जनता टाइम्स

१४ श्रावण २०८१, सोमबार १०:१६

समस्या देखिएपछि व्यवस्थापन गर्ने हो, प्यान्डोराज बक्सको हाउगुजी देखाएर हुँदैन : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ


काठमाडौं, साउन १४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य र संबिधान संशोधनको बिषयलाई अग्रगमनको लागि तय गरिएको प्रष्ट रोडम्यामको संज्ञा दिनुभएको छ ।

नेकपा माओवादी केन्द्रसहितका केही दलहरु पश्चगमनका लागि कांग्रेस र एमाले मिलेको भन्दै कोकोहोलो मच्चाइरहेको बेला नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले देश बन्नु हुँदैन भन्नेहरुले मात्रै अहिलेको सत्ता गठबन्धनको बिरुद्धमा रहेको प्रष्ट मान्यता पनि अघि सार्नुभएको छ । जनताटाइम्स डटकमसँगको कुराकानीमा सञ्चारमन्त्री गुरुङले अभ्याशका क्रममा संबिधानमा देखिएको सुधारको पाटो र मुलुक अघि बढाउन आवश्यक कुरा ब्यवस्थापन गरेर जाने कामलाई प्रतिगामी भन्नु हास्यास्पद रहेको बताउनु भयो ।

‘अभ्याशको क्रममा देखिएको कुरालाई सुधार गर्ने सहमति, देशलाई अगाडि लैजाने कुरा, जनताको समस्या समाधान गरेर समृद्ध बनाउने कुरा कसरी पश्चगामी हुनछ ? यो त सिधासिधा जनता ढाँटेको कुरा भयो नि । यस्तो कुराको पछि लागेर उल्टै प्रमुख दल, सरकार, प्रधानमन्त्री र मन्त्रीलाई खेदने कुरा त उचित होइन,’ मन्त्री गुरुङले भन्नुभयो । मन्त्री गुरुङले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य आदिमा परिवर्तन गर्नुपर्नेछ । सुशासन कायम गर्दै विकास समृद्धिमा समस्या पैदा भएको, सामाजिक सुरक्षा प्रदान गर्न समस्या देखिएको हुनाले एक खालको व्यवस्थापन गर्ने स्थितिमा हामी छौं । अब प्यान्डोराज बक्सको हाउगुजी देखाएर हुँदैन । ’

उहाँले संबिधान संशोधनको कुरालाई तीन चार कोणबाट हेर्नुपर्ने बताउनु भयो । ‘संबिधान संशोधनलाई दुई–तीन कोणबाट हेरौं । संविधान अपरिवर्तनीय होइन । यसलाई जीवन्त र गतिशील बनाउने उपाय खोजी हुन्छ । संविधान गतिशील दस्तावेजले आफ्नो सामथ्र्य देखाउने, देश र जनताको आवश्यकता पूरा गर्ने हैसियत राख्नुपर्यो । जुन संविधान धेरैपल्ट संशोधन भएको छ, त्यसैको आयु लामो हुन्छ । अर्को कोण, कतिपयले भन्ने गरेका छन । संविधान संशोधनको मुद्दा २०७२ को संविधान बदल्न यो कुरा ल्याएको हो । यी पार्टी प्रतिगामी हुन लागे पनि भनेका छन । तर यो बेइमानीपुर्ण तर्क हो । जायज तर्क होइन,’ मन्त्री गुरुङले भन्नुभयो, ‘हामीले संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणालीबाट पछि फर्कन खोजेको हुँदै होइन । शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिलाई झन् कामकाजी बनाउनका लागि नै संशोधन हुने हो । मुलुकमा उत्पन्न द्वन्द्वको समाधान गर्न नै यी कुरा आएका हुन्, शासन प्रणाली समावेशी बनाउनुपर्छ भन्ने ठूलो माग थियो । प्रत्यक्ष प्रणालीमा परिवर्तन गरेर हामीले ६०–४० को अनुपातमा प्रत्यक्ष र समानुपातिक गरेको हो । मिश्रित प्रणाली नाम दियौं । अब संशोधन हुँदा यो हट्दैन ।’

एउटा नारा त भन्नुपर्यो नि ! अर्को पक्षलाई गाली गर्ने, तल पार्ने चलन नै छ यहाँ । प्रधानमन्त्रीज्यूले दोहोर्याएर भन्नुभएको छ, संशोधन गर्दा सहमतिमै हुन्छ । सरकारलाई समर्थन गर्ने दलहरूले दिएको बहुमत संविधान संशोधन गर्न पर्याप्त हो, तर संविधान संशोधन गर्दा माओवादी जस्तो संविधान बनाउने महत्वपूर्ण दल, अनि अरू दल समेतलाई सम्भव भएसम्म राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नेछौं । बलात् ढंगले अघि बढ्दैनौं ।

उहाँले संबिधानमा रहेका उपलब्धीलाई कसैले हटाउन नसक्ने र नेकपा एमाले त्यो कुरामा कहिल्यै सहमत नहुने पनि प्रष्ट पार्नुभयो । ‘त्यो उपलब्धि कतै जाँदैन । समस्या कहाँनेर हुन्छ भने मिश्रित प्रणाली अवलम्बन गरेका मुलुकमा हेर्दा, खासगरी स्क्यान्डिनेभियन मुलुक हेर्दा कसैलाई बहुमत प्राप्त गर्न हत्तपत्त गाह्रो हुने जस्तो देखियो । गठबन्धनका सहयात्री हुँदा त फरक परेन, नत्र निश्चित पार्टीलाई बहुमत पाउन समस्या भयो । बहुमत पाउन कुनै दललाई निर्वाचन प्रणाली बाधक नहोस् भन्ने एजेन्डा मात्रै हो,’ एमाले उपमहासचिवसमेत रहनुभएका मन्त्री गुरुङको भनाई छ ।

उहाँले पूर्वप्रधानमन्त्री प्रचण्डले संबिधान संशोधनको सहमतिलाई पश्चगमनको संकेत भनेको बिषयमा राजनीतिक स्टण्ड भन्नुभयो । ‘एउटा नारा त भन्नुपर्यो नि ! अर्को पक्षलाई गाली गर्ने, तल पार्ने चलन नै छ यहाँ । प्रधानमन्त्रीज्यूले दोहोर्याएर भन्नुभएको छ, संशोधन गर्दा सहमतिमै हुन्छ । सरकारलाई समर्थन गर्ने दलहरूले दिएको बहुमत संविधान संशोधन गर्न पर्याप्त हो, तर संविधान संशोधन गर्दा माओवादी जस्तो संविधान बनाउने महत्वपूर्ण दल, अनि अरू दल समेतलाई सम्भव भएसम्म राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नेछौं । बलात् ढंगले अघि बढ्दैनौं । अधिकतम राष्ट्रिय सहमतिको प्रयास हुन्छ,’ सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार मन्त्री गुरुङले भन्नुभयो ।

मन्त्री गुरुङले गठबन्धन बदल्न निहुँ पारेको भन्ने माओवादी तर्क पनि सही नरहेको बताउनु भयो । ‘ गठबन्धन बदल्न निहुँ पारेको भन्नेहरूको मुख थुन्न सकिन्न । यो खुला र पारदर्शी लोकतन्त्र हो । कसैले केही भन्यो भनेर तर्सिनुपर्ने केही छैन,’ मन्त्री गुरुङले थप्नुभयो । मन्त्री गुरुङले बर्तमान सरकार अरु कसैले बनाइ दिएको भन्ने कुरा गरेर आफ्नो हैसियत आफै घटाउने काम नेताहरुले गरेको टिप्पणी पनि गर्नुभएको छ ।

माओवादी नेताहरूले तपाईंहरूको सरकार बिचौलियाले बनाइदिएको सरकार हो, यसले बिचौलियाकै लागि काम गर्छ भनेका छन नि भन्ने प्रश्नमा सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘उहाँहरू जत्तिको नेताले भोलि के ठहरिन्छ, ठहरिन्न भनेर बोल्नुपर्ने हो । अहिले कार्यकर्तालाई प्रभावित पार्न सस्तो कुरा बोल्ने होइन । ’