जनता टाइम्स

१० फाल्गुन २०८१, शनिबार १४:०५

राधिका शाक्यको आत्मकथा ‘करुणा’ : केपी ओलीसँगको पहिलो भेट र बिवाहबारे यस्तो छ रोचक खुलासा


उहाँका बारेमा अलिअलि सुनेको थिएँ । तीन वर्षको उमेरमा आमा बितेको टुहुरो, जसले बाल्यकालमा आमाको माया पाउन सकेन । माया र ममताको सेकताप नपुगेको र वर्षौं जेलको कठोरता भोगेकाले उहाँको शरीर रुग्ण थियो तर आँखामा भने केही गर्ने जोस । भित्र निकै दर्बिलो अठोट थियो । आत्मविश्वास थियो । त्योभन्दा पनि बढी चाहिँ झूटो नबोल्ने हिम्मत देखियो । त्यो चिजले मलाई कताकता प्रभावित पार्यो ।

राधिका शाक्य

– ‘अँ हुन्छ । म सोचेर जवाफ दिन्छु नि २/३ दिनमा ।’

– ‘यसमा सोच्नु पर्नि कुरा नै के छ र ? मेरो नाम केपी ओली । ज्यान यही हो । मसँग सम्पत्तिको नाममा केही पनि छैन । मैले तिमीलाई एउटा धागोको धरो पनि किनेर दिन सक्दिनँ । मैले तिमीलाई समय पनि दिन सक्दिनँ । योबाहेक अरू केही बुझ्नु पर्नि छ र ?’

– ‘तै’नि ।’

– ‘यही हो कुरो । यसमा थप बुझेर पनि केही प्रगति हुने हैन पो,’ भन्दै उहाँ मुस्कुराउनु भयो ।

– ‘अँ हो त्यो त ।’

– ‘ल हुन्छ भने हुन्छ । हुन्न भने हुन्न । केही बिग्रेको छैन । मेरो साइडबाट चाहिँ ओके भएरै भेट्न आएको हुँ ।’

म जिन्दगीमा विवाह नै नगर्ने भनेर बसेकी केटीलाई पहिलो पटक विवाहको प्रस्तावसहित भेट्न आएको केटो यस्तोविघ्न टिमुर्केको पो फेला पर्यो भन्ने सोचेर दुई–तीन दिनमा भन्छु भनेको कुरालाई त अस्वीकार गर्यो–गर्यो एउटा धागो धरी किन्न सक्दिनँ पो भन्छ !

उज्यालो चिसिँदै गएको साँझ थियो । चराहरू बास बस्ने तरखरमा थिए । भरियाहरू आफ्नो बासस्थानमा फर्किंदै थिए । सहर दिनभरिको दौडधुपबाट विश्राम लिने मुडमा थियो ।पार्टीकै नेताहरूले विवाहको प्रस्ताव ल्याएपछि मंसिर महिनाको एक साँझ पाटनमा एक जना साथीको डेरामा हाम्रो भेट भएको थियो । पार्टीकै नेताहरूले प्रस्ताव गर्नुभएको हो । बिहे नै गर्ने योजना त थिएन । उहाँहरूले भन्नुभएको करिब दुई महिना जति भइसकेको थियो । भनी त हाल्नुभयो, एक पटक भेटौं न । भेट्दैमा के बिग्रन्छ र भनेर मात्र भेट्न राजी भएकी थिएँ म ।

पहिलो पटक उहाँलाई पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अलि परैबाट देख्दा एक आदर्श नेताप्रतिको आदरभाव थियो, तर आजको भेटको सन्दर्भ पृथक थियो । त्यही नेता जसलाई स्वागतका लागि लामो समय कुर्दा व्यग्रतापूर्वक पर्खिएका मेरा आँखाहरूले आज उहाँको आँखामा आँखा जुधाएर जिन्दगीको निर्णय लिनुपर्ने थियो । म फेरि अर्को एउटा सकसमा बेरिएकी थिएँ । म जब उहाँलाई भेट्न घरबाट निस्किएँ– हल्का लज्जा, संकोच र बेचैनीले ढुकढुकी बढाइरहेको थियो ।

म ललितपुरको शाक्य परिवारमा जन्मिएकी केटी । उहाँ झापाको बाहुन । राजनीतिक आस्थाकै कारण १४ वर्ष जेलजीवन बिताएर भर्खरै रिहा भएको उहाँको शरीर सिसुपाल थियो । म पुग्दा उहाँ पहिल्यै आइसक्नुभएको रहेछ । नजिकबाट हेर्दा, झुस्स दाह्री फुक्क गर्दा ढल्ला जस्तो ज्यान । ज्यान पनि के भन्नु ह्यांगरमा झुन्ड्याएको कपडा जस्तो मात्र । एक वयस्क युवाका रूपमा उहाँको शरीरमा कुनै आकर्षण थिएन ।

तर बोलीमा भने दम थियो । आत्मविश्वास थियो । मसँग केही छैन भनेर यति आत्मविश्वासका साथ भन्न सक्ने मान्छे जीवनमा पहिलो पटक भेटेकी थिएँ– मैले । आफूसँग केही नहुनु भनेको त ग्लानिको विषय हो जस्तो लाग्थ्यो मलाई, तर यो मान्छे हात माग्न आएको केटीका सामु शिर ठाडो पारेर हिम्मतका साथ मसँग केही छैन भनेर बोलिरहेको थियो । उहाँको त्यो आत्मविश्वास देखेर म छक्क परें ।

उहाँका बारेमा अलिअलि सुनेको थिएँ । तीन वर्षको उमेरमा आमा बितेको टुहुरो, जसले बाल्यकालमा आमाको माया पाउन सकेन । माया र ममताको सेकताप नपुगेको र वर्षौं जेलको कठोरता भोगेकाले उहाँको शरीर रुग्ण थियो तर आँखामा भने केही गर्ने जोस । भित्र निकै दर्बिलो अठोट थियो । आत्मविश्वास थियो । त्योभन्दा पनि बढी चाहिँ झूटो नबोल्ने हिम्मत देखियो । त्यो चिजले मलाई कताकता प्रभावित पार्यो ।

– ‘ल फाइनल कुरा के भयो त ?’

– ‘हँ’ ? टोलाइरहेकी म त झसँग भएछु । मेरो मनले निर्णय गर्न नपाउँदै मुखबाट अनायसै फुत्किइहाल्यो– ‘अँ हुन्छ’ ।

– ‘ल फेरि भेटौंला नि त’ यति भन्दै उहाँ बाहिरिनुभयो ।

मलाई विवाहसँग उतिबिना चाह तथा मोह पनि थिएन । फेरि मलाई यो घरायसी काम असाध्यै झिँझो लाग्थ्यो । भान्सामा काम गर्न मनै पर्दैनथ्यो । बुहारीका रूपमा महिलाका कामधन्दा, टोकसो कल्पना पनि गर्न सक्दिनथें । यो सब बुहार्तनको झन्झट सोचेरै म जिन्दगीमा धेरै थोक गर्छु तर विवाह चाहिँ गर्दिनँ भन्ने लाग्थ्यो ।

तर आज पहिलो पटक भेटेको मान्छेलाई मैले विवाहका लागि ‘हुन्छ’ भनें । कत्रो ठूलो निर्णय थियो यो ? के गरें मैले ? किन जरुरी थियो यो ? के बाध्यता थियो मलाई ? मैले सही गरें कि गलत गरें ? साथीको डेराबाट घरसम्म आइपुग्दा मनमा प्रश्नका अनेकन छाल उठ्दै र बस्दै गरे । एउट प्रश्नलाई अर्को प्रश्नले थिच्थ्यो त्यसलाई झन् अर्को प्रश्नले, तर जवाफ आएन ।
त्यो रात लगभग छटपटीमै बित्यो । मलाई मेरो निर्णयप्रतिको जिज्ञासाले सुत्न दिएको थिएन । यो मेरो एकल निर्णय थियो । कसैसँग सल्लाह नगरी गरिएको निर्णय थियो– यो । निर्णय केही साहसपूर्ण र बढी दुस्साहसपूर्ण थियो । हुन त मेरा जीवनमा मैले सानैदेखि गरेका एकल निर्णयले धोका दिएका थिएनन, तर यो त निर्णय मात्रै थिएन साँच्चै जीवनका लागि एउटा अग्लो महानिर्णय थियो ।

मेरो निर्णय सुनिसकेपछि उहाँलाई चाहिँ माया लाग्यो रे । मसँग विवाह गरेर यो केटीले दुःख पाउँछे भन्ने सोच्नु भएछ । अर्को भेटमा उहाँले मलाई भन्नुभयो, ‘तिमीले मसँग बिहे गरेर दुःख पाउँछ्यौं । तिमी निर्णय बदल्न चाहन्छ्यौ भने अझै केही बिग्रेको छैन, बदल ।’ उहाँको अप्रत्याशित कुरा सुनेर एकछिन त म अलमलमा परें । अनि उहाँलाई मैले अन्तिम निर्णय सुनाउँदै भनें, ‘मैले यो निर्णय बदल्नका लागि लिएको हैन । म तपाईंसँग बिहेका लागि तयार छु ।’

म त्यतिबेला अनेमसंघ बागमती अञ्चल कमिटीको सदस्य समेत भइसकेकी थिएँ । राजनीतिक पोर्टफोलियो उहाँको के थियो थाहा थिएन तर १४ वर्ष जेल जीवन बिताएर छुटेको भन्ने सुन्दा छुट्टै सम्मान र करुणाभाव जाग्थ्यो । यसो सोचें । पहिलो पटक भेटेको केटाले तिमीलाई यो गरिदिन्छु, ऊ गरिदिन्छु आकाशकै तारा झारिदिन्छु पनि त भन्न सक्थ्यो नि । त्यो नभनेर किन मबाट केही आशा नगर, म तिमीलाई धागोको धरो पनि किनिदिन सक्दिनँ भनेर टक्टकिन्छ ? यो त इमानदारी हो नि ! नसक्ने कुरालाई सक्दिनँ भनेर इमानदारी देखायो नि ! झूटो आशामा बाँच्नुभन्दा साँचो अभावमा बाँच्नु नै जीवनको श्रेयस्कर पाटो हो भन्ने ठम्याइ भएकाले नै म कम्युनिस्ट धारमा ढल्केकी हुँ । मध्यरातमा द्विविधालाई फिका पार्दै मनलाई ढाडस दियो र म दिउँसो गरेको आफ्नो मुखबाट फुत्तै निस्केको ‘अँ हुन्छ’ प्रति स्पष्ट प्रतिबद्ध र कृतसंकल्पित हुँदै गएँ ।

उहाँलाई देखेको यो दोस्रो पटक थियो । पहिलो पटक पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हो । २०४४ साल असारमा उहाँ लगायतका साथीहरू जेलबाट छुट्नुभएको थियो । त्यही मेसोमा अनेरास्ववियुले रिहा भएका नेताहरूको स्वागतका लागि क्याम्पसमा कार्यक्रम राखेको थियो । मान्छेहरू टाढाटाढाबाट जम्मा भएका थिए । कार्यक्रमस्थल खचाखच थियो । अलि परैबाट उहाँलाई देखेको थिएँ– सानो काँटको पातलो ज्यानमा । त्यतिखेरै बोल्ने ताकत दमदार थियो । इन्जिनियरिङ क्याम्पसमा भेला भएकाहरूलाई जुरुकजुरुक पार्ने गरी भाषण गर्नुभएको थियो । आज उनै केपी ओलीसँग बिहेको कुरा चल्न सक्ला भनेर चाहिँ सोचेको पनि थिइनँ ।

विसं २०४४ फागुन १० गते । कुपन्डोलमा एक जना पार्टी कार्यकर्ताको घरमा हाम्रो बिहे भयो । जनवादी बिहे । वरबधुले एकअर्कालाई टीका र माला लगाइदिएपछि बिहे सकिने । त्यही दिन राष्ट्र बैंकमा स्थायीका लागि फाइनल अन्तर्वार्ता पनि थियो । अन्तर्वार्ता भ्याएर हतारहतार कुपन्डोल आइपुगेकी थिएँ म– कार्यालय जाने पोसाकमै थिएँ । खैरो रङको स्वेटर, कालो रङको पुरानो साडी र चप्पलमै थिएँ ।

म कुनै एंगलबाट पनि दुलहीजस्ती देखिएकी थिइनँ । उहाँको तुलनामा होचीहोची केटी म । मैले माला लगाइदिँदा उहाँ थोरै निहुरिनुभयो र मुसुक्क मुस्काउनुभयो, उहाँले पनि माला लगाइदिनुभयो । टीका लगाइदिनुभयो । उपस्थित जतिले ताली बजाए । हाम्रो विवाह सम्पन्न भयो । दौरा–सुरुवाल र नीलो कोटमा उहाँचाहिँ दुलहाजस्तो देखिनुभएको थियो । हाम्रो विवाहमा कमरेड अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, झलनाथ खनाल, विष्णु रिमाल र अरू १५÷२० जना नेता–कार्यकर्ता सहभागी हुनुहुन्थ्यो ।

पार्टीकै पहलमा जनवादी बिहे भइसकेपछि पनि यो कुरा घरमा भनेको थिइनँ । एक त म बिहे नगर्ने भन्नेमा थिएँ । विभिन्न ठाउँबाट पारिवारिक रूपमा स्थापित केटाहरूका बिहेका प्रस्ताव आउँदासमेत त्यो विषयमा छलफलै नगरी अस्वीकार गरेको थिएँ । अनि ठाउँ न ठहरको केटासँग चाहिँ बिहे कसरी सम्भव भयो भन्ने कुरा हुन सक्थ्यो । अर्को कुरा हामी पाटनको शाक्य उहाँ झापाको बाहुन । तत्कालीन समाजको सामाजिक चेतनास्तरसामु ठूलै विद्रोह थियो त्यो । यो स्वागत हुनेभन्दा अस्वीकृत हुने सम्भावना अधिक रहेको विषय थियो ।

जीवनको यति ठूलो निर्णय बिल्कुल मैले एक्लै गरेको थिएँ । विवाह गरेर सिन्दूर र माला लगाइसक्दा पनि मैले मेरो परिवारमा कसैलाई यसको सुइँकोसम्म दिएकी थिइनँ । आखिर ढाँटेर कति दिन टार्न सकिन्थ्यो र ! छलेर कति दिन उम्किन सकिन्थ्यो र ! एक न एक दिन मैले छुपाएको सत्यलाई वास्तविकताले साक्षात्कार गरेरै छाड्थ्यो । यति थाहा हुँदाहुँदै पनि भन्न/सुनाइहाल्न हिम्मतै भएन ।

साहस गरेर आजचाहिँ आमालाई भन्छु जस्तो लाग्थ्यो तर भन्न सक्दिनथें । फेरि हिम्मत गरेर बालाई भन्छु भन्थें– भन्न सक्दै सक्दिनथें । भाइलाई भन्दा सहज होला कि जस्तो लाग्थ्यो, तर उसलाई पनि भन्ने आँट आउँदै आउन्नथ्यो । कस्तो कष्टको समय भोगिरहेकी थिएँ । म आफैंसँग आफैं भाग्दै बाँचिरहेको थिएँ । झन्डै एक साता यस्तै अन्योल, दोधार र बेचैनीमा मैले बिताएँ । म आफ्नै मनको द्वन्द्वको सिकार भएकी थिएँ नराम्ररी ।

तर, यो कुरा गोप्य राखेर पनि केही फाइदा थिएन । मनमा यति ठूलो निर्णयको बोझ बोकेर कसैलाई नभनी बस्न सक्ने स्थिति पनि त भएन । जति सक्दो छिटो यो गोपनीयताको बोझ बिसाउनुथियो । मलाई पार्टीबाट आएको प्रस्ताव र मेरो निर्णयबारे परिवारलाई जानकारी गराएँ । म केपी ओलीसँग बिहे गर्दै छु भनें । त्यसपछि घरका सबै जना तीनछक परेजस्ता भए । बिहे नै नगर्ने भनेकी छोरीले बिहेका लागि जनाएको सहमति एकातिर आमाबालाई राहतको विषय थियो होला तर जेजसरी र जोसँग बिहे गर्ने प्रस्ताव थियो त्यो उहाँहरूका लागि चित्त बुझ्दो छैन भन्ने मैले ठानेकी थिएँ ।

एक त सत्ताविरुद्ध विद्रोह गरिरहेको केटो । १४ वर्ष जेल जीवन बिताएर निस्किएको मान्छे । कुनै पनि बेला राज्यको निसानामा पर्न सक्ने खतरा थियो । एउटा छोरीको बाबुआमा भएर सोच्दा छोरीको जीवनको सुखसयल र सुरक्षाभन्दा परको कुरा अर्को के हुन्छ र ? मेरा बाआमाको मनमा खेलेका भावना पनि त्योभन्दा अन्यथा थिएन सायद । उहाँहरूको ठाउँमा उभिएर हेर्दा त्यस्तै देखिनु स्वाभाविकै पनि हो तर स्थिति त्योभन्दा निकै पर पुगिसकेको थियो ।

कुरा सुनिसकेपछि आमा केही बोल्नु भएन । बा भने सहजै सहमत हुनुभएको देखिएन । बाको भावना म बुझ्थें तर म के नै गर्न सक्थें र ? वास्तविकता र विवशताको जाँतोमा पिधिइँदै थिएँ म त्यतिखेर । त्यो यस्तो समय थियो, जहाँ मेरा जीवनका दुई महत्वपूर्ण पुरुषहरूका भावनाका विरोधाभासपूर्ण लक्ष्मणरेखामाथि म उभिएको थिएँ । बा आफ्नो ठाउँमा रहेर जे सोच्नुहुन्थ्यो त्यो पनि सही थियो र मैले रोजेको बाटो पनि गलत थिएन । यो कुरा म शब्दले बालाई बुझाउन सक्दिनथें । यी सबै अनुत्तरित सवालहरूको जवाफ समयले नै दिँदै जान्छन् भन्ने विश्वास थियो । त्यो यस्तो क्षण थियो, मेरा बाको असहमतिमा म सहमत हुन सक्ने परिस्थिति थिएन ।

फागुन २८ मा घरबाट बिहे गर्ने तयारी भयो । पहिलो जनवादी तरिकाको भइसकेको थियो । फेरि घरबाट । एउटै केटासँग १८ दिनको बीचमा दुई पटक विवाह हुँदै थियो । बा त अझै तयार हुनु भएको थिएन । उहाँलाई त्यो बेलाको सामाजिक चेतनास्तरले थिचिनै रहेको थियो । ‘हुन त हो तर नि छोरी आफ्नै मिल्दोजुल्दो केटा पनि त पाइन्थ्यो नि’ भनिरहनुहुन्थ्यो । उहाँ त्यो बिहेको दिन मामाघरतिर गएर बस्नुभयो ।

बिहेको दिन केपी सरले सुशील प्याकुरेल, नारद भारद्वाज, दीपक अमात्यसहित अन्य दुई–तीन जना साथीहरू लिएर आउनुभएको थियो । घरमा पनि त्यस्तै सामान्य तरिकाले टीकामाला लगाएरै विवाहको काम सम्पन्न भयो । ठूलोबा र आमाले टीका लगाई आशीर्वाद दिनुभएको थियो ।

पाटन पिलाछेमा एउटा कोठा खोजेको थिएँ । बिहेपछि चाहिँ हामी त्यो कोठामा सर्यौं । उहाँ राजनीतिमा मात्र केन्द्रित हुनुहुन्थ्यो । व्यक्तिगत जीवन अस्तव्यस्तै थियो । पिलाछेको कोठा मैले नै बन्दोबस्त गरेको थिएँ । खासमा बिहेपछि त उहाँले मलाई होइन, मैले चाहिँ उहाँलाई भित्र्याएको अवस्था थियो ।

म मेरा श्रीमान केपी शर्मा ओलीलाई केपी सर भनेर सम्बोधन गर्छु । आफ्नै बूढालाई पनि के सर भन्या भनेर मान्छेहरू छक्क पर्छन । म मान्छेहरूका अगाडि औपचारिकता पूरा गर्न मात्र केपी सर भन्ने हैन हामी दुई जना मात्र हुँदा पनि केपी सर नै सम्बोधन गर्छु । यसको कुनै प्रयोजन छैन । केपी सर नै भन्नुपर्ने कुनै बाध्यता छैन । म मेरा श्रीमानलाई आम महिलाहरूले जस्तै गरी नाम नलिईकन अरू नै शब्दले सम्बोधन गर्न पनि सक्थें । हजुर भन्न सक्थें । बूढा भन्न सक्थें । केपीजी भन्न सक्थें । या केही नभन्न पनि सक्थें । तर, मलाई सुरुदेखि नै यही भन्ने बानी लाग्यो त्यही सहज हुँदै गयो ।

पहिलोपल्ट हाम्रो बिहेको प्रस्ताव लिएर आउनुभएका पार्टीका नेताहरूले केपी कमरेड भनेर चिनाउनुभएको थियो । हामी बराबरीका साथीहरूबीचमा कमरेड भन्थ्यौं । तर, उहाँ त सिनियर नेता हुनुहुन्थ्यो केपी कमरेड भनेर त कसरी भनुँ भनेर मलाई संकोच लाग्यो । कमरेड भन्न सकिनँ । बिहेका लागि कुरा भइरहेको पुरुषलाई अरू पनि के भनेर सम्बोधन गर्ने मलाई अप्ठेरो लाग्यो ।

उहाँलाई भेट्दा म राष्ट्र बैंकमा जागिर गर्न लागेकै ८ वर्ष जस्तो भइसकेको थियो । जागिरे दैनिकीमा भेटिएका मान्छेहरूलाई सर, म्याम भनेर सम्बोधन गर्ने बानी भइसकेको थियो । त्यसैले उहाँलाई पनि सर नै भनें कि ? बिस्तारै यही बानी लाग्दै गयो । अचेल औपचारिक÷अनौपचारिक जुनसुकै स्थानमा पनि केपी सर नै भनेर सम्बोधन गर्छु ।

मलाई चाहिँ उहाँले नानी भनेर सम्बोधन गर्नुहुन्छ । मामाघरमा मलाई नानीदेवी भन्नुहुन्छ । त्यही सुन्नु भएर हो कि मलाई नानी भनेर सम्बोधन गर्नुहुन्छ । कहिलेकाहीं औपचारिक स्थानहरूमा उहाँले राधिका भनेर सम्बोधन गर्दा अनौठो लाग्छ । उहाँले राधिका भन्दा मलाई नै भनेको हो कि अरू कसैलाई भनेको हो भनेर झुक्किन्छु ।

त्यतिबेला उपत्यकाबाहिरका नेताहरूको उपत्यकाका डेराहरू साझाजस्तै हुन्थे । बाहिरबाट आउने आफन्त तथा कार्यकर्ताहरूको बास बस्ने ठाउँ सहज थिएन । बिहेपछि हाम्रो आफ्नो व्यक्तिगत समय, निजी ‘स्पेस’ भन्ने चिज लगभग शून्यजस्तै भयो । त्यो सानो कोठामा सोह्रसत्र जना मान्छेहरू पनि सुत्नुपथ्र्यो । सुत्नु पनि के भन्नु अटे पो सुत्नु ? रात कटाउने मात्र ।

निजी जीवन, श्रीमान–श्रीमतीका रूपमा ‘सेयरिङ, रेयरिङ, केयरिङ’ भन्ने चिज कहिलै अनुभूत हुन पाएन भन्दा पनि खासै फरक पर्दैन । भातभान्साको झन्झट लाग्ने मलाई त्यसैले पच्छ्याइरहेको थियो । पारिवारिक टन्टा बेहोर्नुपर्ला भनेर नै बिहे नगर्ने भन्दै बसेकी म झन् झमेला बेसाइरहेको थिएँ । एक हिसाबले जीवन ‘तावाबाट झरेको माछो भुंग्र्रोमा’ भनेजस्तो हुँदै गयो ।

बिहे भएको केही समयपछि उहाँ लुम्बिनी अञ्चलको इन्चार्ज भएर जानुभयो । त्यसबीचमा उहाँको हालखबर लामो समय थाहा हुँदैनथ्यो । आउजाउ गर्ने मान्छेहरूले पनि बासी खबर ल्याउँथे । उहाँले बेलाबेलामा पत्र लेख्नुहुन्थ्यो । पत्र आउँदा मान्छे नै भेटेको जत्तिकै खुसी मिल्थ्यो । त्यसपछि अर्को पत्र नआउन्जेल मनमा बेचैनी छटपटी भइरहन्थ्यो । पानीको छिटा पर्दा नि बिरामी हुने ज्यान । त्यो लुम्बिनीका गाउँबस्ती डुल्दा ठेस लाग्दो हो । काँडाले कोर्दो हो । चोटपटक लाग्दो हो । ज्यान बिमार हुँदो हो । खानेसुत्नेको टुंगो नहुँदो हो । कसले ख्याल गर्ला ? मनमा अनेक तर्कना आउँथे, आइरहन्थे ।

सिङ्गै राज्य उत्रिएर लागेको छ । जता भेट्यो उतै सिध्याउन सक्थ्यो । सम्झिँदा पनि मन भारी हुन्थ्यो । जिउ सिरिङ्ग हुन्थ्यो । दिन त जसोतसो बित्थ्यो, तर रात भने कटाउन कठिन हुन्थ्यो । तर, यो मैले रोजेको जीवन थियो । मैले स्विकारेको समय थियो । १४ वर्ष जेलजीवन बिताएको मान्छेलाई साथ दिने मेरो अठोटका सामान्य परकम्पहरू थिए यी । यसमा म विचलित हुनुहुँदैन थियो । जीर्ण शरीर बोकेर हिँडिरहेको तर दृढसंकल्प र अठोट भएको योद्धालाई साथ दिने गरी मैले गरेको निर्णयलाई पूरा गर्न मैले अझै थुप्रै अप्ठेरा झेल्नुपर्ने हुनसक्छ भन्नेमा म सचेष्ट थिएँ ।

म आफैं बाल्यकालमै ठूलो बिमारबाट गुज्रिएको र उहाँ लामो समय जेलजीवनका क्रममा भोगेका यातनाले शिथिल हुनुहुन्थ्यो । वर्गीय लडाइँको मोर्चामा हुनुहुन्थ्यो । हामीलाई यस्तै साझा घाउहरूले निकट बनाएको थियो । साझा पीडाले एकै ठाउँमा ल्याएको थियो । त्यसैले पनि सायद ममा विचलन आएन होला । नत्र एउटी श्रीमतीका रूपमा श्रीमानसँगको चाह र अपेक्षाहरू स्वाभाविक तराजुमा राखेर जोख्ने हो भने सन्तुलनको परिभाषै बदल्नुपर्ने हुन्थ्यो ।

श्रीमतीका रूपमा मैले उहाँलाई साथ त दिनु नै थियो । उहाँ सानैमा आमा गुमाएको टुहुरोसमेत हुनुहुन्थ्यो । एउटी आमाको काख र मातृवात्सल्यको न्यानोपना गुमाएको व्यक्तिलाई आमाको मायाको अनुभूति पनि दिने प्रयत्न हुन्थ्यो र अपितु छँदै छ । ती धेरै अप्ठेरा दिनहरूबाट सम्हाल्दै, जोगाउँदै, संरक्षण गर्दै आजको दिनसम्म आइपुग्दा धेरै उतारचढाव आएका छन् । हामी श्रीमान–श्रीमतीका बीचमा हुने आपसी सम्बन्धभन्दा पनि सहकार्यको बलमा यहाँसम्म आइपुगेका छौं । सुरुदेखि नै एउटी आम श्रीमतीका रूपमा भन्दा एउटा राजनीतिज्ञको सहकर्मीका रूपमा आफूलाई समर्पित गर्दै आएकी छु ।

केपी ओलीसँग मेरो भेट हुनु एउटा अनौठो संयोग थियो भने बिहे नै हुनु अर्को मिठो संयोग थियो । पत्नीका रूपमा मैले उहाँसँग के पाएँ भन्ने कुराले त्यति अर्थ राख्दैन । पत्नीका रूपमा मैले के योगदान दिन सकें भन्ने कुरा मात्र मेरो प्राथमिकतामा पर्छ ।

कहिलेकाहीं म सम्झिन्छु, एउटी श्रीमतीकै रूपमा मात्र व्यवहार गर्ने हो भने गुनासो गर्न मिल्ने पनि त प्रशस्तै ठाउँ छन् । एउटा आम श्रीमतीका अपेक्षा आफ्ना श्रीमानले समय देओस् । जन्मदिनमा उपहार देओस् । विवाह वर्षगाँठ यादगार बनाओस् । तिमीलाई के कुराको खाँचो छ भनोस् भन्ने न हुन्छ नै । आफ्नो महत्वपूर्ण समय परिवारलाई दिएन, पर्याप्त खुसीहरू साटेन भनेर गुनासो पनि त गर्न सकिन्थ्यो !

फेरि सम्झिन्छु, उहाँले त पहिलो भेटमै भन्नुभएकै थियो– मैले श्रीमानका रूपमा तिम्रा व्यक्तिगत चाहहरू पूरा गर्न सक्दिनँ भनेर । एउटा धागोको धरो पनि किनिदिन सक्दिनँ भनेर । उहाँले झूटो आशा देखाएर निराश बनाएको भए पो दुःख लाग्नु ? उहाँबाट के पाएँ भन्दा पनि उहाँको यात्रामा कसरी सघाउन सक्छु भन्ने कुराले मलाई बढी पिरोल्छ । मलाई त्यसै पिरोलोबाट खुसी मिल्छ र अन्तस्करण तृप्त र सन्तुष्ट बन्छ । र त, मसँग कुनै गुनासो छैन उहाँसँग र आफैंसँग, आफ्नो निर्णयसँग र आफैंले रोजेको जिन्दगीको यति, गति र संगतिसँग ।

(प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यको आज लोकार्पण भएको आत्मकथा ‘करुणा’ को एक अंश)