युवराज बास्कोटा/मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा विपन्न, सिमान्तकृत र औसत कमजोर आयआर्जनआश्रित समाजका लक्षित नागरिकलाई राशन उपलब्धताका लागि आज राशन–परिचयपत्र वितरण गरेको छ ।
स्थानीय जनप्रतिनिधिले संघीय जनप्रतिनिधिका रूपमा रहनुभएको देशको प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादको प्रारम्भिक आधारशीला निर्माणको अभियानअन्तर्गत लिनुभएको सपना समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न लागेको सन्दर्भ पछिल्ला दृष्टान्तले पनि पुष्टि गर्दछ । नगरपालिका वडा नं २ वडाध्यक्ष नैना राईले आफ्नो रणकौलश योजनाअनुरुप यस्ता कार्यक्रम अवलम्बन र कार्यसम्पादनमा लाग्नुभएको हो ।
स्थानीय समुदायमाझ रुझेबिझेको वडाध्यक्ष राई नेतृत्वको जनप्रतिनिधिले भौतिक पूर्वाधार विकासका अलावा विभिन्न बेलामा समुदायको अवस्था यकिन डाटा उतार्ने, विपन्न वर्गको पहिचान गर्ने, सिमान्तकृत समुदायको पहिचान गर्ने, लक्षित समुदायको अवस्था चित्र अभिलेखीकृत गर्ने, बालबालिकाको सुनौला दिन व्यवस्थापन कार्यक्रम बनाउने, वडाबासी बृद्धबृद्धा बुबा–आमालाई आ–आफ्नो आस्थाअनुसार तीर्थाटन गराउने, आधारभूत रूपमा शिक्षा र स्वास्थ्य क्षेत्रमा तिनको पहुँच सुनिश्चित गर्न घरघर पुगेर सूचना प्रवाह गर्ने, वडागत योजनामुताविक सहुलियत दरमा दैनन्दिन उपभोग्य वस्तुको उपलब्धता सुनिश्चित गर्ने आदि काम गर्दै आएको छ । यसै सिलसिलामा आफ्नो वडावाट लक्षित समुदायको पहिचान गरि रासनकार्डको प्रबन्ध गरेको हो ।
आज मध्यान्हमा सम्पन्न कार्यक्रममार्फत वडाध्यक्ष राईले आफूले पालिकामा मात्र होइन, सम्भवतः देशमै पहिलोपटक नमुना कार्य वडागत नीति–कार्यक्रम तथा बजेटमा लक्षित समुदाय र यसमा पनि पराश्रित नागरिकलाई राशनकार्ड उपलब्ध गराउन सकेकोमा खुशी व्यक्त गर्नुभयो । आफू एमालेको कार्यकर्ता हुनुको नाताले पनि निमुखा वर्गको सेवा गर्न पाएकोमा अगाध खुशी लागेको बताउनुभयो ।
उहाँका अनुुसार वडामा अभिलेखीकृत भएका वडावासीवाट छनौट पराश्रित घरपरिवारलाई पहिलो चरणमा ५ देखि १५ केजीसम्म चामल प्रदान गर्ने कार्यारम्भ गरिएको हो । आज सम्पन्न पहिलो चरणमा राशनकार्ड प्राप्त गर्ने परिवारले आउने असारसम्म मासिक रूपमा चामल प्राप्त गर्नेछन् । यसको सहजताका निमित्त चालू वर्षदेखि वडाको नियमित बजेटमा राशन कार्ड कार्यक्रम व्यवस्था गरिएको हो । यसनिमित्त प्रारम्भमा १ लाख रूपैयाँ वजेट वडाले विनियोजन गरेको हो ।
आफ्नो प्रधानमन्त्रीले दृढ संकल्पित भएर लिनुभएको सपना सुखी नेपाली समृद्ध नेपाल निर्माणसँगको यो हाम्रो सहकार्य हो, रचनात्मक सहयोग हो र एकखालको आँट र भरोसा पनि हो । वडाभित्र हेर्ने, बुझ्ने र सहजीकरण गर्ने भनेको स्थानीय जनप्रतिनिधिका रूपमा हामीले हो नि ! गर्दा केसम्म गर्न सकिँदो रहेछ, गरिहेरौँ भने यसपटकदेखि लागियो– राशनकार्ड वितवरण कार्यक्रममा सँगसँगै रहनुभएका वडासदस्य खिलानाथ घिमिरे भन्नुभयो ।
विभिन्न बेलाबखतमा वडा आधारित नागरिकका दिनदैनिक साह्रागाह्रा, मुद्दामामिला र कतिपय प्रतिकूलताको गाँठो फुकाउने दायित्व लिएको वडाध्यक्ष राई नेतृत्वको एकाकारित पंक्तिले आफ्नो वडाका कुनै पनि वडावासी कहिल्यै कुनै अभावमा, भोकमा, शोकमा, अशिक्षामा बन्न नपरोस् भनेर समय–समयमा यस्ता थुप्रैखाले कार्यक्रमहरू ल्याउने गरेको दृश्यलाई नजिकैबाट नियाल्नुहुने स्थानीय सामाजिक अगुवा अर्जुन काफ्ले जनप्रतिनिधिको रूपमा क्रियाशील यो खालको उपस्थितिले संघीयताको मर्म बोकेको निष्कर्ष निकाल्नुहुन्छ । वडावासीको गास, वास र कपासको सुनिश्चिता चानेचुने नभएको काफ्लेको ठम्याइ विकसित छ ।
तीन तहको सरकार र संघीय संरचनाभित्र सेवाप्रवाहका दृष्टिकोणले स्थानीय जनप्रतिनिधिहरू नागरिकको पहिलो सरकार हो, घरद्वारमा उपलब्ध रहनुपर्ने सरकार हो, सजिलाका बखत मात्र होइन, असजिलाका बेलामा पनि स्थानीय सरकार अभिभावक पनि हो । परिस्थितिअनुरुप हामीले त सहयोग गर्नैपर्छ । धेरैजसो सेवाप्रवाहका कामहरू सेवाग्राहीका घरघरमै पुगेर गर्ने गरेका छौँ, यसपटक २० घरपरिवारलाई यो राशनकार्डको व्यवस्था गरियो । यसलाई क्रमशः बढाउँदै लैजाने योजना रहेको वडाध्यक्ष राई बताउनुहुन्छ । राशनमात्र पर्याप्त हुँदैन, दैनन्दिन आवश्यकताको परिपूर्तिका लागि अरु पनि सहयोगी योजना रहेको उहाँको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्