन गरिनेछ । विश्व प्रसिद्ध र देश अनुकूल प्रविधिको क्रमशः कार्यान्वयन गरिनेछ ।

अन्त्यमा,
आफ्नो अत्यन्त व्यस्तताका बाबजुद हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस कार्यक्रमको गरिमा बढाई दिनु भएकोमा प्रमुख अतिथि माननिय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री रेखा शर्माज्यू लगायत सम्पूर्ण अतिथि महानुभावहरुमा पुनः स्वागत एवं हार्दिक आभार ब्यक्त गर्दछु । वर्तमान चुनौतीपूर्ण अवस्थामा संस्था प्रमुखको जिम्मेबारी बहन गर्नु निकै कठिन कार्य भए तापनि सम्पूर्ण नेपाल टेलिकम परिवार तथा सरोकारवालाहरुको सहयोगले हरेक चुनौतीलाई सामना गर्दै संस्थालाई अगाडि बढाउने मेरो हरसम्भव प्रयत्न रहने छ । कम्पनीको प्रगतिमा प्रत्यक्ष र अप्रत्यक्ष भूमिका निर्वाह गर्नु हुने सबै महानुभावहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि साथ र सद्भाव प्राप्त भइरहने विश्वासका साथ कम्पनीको प्रगतिका लागि सकारात्मक सुझाव तथा मार्गदर्शनको अपेक्षा गर्दछु ।

(प्रबन्ध निर्देशक पाहाडीले २०औं स्थापना दिवसमा गर्नुभएको सम्बोधन)