जनता टाइम्स

१९ बैशाख २०८१, बुधबार १६:३९

सुहाङले युवाहरूलाई दिएको त्यो सन्देश !


यसिमा महत/काठमाडौं । सुहाङ नेम्वाङ इलाम–२ मा भएको उपनिर्वाचनमा प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । चुनावी सभा होस् वा पत्रकारले सोधेको प्रश्नहरूमा उहाँले ‘अबका युवाले यो बुझ्नु पर्छ’ भन्दै बारम्बार एउटा कुरा दोहोर्याउनुभयो । कतिले हेक्का गरे थाहा भएन, तर सबैले बुझ्नु पर्ने कुरा थियो । नेपालमा मात्र होइन विश्वका अधिकांश देशमा चुनावी राजनीतिक प्रतिस्पर्धामा एक पक्षले अर्को पक्षको खोइरो खन्छन् ।

नभएको कमजोरी देखाएर मतदाता भ्रमित पार्न खोज्छन् । नेपालका कतिपय ठाउँमा त यति नगरे ‘यो उम्मेदवार बोल्नै जान्दैन’ भन्ने अर्थ लगाउँछन् । सुहाङले बहुत शालिनतापूर्वक भन्नुभयो,‘अरूले के भने भनेर त्यसको जवाफ दिएर बस्नुभन्दा आफ्नो बाटो हिड्ने, आफ्नो काम गर्ने हो । नभए नयाँ पुस्तामा के भिन्नता रह्यो र ?’

चुनावी अवधिभर मात्र होइन, विजयी र्यालीमा पनि उहाँ हौसिएको देखिनुभएन । शान्त, सौम्य देखिनुभयो, आम उम्मेद्वार विपरीत उहाँले भन्नुभयो,‘म सबैलाई भेट्न चाहन्छु, उहाँहरूका योजनालाई पनि मिसाएर एउटै बनाउन चाहन्छु । उहाँहरूको पनि साथ, सहयोग मलाई चाहिन्छ ।’ उहाँले न कसैलाई होच्याउनुभयो, न त बडप्पन देखाउनुभयो ।

‘नआत्तिने र नमात्तिने’ उहाँले व्यवहारमै देखाइदिनुभयो । निर्वाचन अवधिमा उहाँलाई कतिपय पत्रकार, प्रतिस्पर्धी दलका दिग्गज भनिएका नेता गगन थापादेखि रवि लामिछानेसम्मले व्यक्तिगत आक्षेप पनि लगाउन भ्याए । जसले जति उत्तेजित बनाउन खाजे पनि उहाँ उत्तेजित हुनुभएन ।

हो, यही कारण आजका पुस्ताका लागि सुहाङ ‘आइडल’ भएर प्रमाणित गरिदिनुभयो । उहाँलाई सबैभन्दा बढी लागेको ‘राजाका छोरा राजा’ भन्ने आक्षेप थियो । निर्वाचन प्रचारकै दौरानमा पत्रकारसंगको अन्तरक्रियामा एकजनाले उहाँलाई सोधे– तपाईँलाई त ‘राजाको छोरा राजा’ भन्छन् नि ! उहाँको उत्तर थियो ‘मलाई कसैले यो प्रश्न गरिदिए हुन्थ्यो भन्ने लागेको थियो, धन्यवाद छ तपाईलाई !’ उहाँले थप्नुभयो,‘हाम्रै पार्टीभित्र पनि धेरै साथीहरूको दाबी थियो । तर, पार्टीले मलाई पठायो र म जन अदालतमा आएको हुँ । इलामेली जनताकोबीचमा आएको छु, हाम्रो पार्टीको नीति नै छ प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने ।’

हिँड्दा, डुल्दा, सेल्फी खिच्दा उहाँ सजग हुनुभएको देखिन्थ्यो । उहाँले पटक–पटक दोहोर्याउनुभएको कुरा हो, युवाहरूले फरक हुनुपर्छ, फरक गर्नुपर्छ । हो, देशका निमित्त युवाहरूले पक्कै पनि फरक ढंगले फरक शैलीले सोच्नुपर्छ । त्यसको सुरुवात एमालेका प्रशिक्षित युवापंक्तिले नै गर्नुपर्छ । जसको श्रीगणेश सुहाङले गरिसक्नुभएको छ ।

उहाँले राजाको छोरा राजा भन्ने शब्द उच्चारणै नगरी यत्ति भन्नुभयो । कतिपयलाई लाग्न सक्ला माथिको प्रश्नको उत्तर कसरी आयो त ? पहिलो कुरा त राजा जननिर्वाचित हुँदैनन् । राजाका छोरा राजा पनि निर्वाचित जनप्रतिनिधि होइनन् । राजाका छोरालाई राजा हुन निर्वाचनमा गएर मतदाता रिझाउनु पर्ने आवश्यकता पर्दैन । माथिको उहाँको उत्तरले ठूलोस्वरमा मुख विगार्दै घाँटीका नसा फुलाएर ‘म राजाको छोरा राजा कसरी भएँ रु’ भनिरहनु पर्यो त । शालिन तर्कले नै विपक्षीलाई लज्जित पार्न सकिदो रहेछ नी ! त्यस्तै सुहाङको शालिनतापूर्वक जवाफ दिने अर्को उदाहरण हो– पत्रकारले उहाँलाई सोधें ‘तपाईलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि उम्मेदवार हुन अफर आएको होइन ?’ सुहाङले भन्नुभयो,‘रास्वपाबाट मलाई अफर आएको पक्कै पनि हो ।’

फेरि पत्रकारले सोधे– रास्वपाका नेता रवि लामिछानेले पनि हिजो चुनावी सभामा तपाईलाई राजाको छोरा राजा हुन खोजेको भन्ने आक्षेप लगाए, तपाईको के भनाई छ रु’ उहाँले उस्तै शालिनतापूर्वक जवाफ दिनुभयो,‘रवि दाई मलाई राम्रो मान्छे लाग्छ । उहाँले के भन्नुभयो, उहाँले नै जवाफ दिने कुरा हो ।’ सबैलाई थाहा थियो संगठनात्मक हिसावले पनि इलाम–२ एमालेको किल्ला हो र एमाले उम्मेदवार नै मुख्य प्रतिस्पर्धी हो ।

त्यसैले हाम्रो नेपाली परम्परा अनुसार एमाले उम्मेदवार सबैको ‘तारो’ हुनु स्वभाविक थियो । सामान्य जस्तो तस्तालाई त्यस्तै जवाफ दिन खोजेको भए जिब्रो चिप्लन पनि सक्थ्यो । ‘ट्रोल’ बनाउन सक्थे । सुहाङले त्यस्तो अवसर नै दिनुभएन कसैलाई । हिँड्दा, डुल्दा, सेल्फी खिच्दा उहाँ सजग हुनुभएको देखिन्थ्यो । उहाँले पटक–पटक दोहोर्याउनुभएको कुरा हो, युवाहरूले फरक हुनुपर्छ, फरक गर्नुपर्छ । हो, देशका निमित्त युवाहरूले पक्कै पनि फरक ढंगले फरक शैलीले सोच्नुपर्छ । त्यसको सुरुवात एमालेका प्रशिक्षित युवापंक्तिले नै गर्नुपर्छ । जसको श्रीगणेश सुहाङले गरिसक्नुभएको छ ।