शिक्षा मन्त्रालयको तथ्यांकअनुसार क्यानडाका लागि १८.१, अस्ट्रेलियाका लागि १४.४, बेलायतका लागि १०.३, अमेरिकाका लागि ७.५ प्रतिशत एनओसी जारी भएका छन ।
काठमाडौं, जेठ ३१ । चालू आर्थिक वर्षको ९ महिनामा वैदेशिक अध्ययनमा मात्रै ९५ अर्ब ८५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ ।
गत आर्थिक वर्षको सोही अवधि (साउनदेखि चैतसम्म) को तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम साढे ४२ प्रतिशतले बढेको हो । गत चैतमा राष्ट्र बैंकले जारी गरेको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो तथ्यांक देखाएको छ । गत आर्थिक वर्षको ९ महिनामा यो शीर्षकमा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको थियो ।
पछिल्ला वर्षमा वैदेशिक अध्ययनका लागि नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको छ । यसको सकारात्मक असर रेमिट्यान्स आप्रवाहमा पनि परेको बिज्ञहरुको भनाई छ ।
गत आर्थिक वर्षमा अध्ययनका लागि मुलुकबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ४८ प्रतिशतले बढी हो । आर्थिक वर्ष ०७८/७९ मा विदेशमा अध्ययनकै लागि ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । आर्थिक वर्ष ०७५/७६ मा वैदेशिक अध्ययनका लागि ४६ अर्ब ३२ करोड र आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।
शिक्षा मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका आठ महिना (गत साउन देखि फागुनसम्म) ९० हजार १ सय ६९ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमति (नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन । गत आर्थिक वर्षमा १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले एनओसी लिएका थिए । आर्थिक वर्ष ०७८÷७९ मा १ लाख १२ हजार ९ सय ६८ जनाले विदेश पढ्न जान अनुमति लिएका थिए ।
बिगत १० वर्षको अवधिमा विदेश अध्ययनका लागि अनुमति लिने संख्या झन्डै तीन गुणाले बढेको शिक्षा मन्त्रालयको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७१/७२ मा ३० हजार ७ सय ९७ जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका थिए । पुराना विद्यार्थीका लागि पनि केही वर्षसम्म घरपरिवारले खर्च पठाउँछन् । यसकारण अघिल्लो वर्षको तुलनामा एनओसी लिनेको संख्या घटे पनि अध्ययनमा बाहिरिने रकम भने बढेको हो ।
गत साउनदेखि फागुनसम्म जारी भएका एनओसीमध्ये १० प्रमुख गन्तव्यमा मात्र ९४.१ प्रतिशत जारी भएको देखिएको छ । यसअनुसार सबैभन्दा धेरै ३३.१ प्रतिशत एनओसी जापानका लागि जारी भएको छ । शिक्षा मन्त्रालयका अनुसार क्यानडाका लागि १८.१, अस्ट्रेलियाका लागि १४.४, बेलायतका लागि १०.३, अमेरिकाका लागि ७.५ प्रतिशत एनओसी जारी भएका छन ।
प्रतिक्रिया दिनुहोस्