विराटनगर, कात्तिक २१ । बिदेश भ्रमणको मोहले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी राजीनामा दिनुपरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गरेर अधिकारीले औपचारिक घोषणा गर्नुभएको छ ।
कोशी प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री अधिकारी कात्तिक ११ गते जापान जानभुएको थियो । कात्तिक १६ गते नेपाल फर्किनुभएका अधिकारीले भ्रमण कूटनीतिक मर्यादाविपरीत भनेर आलोचना भएपछि राजीनामा दिनुभएको हो ।
‘मैले नैतिकताका आधारमा राजीनामा दिएको हुँ । भ्रमणमा विवाद हुने देखेर मैले यो कदम चालेको हुँ । कसैले राजीनामा मागेर दिएको हैन,’ राजीनामापछि पत्रकार सम्मेलनमा अधिकारीले भन्नुभयो । मन्त्री अधिकारीलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो । अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मको कार्यक्रममा सहभागी हुनेगरी चाँजोपाँचो मिलाएर आयोजकले उहाँलाई बोलाएको थियो ।
पत्रकार सम्मेलनमा अधिकारीले दिनुभएको जानकारीअनुसार जापान भ्रमणको क्रममा भिसा २५ अक्टोबरमा लाग्यो । २७ अक्टोबर अर्थात कात्तिक ११ गते जापानका लागि उडनुभयो । तर, कार्यक्रममै नपुगी लगतै नेपाल फर्किनुभयो । आफू जापान पुगेपनि निम्ता गरिएको कार्यक्रममा सहभागी नभएको मन्त्री अधिकारीले बताउनु भयो । एक्लै सहभागी हुने भनेर हिँडेको कार्यक्रममा ‘मन्त्रालयका कर्मचारी हौं’ भन्दै तीन जना नक्कली सहभागी थपिएको उहाँले बताउनु भयो ।
टोकियोको कार्यक्रममा मन्त्रीको हैसियतमा एक्लै जाने र सम्पूर्ण खर्च आयोजकले बेहोर्ने जानकारी व्यवस्थापकले गराएको तर हङकङ पुगेपछि तीन जना ‘नक्कली सहभागी’ थपिएको अधिकारीको भनाई छ । भ्रमण दलको सदस्य भन्दै खोटाङका जनक राई, दावा शेर्पा र रसुवाका कञ्चन देवकोटा थपिएको अधिकारीले बताउनु भयो । उहाँका अनुसार तीनै जनासँग आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारीको परिचयपत्र थियो ।
एक्लै हिँडेको भ्रमण दलमा नक्कली कागजातसहित तीन जना थपिएपछि आफू झस्किएको र उनीहरुलाई साथमै लिएर नेपाल फर्किएको अधिकारीले बताउनु भयो । अधिकारीले हङकङ पुगेपछि दलालको समूहले आफूसँगै तीन जनालाई जापान पठाएको थाहा भएको बताउनु भयो । नक्कली कागजात बनाएर तीन जनालाई पठाएपछि जापान पुगेपनि कार्यक्रममा नपुगी विमानस्थलबाटै नेपाल फर्किएको अधिकारीले बताउनु भयो ।
‘मन्त्रालयका कर्मचारी त म चिन्छु । तीन जना परिचय गर्न आएपछि म झस्किँए । हङकङबाट फर्कन खोजें । तर, ट्रान्जिट भएकाले मिलेन। टोकियो पुग्नै पर्ने भयो,’ अधिकारीले भन्नुभयो, ‘कायक्रममा सहभागी हुन गइन । कार्यक्रममा गएको भए ती व्यक्ति उतै लुक्ने थिए । नेपाल फर्किएर प्रहरीको जिम्मा लगाएँ ।’ तीन जना नक्कली सहभागी र उनीहरुले बनाएको मन्त्रालयको परिचयपत्रका बारेमा आफूलाई थाहा नभएको समेत उहाँको भनाइ छ ।
नक्कली कागजात बनाएर तीन जनालाई हङकङमा आफूसँगै पठाएको थाहा पाएपछि त्यहीँबाट नेपाल प्रहरीको विशेष ब्युरोका डीआईजी राजन अधिकारीलाई जानकारी गराएको मन्त्री अधिकारीको भनाइ छ । उहाँका अनुसार ती व्यक्तिलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको छ ।
मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नगरी जापान जानुभएका मन्त्री अधिकारीले फर्किएर पदबाट राजीनामा दिनुपरको हो । उहाँ बिना अनुमति र बिना जानकारी जापान गएपछि विवादमा तानिनु भएको थियो । त्यही विवाद अधिकारीले पद गुमाउने अवस्थासम्म पुगेको हो । नेकपा एमालेका नेता अधिकारी गत निर्वाचनमा मोरङ २ को प्रदेशसभा ख बाट निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्