काठमाडौं, असोज २९
गैर आवासीय नेपाली संघ (एनआरएनए) को ४२ पदका लागि आज निर्वाचन हुने भएको छ । निर्वाचन समितिका अनुसार मनोनयन दर्ता सकिएपछि निर्वाचनको कार्यतालिका सार्वजनिक हुनेछ ।
मनोनयन दर्ता दिउँसो १२ बजेसम्म खुला रहनेछ । विभिन्न देशबाट २५ सय प्रतिनिधिको सहभागिता रहेको सम्मेलनले ४२ पदका लागि मतदान गर्नेछन् । मंगलबार राति नै मतादाताको नामावली सार्वजनिक गरिएको छ । बुधबार विद्युतीय मेसिनबाट मतदान हुने र मतदान सकिएको एकघण्टाभित्र नतिजा सार्बजनिक हुनेछ ।
अध्यक्ष पदमा उम्मेदवारका रूपमा हालका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य देखिएका छन् । दुवैजना भोट माग्न व्यस्त देखिन्छन् । सबैजसो पदमा निर्वाचन हुने सम्भावना छ । उमेदवारहरू भोट माग्न र एजेन्डा बताउन सक्रिय देखिन्छन् ।
दुई समुहमा उम्मेद्धार यस्ता छन्
पन्त समुहमा को– को छन् ?
दुई–दुई पटकसम्म उपाध्यक्षमा बनेका जर्मनी निवासी व्यवसायी कुमार पन्तले यसपटक अध्यक्षको दाबी गर्नुभएको छ । पन्त समूहलाई नेकपा निकटका रुपमा चिनिँदै आएपनि कांग्रेसका निकट मानिएका पनि यो समुहमा रहेकाले पार्टीगत भन्दा स्वतन्त्र समुह जस्तो देखिन्छ ।
पन्त समूहबाट उपाध्यक्षमा डा. बद्री केसी (रसिया), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम), सोनाम लामा (अमेरिका) र धर्मराज अधिकारी (अष्ट्रेलिया) छन् । उपाध्यक्षमा श्रेष्ठ अध्यक्षका प्रत्यासी कुमार पन्त र कुल आचार्यसँगै लामो समय एनआरएनमा काम गरेका अभियन्ता हुनुहुन्छ । श्रेष्ठलाई जित्नै पर्ने सूचीमा मतदाताले राखेका छन । उहाँ निकै बलियो उम्मेद्वार हुनुहुन्छ ।
यसैगरी महिला उपाध्यक्षमा सपिला राज भण्डारी (रसिया) छन । पन्त समूहले महासचिवमा बेलायत निवासी प्राध्यापक डा. हेमराज शर्मालाई अघि सारेको छ । सचिवमा अमेरिका निवासी गौरी जोशी, बेलायतकी शुष्मा राई, शिवकुमार बरुवाल (बेल्जियम) र मध्यपूर्वका राजेन्द्र कुमार शर्मा (आरके) मध्ये एकलाई उतार्ने प्रयास भइरहेको बताइन्छ । एनआरएनएमा निकै हक्की र काममा अब्बल राईलाई कुल आचार्य समुहले पहिलो नम्बरमा राखेको छ ।
एनआरएनए विधानअनुसार २ जना सचिवमा निर्वाचित हुनेछन् । पन्त समूहबाट कोषाध्यक्षमा जापानका सुदन थापाले उमेद्वारी घोषणा गरेका छन् । पन्त समूहबाट सह–कोषाध्यक्षमा लोकप्रसाद दाहाल (बेल्जियम), गोबिन्दप्रसाद गौतम (रसिया) र एसी शेर्पा (अमेरिका) ले दाबी गरेका छन् । तर, अन्तिम समयमा आएर दाहाल वा गौतम मध्ये एकलाई अघि बढाउने निर्णयमा पुगेको पन्त निकटस्थहरुको भनाइ छ । यसअघि शेर्पालाई जिताउन पूर्वअध्यक्ष शेष घलेसँग पन्तले सहमति जनाएकोबारे चर्चा चलेको थियो ।
आचार्य समूहमा को–को ?
बेलायत निवासी व्यवसायी कुल आचार्य आफ्नो टिमसहित चुनावी मैदानमा उत्रिएका छन् । संघका वर्तमान उपाध्यक्ष रहेका आचार्यले अन्तिम समयमा आएर पन्तलाई टक्कर दिएका हुन् ।
प्रजातान्त्रिक विचारधारका आचार्यको समूहलाई कांग्रेस निकटका रुपमा हेरिएको छ । आचार्यको समूहबाट पाँच उपाध्यक्षमा डा. केशव पौडेल (अमेरिका), मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व) र रबिना थापा (अमेरिका) लाई अगाडि सारिएको छ । यस्तै आचार्य समूहबाट महासचिवमा बेल्जियम निवासी व्यवसायी जानकी गुरुङलाई अघि सारेका छन् । गुरुङ एनआरएनएकी वर्तमान सचिव हुन् ।
यस्तै वर्तमान सहकोषाध्यक्ष सोम सापकोटाले आचार्य समूहबाट कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । अन्य पदका उम्मेदवारहरुलाई भने आफूलाई सघाउने शर्तमा आन्तरिक सहमति भएको आचार्य निकटस्थ स्रोतको दाबी छ ।
लाखौं खर्चने मात्र उम्मेद्धार बन्न पाउने !
एनआरएनएको नेता बन्न लाखौं खर्च गर्नुपर्ने भएको छ । निर्वाचन हुने ४२ पदमध्ये सबैभन्दा कम क्षेत्रीय महिला तथा युवा संयोजकको लागि दुई लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ। कुनै एक पदका लागि चार जनासम्मको उम्मेदवारी देखिएको छ भने कतिपय पदमा निर्विरोध हुने सम्भावाना छ। एक पदमा दुई जनाको उम्मेदवारी हेर्ने हो भने गैर–आवसीय नेपाली संघको ४२ पदाधिकारीमा तीन करोड ३६ लाख रुपैयाँ शुल्क उठ्ने देखिन्छ। त्यस्तै‚ आईसीसी सदस्य र प्रतिनिधिको शुल्क समेत जोड्दा निर्वाचनमा पाँच करोड रुपैयाँभन्दा बढी रकम उठ्ने गर्छ।
कुन पदका लागि कति शूल्क ?
प्रमुख निर्वाचन आयुक्त शिव रिजालका अनुसार अध्यक्षका लागि १० लाख (निर्वाचित हुने १) , उपाध्यक्षको ७ लाख (निर्वाचित हुने ७), महासचिवको ६ लाख (निर्वाचित हुने १), सचिव र कोषाध्यक्षको ५ लाख (निर्वाचित हुने २–१), सहकोषाध्यक्षको ४ लाख (निर्वाचित हुने १), महिला तथा युवा संयोजकको ३ लाख ५० हजार (निर्वाचित हुने १–१–१) , क्षेत्रिय महिला तथा युवा संयोजकको २ लाख ५० हजार (निर्वाचित हुने १–१), क्षेत्रीय संयोजक ३ लाख ५० हजार (निर्वाचित हुने ६), क्षेत्रीय संयोजक उपसंयोजक २ लाख ५० हजार (निर्वाचित हुने १२) क्षेत्रीय महिला र युवा संयोजक २ लाख ५० हजार (निर्वाचित हुने १२)।
प्रतिक्रिया दिनुहोस्