रामेछाप, भदौ १५ । दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्ककी १९ वर्षकी कविता पहरी एक महिनाकी सुत्केरी हुनुहुन्छ । तातोमा बस्नु पर्ने, आमा र बच्चा दुवैलाई सेक ताप गर्नुपर्ने, कम्तीमा दिनमा चार पटक त पोसिलो खाना नै खानुपर्ने । खाना र सेक तापको त के कुरा यतिबेला कविताको बस्ने ठाउँको समेत ठेगान छैन ।
कविता मात्रै होइन अन्य सुत्केरी आमाको पीडा पनि उस्तै छ । अहिले नौ जना सुत्केरी तथा बच्चा भएका आमाहरू एउटा घरमा शरण लिएर बस्दै आएका छन् । अरू विस्थापित टोकरपुरकै अर्को घरमा शरण लिएर बसेका छन । शरण लिएर बस्ने सुत्केरी, महिला, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था निक्कै कष्टकर र बेहालपूर्ण छ । उनीहरूको दैनिकी अस्तव्यस्त छ ।
दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा भदौ ८ गते राति गएको पहिरोको कारण विस्थापित कविता कोक्रोमा एक महिनाको नानी बोकेर दिनभर खुल्ला आकाशकै पानी मुनीको चिसोमा घुमिरहनु हुन्छ अनि साँझ टोकरपुमा स्थानीय दिएको आश्रयमा ओत लाग्न पुग्नुहुन्छ । प्रैस चौतारी नेपालका केन्द्रीय सदस्इ एवं रामेछाप इञ्चार्ज पत्रकार नवराज पथिकका अनुसार कवितालाई त्यो ओत पनि दुई दिनसम्मको विद्यालयको कोठाको सामूहिक बसाईपछि प्राप्त भएको हो ।
‘बस्ने ठाउँको त ठेगान छैन, कहाँ आगो बाल्नु, कता सेक ताप गर्नु’, कविताले भन्नुभयो । सात जनाको ज्यान लिने र तीन जना बेपत्ता बनाउने गरी आएको लेखर्कको पहिरोको कारण लेखर्कका ६३ घर परिवार विस्थापित भएका छन । घर छाडेर दुई दिनसम्म कण्ठेश्वर मावि टोकरपुरको कक्षा कोठामा बसेका १ सय ४३ जना विस्थापित त्यहाँको बसाई असहज भएपछि टोकरपुरका स्थानीयका खाली घरमा शरण लिएर बसेका छन् ।
पहिरोको त्रासदीपूर्ण रात भुल्न नसकेका पहिरो पीडितलाई अहिले बासको चिन्ताले थप सताएको छ । पहिरो गएको रात रात भरी खुल्ला आकाश मुनि भिजेर बसेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अनुहार सुन्निएको छ । अकल्पनीय तरिकाले गाउँ बगेर आफ्नै आँखा अगाडि स्थानीय पुरिएको त्रास उनीहरूको आँखाबाट भागेको छैन । त्यो त्रासले उनीहरूलाई न भोक छ, न निन्द्रा छ । त्यही रातको घटनाले आफूहरूलाई सताइरहेको कविता, मिनुका र सरिता पहरी बताउनुहुन्छ । साना साना बच्चाका यी आमाहरू यो विपतमा कसरी बच्चालाई जोगाउने भन्ने चिन्तामा हुनुहुन्छ ।
पहिरोले लेखर्कलाई पुरै क्षत विक्षत बनाएको छ । ठाउँ ठाउँमा पहिरो गएको छ, ढिस्को झरेको छ, कति बेला फेरी अर्को पहिरो जाने हो कुनै ठेगान छैन । पाँच वटाबाहेक गाउँका अरू घर त ठाडै छन् । तर ती घरमा बस्ने आँट स्थानीयलाई छैन । घरमा नै बस्दा केही हुँदैन भन्न सक्ने स्थिति पनि नरहेको नेकपा एमालेका नेता तथा दोरम्बा शैलुङ गाउँपालिका–३ का वडा सदस्य तुलप्रसाद कँडेल बताउनुहुन्छ ।
पहिरोको पीडाले स्थानीयको आँखामा आशु रोकिएको छैन । पहिरोबाट आफू बच्न सफल भएको भए पनि बारी, गोठ, भैँसी तथा बाख्रा सबै बगाएको गोमा पहरीले सुनाउनुभयो । पहिरो पीडित ज्येष्ठ नागरिकहरूको आँखामा आँसु छ भने युवामा एक खालको त्रास र भविष्यको चिन्ता छ । अब कता जाने, के गर्ने केही निर्णय गर्न सकेका छैनन् स्थानीयले । स्थानीयहरू पहिरोको डरले विस्थापित भएर टोकरपुका विभिन्न घरमा शरण लिएर बसिरहेका छन ।
पहिरो गएपछि दुई दिनसम्म विस्थापितलाई कण्ठेश्वर मावि टोकरपुरको तीनवटा कक्षा कोठामा राखिएको थियो । तीनवटा कोठामा १ सय ४३ जनालाई एकै ठाउँमा राख्दा खानेपानी, शौचालय लगायतको समस्या भएपछि पीडितहरू गाउँका खाली घरहरू खोजेर बस्न लागेका छन ।
उता पहिरो गएको एक हप्ता बित्दा पनि पीडितलाई अस्थायी बसोबासको व्यवस्था समेत दोरम्बा शैलुङ गाउँपालिकाले गर्न सकेको छैन । गाउँपालिका काममा भन्दा पनि कुरामा नै व्यस्त रहेको घटनास्थल पुगेर फर्कनुभएका पत्रकार नवराज पथिकको निश्कर्ष छ ।
गाउँपालिकाका जनप्रतिनिधि पीडितलाई तत्काल व्यवस्थापन गर्ने भन्दा पनि राहत कोषमा कसरी धेरै रकम सङ्कलन गर्ने र आफूले सहयोग गरेको भन्दै जस लिन सकिन्छ भन्ने दाउमा छन् । त्यसैले एकद्वार प्रणालीबाट बाहेक सहयोग गर्न नदिने भन्दै पीडितसम्म सहयोगीलाई जानबाट समेत रोक लगाउने काम गरिएको छ । स्थानीय जनप्रतिनिधिको रोहवरमा सहयोग गर्न चाहनेलाई समेत गाउँपालिकाले रोक लगाएको छ ।
एकद्वार प्रणालीबाट सहयोग गर्ने भन्ने गाउँपालिकाले विस्थापितलाई राख्ने अस्थायी ठाउँको टुङ्गो समेत लगाउन सकेको छैन । बाढी पहिरोले लेखर्क मात्र होइन सो गाउँपालिका भरी नै क्षति पुर्याएको छ । थप पानी प¥यो भने अझ बढी क्षतिको जोखिम छ । त्यसको कुनै तयारी स्थानीय सरकारले गरेको छैन । यस्तै पहिरोले गाउँपालिका भरिकै खानेपानीका मुहान बगाएको छ । त्यस्तै अधिकांश सिँचाइ कुलाहरू बगाएको छ भने स्थानीय सडक तथा पक्की पुल बगाएको छ ।
प्रतिक्रिया दिनुहोस्