जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार ०७:४६

सभामुख चयनका लागि नेकपाद्वारा गृहकार्य शुरु


काठमाडौं, कात्तिक १

कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिनुभएपछि अब कुन दलबाट को सभामुख बन्ने अनौपचारिक गृहकार्य सुरु भएको छ ।

सभामुखका लागि विभिन्न दलबाट विभिन्न नेताको चर्चा चलिरहेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै तर्फबाट सभामुख बनाउने गरी पार्टीमा छलफल सुरु भएको जनाइएको छ । संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुव्र्यवहारको आरोप लगाएपछि तत्कालीन सभामुख महराले राजीनामा दिएसँगै सभामुख पद रिक्त भएको हो ।

नेपालको संविधानमा सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने प्रावधान छ । सुरुमा सभामुख र उपसभामुख नियुक्त हुँदा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) छुट्टाछुट्टै दल थियो तर अहिले दुई दल मिलेर नेकपा भएपछि सभामुख र उपसभामुख कसरी बाँडफाँट गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।

उपसभामुख पनि नेकपाकै रहनुभएकाले के गर्ने विषयमा पार्टीभित्र परामर्श भइरहेको छ । उपसभामुखलाई राजीनामा दिन लगाएर सो पद अर्को दललाई दिने र सभामुख नेकपाले लिने भन्ने विषयमा पनि नेकपाभित्र छलफल भइरहेको कतिपय नेताको भनाइ छ ।

तत्कालीन अवस्थामा माओवादी केन्द्रका तर्फबाट महराले सभामुख र एमालेका तर्फबाट शिवमाया तुम्बाहाङ्फे उपसभामुख बन्नुभएको थियो । नियुक्त हुने नयाँ सभामुख पनि तत्कालीन माओवादी केन्द्रकै तर्फबाट हुनपर्ने पार्टीमा दबाब छ । तत्कालीन एमालेले पनि सभामुखका लागि दाबी गरिरहेको छ । यी विषयमा पार्टीभित्र आन्तरिक छलफल भए पनि नेताहरूले कुनै कुरा बाहिर ल्याउनुभएको छैन ।

सचिवालय सदस्य झलनाथ खनालले सभामुखका बारेमा पार्टीमा औपचारिक छलफल सुरु नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “साथीहरूले अनौपचारिक रूपमा चर्चा गरे पनि औपचारिक छलफल भएको छैन । समय आएपछि विधि र प्रक्रिया पु¥याएर सभामुख चयन गरिने छ । ” नेकपाले बुधबार आयोजना चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै सचिवालय सदस्य खनालले अहिले सभामुखका लागि कसैले पनि औपचारिक दाबी नगरेकोसमेत बताउनुभयो ।

सचिवालयका अर्का सदस्य माधवकुमार नेपालले सभामुख पद खाली भएपछि अर्को चयन गर्ने आवश्यकता छ र त्यसको तयारी भइरहेको छ भन्नुभयो । स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने सभामुखका बारेमा पार्टीमा छलफल भइरहेको जानकारी दिनुभयो । सभामुख पद रिक्त भएकाले यसबारे पार्टीले चाँडै निर्णय गर्ने बताउँदै उहाँले तत्कालीन माओवादी केन्द्रको सभामुख भएकाले अब अर्को चयन गर्दा पनि सोही दलबाट हुनुपर्ने बताउनुभयो । पार्टीभित्र समायोजन हुँदा तत्कालीन पार्टीको आधारमा भागबन्डा भएअनुसार नै सभामुख हुनुपर्ने उहाँले तर्क गर्नुभयो । यद्यपि यसको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिइएको र अध्यक्षद्वयले चाँडै टुङ्गो लगाउनुहुने उहाँले बताउनुभयो । (गोरखापत्र)