जनता टाइम्स

१३ बैशाख २०८१, बिहीबार २३:५६

बास्तविक नायक कमरेड मनमोहनलाई सम्झदा


मनमोहन अधिकारीको त्यो नीति पूर्वी नेपालमा कम्युनिष्ट पार्टीको पुनरुत्थान र विस्तारको लागि महत्वपूर्ण कदम बन्न पुगेको थियो 

सञ्जय थापा

मनमोहन अधिकारी अर्थात इमानका नेता, जनताका मनमनमा बसेका एक नायक । २५ बर्षअघि आजकै दिन आफ्नै निर्वाचन प्रचारमा रहँदा मञ्चमा बोल्दाबोल्दै ढल्नुभएका सवैको मनमनमा बस्न सफल नेता मनमोहनको निधन भयो । ९ जुन १९२० मा काठमाडौं, लाजिम्पाटमा जन्मनुभएका मनमोहन अधिकारी नेकपा एमाले सवैभन्दा ठूलो दलका रुपमा जनताबाट निर्वाचित भएपछि २०५१ सालमा ९ महिना नेपालको ३१औं प्रधानमन्त्री हुनुभयो । उहाँँ नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री र प्रजातान्त्रिक सरकार प्रमुखको रूपमा निर्वाचित हुने विश्वकै पहिलो कम्युनिस्ट राजनीतिज्ञ हुनुहुन्थ्यो ।

काठमाडौंको लाजिम्पाटमा जन्मनु भएको उहाँँको बाल्यकाल विराटनगरमा बित्यो । उहाँको परिवार पूर्वी नेपालको एक जमिन्दार ब्राह्मण परिवार थियो । उहाँ‘ १९३८ मा अध्ययन गर्न भारतको वाराणसी जानुभयो । बिसं १९४२ मा उहाँ भारत छोडो आन्दोलनमा भाग लिनुभएको थियो । त्यो आन्दोलनको क्रममा उहाँलाई ब्रिटिश सरकारको गिरफ्तार गर्यो । उहाँ अन्य राजनीतिज्ञहरूसँगै भारतमा हिरासतमा पर्नुभयो ।

भारतमा रहँदा मनमोहन भारतीय कम्युनिष्ट पार्टीमा आवद्ध भई कम्युनिष्ट आन्दोलनमा संलग्न हुनुभयो र विराटनगर फर्किएर केमिकल उद्योगमा काम गर्नुभयो । जहाँ उहाँले सन १९४७ मार्चमा विराटनगर जुट मिल हडतालमा भाग लिएर बिपी कोइराला र गिरिजाप्रसाद कोइरालासँगै पक्राउ गरी काठमाडौं लगियो ।

सन् १९५४ मा ललितपुरको पाटनमा गोप्य रुपमा सम्पन्न भएको पहिलो महाधिवेशनवाट मनमोहन पार्टीको महासचिवमा निर्वाचित हुनुभएको थियो । पार्टीले राजतन्त्रलाई विस्थापित गरी जननिर्वाचित संविधान सभामार्फत संविधान वनाउने कार्यनीति पास गरेको थियो ।

विसं २०१५ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वमा निर्वाचित सरकार बनेको थियो । राजा महेन्द्रले विभिन्न कारण देखाउँदै २०१७ साल पुस १ गते कोइरालालाई बर्खास्त गरी निर्वाचित संसद विघटन गर्दा आफ्नै गृहनगर विराटनगर मोरङमा रहेका मनमोहनलाई कोशी अञ्चल आयुक्त दामोदर शम्शेर राणाले पक्राउ गरी जेल चलान गरेका थिए । उहाँ‘ हिरासतमा रहँदा धरान नगरपालिकाका तत्कालीन निर्वाचित नेता यज्ञप्रसाद आचार्य, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी सुनसरी जिल्ला कमिटीका सचिवलाई नेकपाको नेता तथा कार्यकर्तालाई हिरासतबाट रिहा गर्न सरकारी निकायसँग वार्ता गर्ने जिम्मा दिएका थिए ।

सुनसरी र मोरङ जिल्लामा आचार्यले जेलभित्रै कम्युनिष्ट नेता मोहन अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, राधाप्रसाद घिमिरेलगायतलाई अञ्चल आयुक्त राणा र मोरङ जिल्लाका प्रमुख प्रशासक जीवनलाल सत्यालसँग पटक–पटक वार्ता गरेका थिए । मनमोहन अधिकारी लोकतान्त्रिक व्यक्तित्व भएकाले नगरपरिषद जस्ता सार्वजनिक पदमा निर्वाचित भएका सबै नेता कार्यकर्ताले प्रतिपक्षको भूमिका निर्वाह गर्नुको सट्टा आफ्नो निर्वाचन क्षेत्रसँग निरन्तर सम्पर्क कायम राखेर काम गरिरहनुपर्ने उहाँ‘को धारणा थियो । मनमोहनको त्यो नीति पूर्वी नेपालमा कम्युनिष्ट पार्टीको पुनरुत्थान र विस्तारको लागि महत्वपूर्ण कदम बन्न पुगेको थियो ।

राजाको रचनात्मक नेतृत्वलाई समर्थन गर्ने वाचा गर्दै सार्वजनिक विज्ञप्ति जारी गरी सुनसरी र मोरङ जिल्लाका हिरासतमा रहेका तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका धेरै नेताहरुलाई रिहा गरिएको थियो । जेलबाट रिहा भएका शैलेन्द्रकुमार उपाध्याय र राधाप्रसाद घिमिरे (केही महिनापछि रिहा भएका) शैलेन्द्रलाई राजाले काठमाडौंमा वोलाएर राजनीतिक कारबाहीलाई समर्थन गर्ने जिम्मेवारी दिएका थिए । पछि राजा महेन्द्रले देशको सहायक गृहमन्त्री बनाए । तर मनमोहन पञ्चायत र राजाको कदममा कहिल्यै समहत हुनुभएन । ज्यान जोखिममा राखेर निरन्ततर जनता जगाउने अभियानमा लाग्नुभयो । उहाँहरुकै योगदानको कारण २०४६ को परिवर्तन संभव भएको हो ।

गिरिजाप्रसाद कोइरालाले कांग्रेसकै आन्तरिक कलहको कारण २०५१ सालमा संसद विधटन भएपछि चुनाव भयो ८८ सिट विजय गरेर एमाले संसदमा सवै भन्दा ठूलो पार्टी वन्यो । कुनै पनि दलले स्पस्ट बहुमत ल्याउन नसकेपछि एमालेका अध्यक्ष मनमोहन नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री वन्नुभयो । उहाँ‘को नेतृत्वमा रहेको एमाले सरकारको ‘आफ्नो गाऊँ आफै वनाऊँ’ ‘वृद्धभत्ता’ ‘९ स’ जस्ता अत्यन्तै लोकप्रिय र लोककल्याणकारी राज्यको अवधारणाको आज पनि उत्तिकै चर्चा छ । उहाँ‘को निस्कलंक ब्यक्तित्व र विकासवादी कार्यक्रमवाट आत्तिएर कांग्रेसले २०५२ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी र सद्भावना पार्टी समेतको समर्थनमा प्रतिनिधिसभाको विशेष अधिवेशन माग गरेर अधिकारी नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्यायो ।

राम्रो काम गर्दा हटनुपर्ने किन भन्दै उहाँले मध्यावधि निर्वाचन घोषणा गर्नुभयो तर सर्वाेच्च अदालतल संसद पुनःस्थापना गर्यो । एउटै प्रकृतिको संसद विघटनमा २०५१ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद बिघटन गर्दा सदर गरेको अदालतले मनमोहनको सिफारिश बदर गरिदियो । त्यसपछि कांग्रेसले मनमोहन सरकार हटाउन गरेको घृणित खेलको कुनै सीमा रहेन । भनिसाध्य पनि छैन । प्रधानमन्त्रीको हैसियतमा पश्चिम नेपालमा सञ्चालित योजना अवलोकन गर्न गएको वेला हेलिकप्टर दुर्घटनामा परी बाँच्नुभयो ।

हेलिकोप्टर दुर्घटनाबाट बचेर त्रिबि शिक्षण अस्पतालमा सैय्यामा रहेकै अवस्थामा कांग्रेसले अविश्वाको प्रास्ताव ल्यायो र अस्पतालको बेडबाटै जवाफ दिन बाध्य पारी सरकारबाट बिस्थापित गर्यो । माओवादी सशस्त्र युद्ध सुरु गर्ने आधार नै यही बन्न पुग्यो । मनमोहन सरकार हटेको केही समयपछि नै माओवादी जनयुद्ध सुरु भएको घटना यहाँ स्मरण गर्न जरुरी छ । मनमोहन सरकार नहटाएको भए जनयुद्ध सुरु नै हुने थिएन ।

उहाँसँगै अहिलेका नेकपा एमालेका अध्यक्ष जो गृहमन्त्री हुनुहुन्थ्यो, केपी शर्मा ओली र तात्कालिन एमालो उपमहासचिव बामदेव गौतम पनि घाइते हुनुभएको थियो । दुर्घटनाबाट बचेर त्रिबि शिक्षण अस्पतालमा सैय्यामा रहेकै अवस्थामा कांग्रेसले अविश्वाको प्रास्ताव ल्यायो र अस्पतालको बेडबाटै जवाफ दिन बाध्य पारी सरकारबाट बिस्थापित गर्यो । माओवादी सशस्त्र युद्ध सुरु गर्ने आधार नै यही बन्न पुग्यो । मनमोहन सरकार हटेको केही समयपछि नै माओवादी जनयुद्ध सुरु भएको घटना यहाँ स्मरण गर्न जरुरी छ । मनमोहन सरकार नहटाएको भए जनयुद्ध सुरु नै हुने थिएन । यति धेरै नेपालीले आफ्नो ज्यान गुमाउनु पर्ने नै थिएन । कसैलाई मन खिन्न भए पनि यो सच्चाइलाई आजको दिन राख्नैपर्छ ।

२०५६ सालको प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भ उहाँ‘लाई पार्टीले आगामि प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको थियो । उहाँ‘ काठमाडौंको १ र ३ वाट नेकपा एमालेको तर्फवाट उम्मेदवार हुनुहुन्थ्यो । २०५६ साल वैशाख ६ गते काठमाडौं क्षेत्र नं १ अन्तर्गत गोठाटारको चुनावी कार्यक्रम सकेर घर फर्कने क्रममा मञ्चमै उहाँ ढल्नुभयो । पङ्तिकार आफै पनि त्यो दिन तत्कालिन काठमाडांै क्षेत्र नं २ को सुन्दरीजलको माथिल्लो भाग ओख्रेनीमा उम्म्मेदवार विद्यादेवी भण्डारीसहित निर्वाचनको प्रचरा प्रशारको क्रममा घरदैलो कार्यक्रममा सहभागी थिएँ ।

अहिले जस्तो मोवाईल फोनको सुविधा थिएन । करिव दिनको १ः०० वजेतिर विद्या भण्डारीलाई खवर आयो र हामी सवै जना त्यतैवाट त्रिबि शिक्षण अस्पताल पुग्यौं । स्थिति अन्यौल नै थियो, उहाँ मृत्युसँग संघर्ष गरिरहनु भएको जानकारी पाएका थियौं । हामी उहाँको स्वास्थ्यलाभको प्रार्थना गरेर घर फर्कियौ । अन्तत्वगत्वा २०५६ साल वैशाख १३ गते अर्थात आजकै दिन उहाँ‘को निधन भएको घोषणा गरियो । पशुपती क्षेत्र त्यो वेला काठमाडौं निर्वाचन क्षेत्र २ नम्वरमा रहेकोले सोही क्षेत्रकों कार्यकर्ता भएको कारण हामीलाई घाटको कामको व्यवस्थापनको जिम्मा थियो । यसरी एउटा जनप्रिय, विकासप्रेमी, आदर्श पुरुषको देहवशान भयो ।

उहाँँको सपना र सोच पूरा गर्न नेकपा एमाले यतिबेला बलियो राष्ट्रिय शक्ति निर्माण गर्दै पूर्ण लोकतन्त्रिक पद्धतिवाट वहुमतको सरकार गठन गर्ने दिशातर्फ उन्मुख छ । आजको दिन यो अभियान पूरा गर्ने दृढ संकल्पसहित आराम हराम हो बेस्सरी काम गर्नाेस भन्ने उर्जावान जीवन र मलाई नेताका रुपमा होइन, एउटा असल नागरिकका रुपमा बुझिदिए पुग्छ भन्ने दर्शनअनुसार अघि बढने अठोट हामी सवैले गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । आजको दिन यही अठोटसहित आदर्श जीवनका राजनेता कमरेड मनमोहन अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली !

(लेखक थापा प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीका अध्यक्ष हुनुहुन्छ-सं)