माधव नेपालले बुझ्नु पर्दछ, वर्तमान सत्ता गठबन्धन कुनै तासको घर होइन, उहाँले फू गर्दा ढलोस्। सिसाको घरमा बसेर जथाभावी ढुङ्गा बर्साउँदा ती ढुङ्गा आफैंतिर फर्केमा सम्हालिन उहाँलाई गाह्रै पर्ला ।
निर्मल भट्टराई
जननेता मदन भण्डारीको रहस्यमय दासढुङ्गा दुर्घटनामा देहान्त भएपछिका लगातार डेढ दशक नेकपा एमालेको शक्तिशाली महासचिव बनेका माधव नेपाल आज एउटा सानो वामपन्थी नाङ्लो पसल खोलेर प्रधानमन्त्री पदको मृगमरीचिकामा दौडिरहनु भएको छ । कुनैबेला एमालेलाई चोइट्याएर ठूलै शक्ति आर्जन गर्ने हुङ्कार बोकेका वहाँ आज बालकोट नेतृत्वको वामपन्थी गठबन्धनसँग रमाउन सक्नुभएको छैन, बरू आफ्ना पूर्वमायालु बुढानिलकण्ठसँग इलुइलु बढाउँदै हुनुहुन्छ । वर्तमान गठबन्धनमा आफ्नो समूहका नेताहरूलाई सङ्घीय मन्त्री, मुख्य मन्त्री बनाउने तर विपक्षीसँग रहस्यमय साँठगाँठ गर्ने विचित्रको व्यवहार देखाउँदै हुनुहुन्छ।
सत्रौं शताब्दीका चर्चित अङ्ग्रेजी साहित्यकार अलेक्ज्यान्डर पोपले भनेका थिए, ‘मानवजातिले अहिलेसम्म गरेको अध्ययन मान्छेको अध्ययन हो।’ कुनैबेला यस्तो लाग्दथ्यो, मदनको अभावमा मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको प्रमुख नेपाली संवाहक यिनै माधव नेपाल हुन् । कम्युनिष्ट आन्दोलनलाई सही दिशामा नेतृत्व प्रदान गरेर देशलाई समाजवादतर्फ यिनैले डोहोर्याउँछन् । तर लाखौंलाख एमालेजनले देशको मुक्तिको नेतृत्वकर्ता ठानेको, आदरणीय ठानेको र रोलमोडल ठानेका व्यक्ति आफ्नो आदर्श, महान लक्ष्य र श्रमजीवी वर्गको अपेक्षा भुलेर देउवाले देखाइदिएको प्रधानमन्त्री पदको मृगमरीचिकाको पछि स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै दौडने पात्रको रुपमा पाउँदा उनीहरू मान्छे चिन्न नसकेकोमा ग्लानी गर्छन् ।
मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले एकपटक भनेका थिए,‘तपाईं र म जे गर्छौं, त्यसका पछाडि प्रमुख दुई कारण छन्स् असीमित यौन चाहना र महान हुने असीमित चाहना।’ दुई-दुई स्थानबाट संविधानसभा सदस्यमा पराजित भएपछि गिरिजा कोइराला र प्रचण्डको सहमतिमा मनोनित संविधानसभा सदस्य बनेका र गिरिजाकै जोडबलमा एकपटक प्रधानमन्त्री बनेका माधव नेपाललाई सोही पद प्राप्त गर्ने असीमित चाहना भएको छ । यस्तो लाग्दछ, उहाँको अन्तिम घिड्घिडो फेरि एकपटक प्रधानमन्त्री बन्नु हो।
सोह्रौं शताब्दीमा विख्यात अंग्रेजी साहित्यकार क्रिष्टोफर मार्लोद्वारा लिखित ‘डक्टर फस्टस’ नामक वियोगान्त नाटकको प्रमुख पात्र ‘डक्टर फस्टस’को नियतिजस्तै छ माधव नेपालको नियति । डक्टर फस्टसको कथा यस्तो छः डक्टर फस्टसले तन्त्रविद्या पढेको थियो । त्यही तन्त्रविद्यामार्फत् ऊ मेफिस्टोफिलिस हुँदै लुसिफरको सङ्गतमा पुग्यो । डक्टर फस्टस र लुसिफरको बीचमा एउटा सम्झौता भयो । २४ बर्षसम्म राक्षसहरुले डक्टर फस्टसलाई उसले चाहेको शक्ति, भौतिक र विषय सुखसुविधा उपलब्ध गराउने र २४ बर्षपछि उसको जीवन ती लुसिफरहरुलाई सुम्पनु पर्ने भयो ।
फस्टसले समकालीन राजाजस्तै शक्तिशाली भएको हेर्न चाह्यो । उनीहरुले त्यो इच्छा पुर्याइ दिए । उसले त्यो सिजनमा पाइँदै नपाइने मौसममा अङ्गुरको झुप्पा माग्यो । उनीहरुले त्यो पुर्याइ दिए । दश हजार बर्ष पहिलेकी विश्व सुन्दरी हेलेनसँग उसले मायाप्रीति गाँस्न चाह्यो । उसको त्यो अनौठो इच्छा पनि उनीहरुले जसो तसो पूरा गरि दिए । सम्झौताबमोजिम २४ बर्ष पुग्नै लाग्दा लुसिफरका मानिस उसलाई लिन आए । उसको त्यहीं वियोगान्त भयो ।
नेपाली कम्युनिष्ट आन्दोलनका एकमात्र नक्षत्र के पी शर्मा ओलीको सुझबुझपूर्ण एवम् भगीरथ प्रयत्नका कारण भर्खरै वाम-बाहुल्य गठबन्धन बनेको छ । एकताबध्द भइसकेको कम्युनिष्ट आन्दोलनबाट भागिसकेका प्रचण्डलाई सही मार्गमा हिडाउने, ‘सुखी नेपाली, समृध्द नेपाल’ अजेन्डासहितको वामपन्थी फ्लेवरको बजेट संसदमा पेस भइसकेको अवस्थामा यो गठबन्धनलाई कमजोर पार्ने प्रयास हुनु पटक्कै शोभनीय हुदैन । मार्क्स, लेनिन, पुष्पलाल, मनमोहन र मदन भण्डारीको फोटोमुनि बस्ने, कम्युनिष्ट पार्टीको माला जप्ने तर पदका लागि जोसुकैसँग जस्तोसुकै सम्झौता गर्न तयार हुने प्रवृत्तिको जति आलोचना गरे पनि कम हुन्छ।
माधव नेपाल कमरेडले जतिसुकै प्रयास गरे पनि वर्तमान गठबन्धन तत्काल भत्कने अवस्था छैन । बरू पदका लागि नेपाली कांग्रेससँग लुटुपुटु नगर्ने स्वभावका नेता झलनाथ खनाल,जो अहिलेको वाम(बाहुल्य गठबन्धनकै पक्षमा हुनुहुन्छ,ले एकीकृत समाजवादीको कमाण्ड समाल्ने र माधव नेपाल आफ्नै समूहभित्र एक्लो हुने परिस्थिति नहोला भन्न सकिन्न । माधवको पदमोहले सीमा नाघ्दै गर्दा प्रधानमन्त्री पद उहाँको कहिल्यै भेट नहुन पनि सक्छ।
माधव नेपालले बुझ्नु पर्दछ, वर्तमान सत्ता गठबन्धन कुनै तासको घर होइन, उहाँले फू गर्दा ढलोस्। सिसाको घरमा बसेर जथाभावी ढुङ्गा बर्साउँदा ती ढुङ्गा आफैंतिर फर्केमा सम्हालिन उहाँलाई गाह्रै पर्ला ।
प्रतिक्रिया दिनुहोस्