जनता टाइम्स

३ जेष्ठ २०८२, शनिबार २०:५७

मदन भण्डारी विचारमा प्रष्ट, व्यवहारमा लचक, उद्देश्य र लक्षमा दृढ नेता : आनन्द श्रेष्ठ 


रामेछाप,३ जेठ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य, वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनलाई मदन भण्डारीले नयाँ ढङ्गले विकसित गर्नुभएको बताउनुभएको छ ।

मदन–आश्रित स्मृति दिवसको अवसरमा शनिबार मन्थलीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै श्रेष्ठले मदन भण्डारीले ल्याउनुभएको जनताको बहुदलीय जनवादको विचारले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशामा अघि बढाएको बताउनुभयो । ‘मदन भण्डारी विचार प्रति प्रष्ट, व्यवहारमा लचक, उद्देश्य र लक्ष प्रति दृढ हुनुहुन्थ्यो, कयौँ आलोचनालाई आफ्ना कामबाट नै उहाँले हाँसी हाँसी जवाफ दिनुभएको थियो’, उहाँले भन्नुभयो ।

नेपालको राजनीति, सामाजिक, आर्थिक अवस्था विश्लेषण गरेर नै मदन भण्डारीले नेपाली मौलिकतामा आधारित जनताको बहुदलीय जनवादी विचार ल्याउनु भएको श्रेष्ठले बताउनुभयो । ‘उहाँले मार्क्सवाद उज्यालोमा जनताको बहुदलीय जनवादी विचार ल्याउनुभयो, जसलाई हामीले अहिले सिद्धान्तको रूपमा अङ्गीकार गरेका छौँ र त्यसैको माध्यमबाट समाज रूपान्तरणको लागि काम गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।

मदन भण्डारीलाई प्रतिक्रियावादी भन्नेहरू, उहाँलाई वर्ग समन्वयवादी भन्नेहरू आज एउटा कोठा भित्र कम्युनिष्ट पार्टी चलाएर बसेका श्रेष्ठले बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा तर्फ अघि बढाउने कुरामा मदन भण्डारीकै विचारले प्रेरित गरेको उहाँको धारणा छ । यद्यपि उहाँको विचारलाई कति व्यवहारमा कार्यान्वयन गर्न सकियो भन्ने बारेमा भने समीक्षा गर्नुपर्ने उहाँको धारणा छ ।

नेपालको राजनीतिमा व्यवस्था परिवर्तन पछि अहिले कयौँ प्रश्न उठिरहेका बताउँदै उहाँले जनताको बहुदलीय जनवादको प्रकाश मार्फत त्यसको व्यवहारिक जवाफ दिनु पर्नेमा उहाँले जोड दिनुभयो । सम्बोधन गर्नुपर्ने कतिपय काम र व्यवहार प्रयोग गर्न नसक्दा कयौँ विचलन आएका उहाँले बताउनुभयो । त्यसलाई सुधार गरेर अघि बढ्नु पर्नेमा उहाँको धारणा छ ।