जनता टाइम्स

१५ पुष २०८१, सोमबार १०:४९

ट्राभल्सको राजस्व छली धन्दा : देखाउने कार्यालय महाराजगन्जमा, धन्दाचाहि ठमेलतिर


काठमाडौं, पुस १५ । पर्यटकलाई विभिन्न ठाउँमा घुमाउने महत्वाकांक्षी प्रचार गरेर उनीहरुबाट महंगो शुल्क असुल्ने गरेका ट्रेक, टुर्स एण्ड ट्राभल्सले दोहोरो ठगी गरेको पाइएको छ ।

एकातिर समाजिक सञ्जाल एवम् वेव साईट मार्फत प्रलोभनयुक्त प्रचार गरेर पर्यटकसँग मोटो रकम असुल्ने तर प्रतिवद्धता जनाएअनुसारको सेवा-सुविधा उपलब्ध नगराउने गरेको पाइएको छ भने अर्काेतर्फ मनग्य नाफा हुने गरी पर्यटकसँग असुलेको रकमबाट सरकारलाई तिर्नु पर्ने कर समेत छली गर्ने गरेको देखिएको छ ।

हुनत अधिकांश टुर्स एण्ड ट्राभल्सबाट हुँदै आएका यस्ता गल्ती ढाकछोप गर्ने गरिएको छ । कतिपय टुर्स एण्ड ट्राभल्सले त पर्यटकबाट अग्रिम रकम असुल्ने अनी बसोबास गराएको होटल अनी खानपान गराएको रेष्टुरेन्टलाई महिनौं रकम नतिरेर झुलाउने गरेको गुनासो पनि बारम्बार सुन्नमा आइराखेको हुन्छ ।

यसै सन्दर्भमा महाराजगन्जस्थित अमेरिकन दूतावास नजिकैको जोशी टावरमा कार्यालय रहेको भनिएको रिचा टुर्सले राजस्व छली गर्नैका लागि आफ्ना व्यवसायीक सबै धन्दा ठमेलस्थित होटल ‘थोरड्ला इन’बाट गर्ने गरेको खुलेको छ ।

रिचा टुर्सले ब्ढानिलकण्ठ नगरपालिकामा कार्यालय रहेको सरकारी इजाजत देखाएर, महाराजगन्जको ठेगाना उल्लेख गर्दै आफ्ना गोप्य धन्दा भने ठमेलस्थित ‘थोरड्ला इन’ होटलबाट गर्ने गर्छ । आफूले भ्रमण गराएका पर्यटकबाट चर्काे शुल्क असुल गरे पनि रिचा टुर्सले त्यसको विल भरपाई केही दिन्न ।

खासगरी स्वदेशी तथा विदेशी पर्यटकलाई कैलाश मानसरोवरको तिर्थ गराउन यो कम्पनी अग्रसर देखिन्छ । आफ्नो कम्पनी अनुभवी रहेको भन्दै आफ्नो वेव साइट (https://richatours.com) मार्फत पर्यटकलाई आकर्षण गर्न महत्वाकांक्षी प्रचार गर्दै रिचा टुर्सले अन्य टुर्स तथा ट्रेक एजेन्सीले भन्दा पर्यटकबाट निकै महंगो रकम असुल्ने गर्छ । तर, उक्त एजेन्सी मार्फत कैलाश लगायत अन्यत्रको भ्रमण गरी फर्केका कोही पनि पर्यटक सन्तुष्ट रहेको भने पाइन्न ।

१९९३ मा स्थापना भएको रिचा टुर्सले २७-२८ वर्षदेखि कैलास-मानसरोवरको ट्रेक गराउन थालेको हो । अन्य एजेन्सीले भन्दा महंगो शुल्क असुल्ने रिचा टुर्सका संस्थापक सञ्चालक सांघे गुरुड्ग आफ्नो कम्पनीसँग अरुको कम्पनी तुलना नगर्न भन्छन् । उनी भन्छन्, ‘हामीले दिने सेवा-सुविधा उच्च कोटीको हुन्छ, त्यसैले महंगो पनि पर्छ ।’ तर, भ्रमणका क्रममा खानपान होस् वा बसोबासको सुविधा, त्यो जुनसुकै एजेन्सी मार्फत जाँदा पनि उपलब्ध हुने एकैखालको हुन्छ ।

स्वदेशी पर्यटकका लागि वेव साइटमा लाग्ने खर्च उल्लेख नभए पनि विदेशीका हकमा भने वेव साइटमै रकम पनि उल्लेख छ । वेव साइटमा जनाइएअनुसार रिचा टुर्सले मानसरोवरको १६ दिने यात्राका लागि प्रति व्यक्ति अमेरिकी डलर २६६० असुल गर्छ भने कैलासको दुरदर्शनको ३ दिने कार्यक्रमका लागि भारतीय रुपैया ३५ हजार प्रतिव्यक्ति मुल्य तोकेको छ ।

त्यस्तै, केरुड्ग हुँदै कैलास मानसरोवरको १५ दिने यात्राका लागि प्रतिव्यक्ति २४ सय अमेरिकी डलर अनी केरुडसम्म हेलीकप्टर प्रयोग गर्दै १३ दिने कैलास यात्राका लागि प्रतिव्यक्ति ४ हजार अमेरिकी डलर असुल्ने गर्छ । त्यस बाहेक ऐभरेष्ट वेश क्याम्प र अन्नपूर्ण वेश क्याम्पका लागि आवश्यक सहमतीमा मुल्य निर्धारण हुने जनाएको छ ।

त्यस्तै, भुटान, भारतलगायत मुलुकको पनि भ्रमण गराउने रिचा टुर्सले अन्य टुर्स एण्ड ट्राभल्सले भन्दा महंगै रकम पर्यटकबाट असुल्ने गरेको पाइन्छ । तर, यसरी पर्यटकबाट चर्काे रकम असुल्ने रिचा टुर्सले राज्यलाई वार्षिक कति राजस्व तिर्छ त ? खोजी गर्नु पर्ने विषय यहीँनेर छ ।

त्यसो त रिचा टुर्सको वेव साईटमा आफ्ना अनुभवी गाईडले भ्रमणका क्रममा पर्यटकलाई उच्चतम केयर गर्ने गरेको उल्लेख छ । तर, यथार्थमा त्यस्तो पाइन्न । बरु, पर्यटकलाई निरुत्साहित पार्ने काम गाइडबाट हुन्छ । कैलाश परिक्रमा गर्न लैजाने पर्यटकलाई स्वास्थ्य सम्वन्धि र आवश्यक बन्दोबस्तीका सामाग्रीका सन्दर्भमा कुनै पनि व्रिफीड्ग गर्ने गरिन्न ।

कैलास नजिकैको दार्चेन शहरमा पुगीसकेपछि मात्रै स्वास्थ्य समस्याको कुरा झिकेर (मुटुको धड्कन बढेको, रक्तचाप बढेको, अक्सीजन लेभल निकै कम भएको) भन्दै सकेसम्म कैलाश परिक्रमा गराउन नपरे हुन्थ्यो जस्तो व्यवहार गर्छन् । खानपानको सन्दर्भमा गुनासो गरेको खण्डमा सँगै जाने गाइड र भान्सेबाट मुखभरीको जवाफ सुन्नुपर्छ ।

“अफिसले के-के भन्छ, के गर्छ हामीलाई के थाहा ? यहाँको अवस्था अनुसार हामीले भनेअनुसार तपाईंहरु चल्नु पर्छ,’ हो यस्तै हुन्छ, गाईडको जवाफ । यस्ता गुनासा फर्केर आएका पर्यटकले सुनाउन खोज्दा सञ्चालक सांघे गुरुड्ग आफ्नो कम्पनीका कामदारबाट भएको कमजोरी सुन्नै चाहान्नन् । सायद उनीहरुलाई कम्पनीले नै त्यसो गर्न लगाएको हुनुपर्छ ।