काठमाडौं, ६ जेठ। प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले सुशासन प्रशासनिक क्षमता मात्र नभएर नैतिक अनुशासन पनि भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेम्वाङले योजना बनाउने मात्र होइन त्यसलाई सममा नै सम्पन्न गर्ने कुरा पनि सुशासनसँग जोडिने बताउनुभयो । ‘सुशासन केवल प्रशासनिक क्षमताको कुरा मात्र होइन, योसँगै नैतिकता र इमानदारिता पनि गहिरो रूपमा जोडिएको विषय हो, योजना बनाउने मात्र होइन त्यसलाई समयमा नै सम्पन्न गर्ने उत्तरदायित्व राज्यको हुन्छ’, उहाँले भन्नुभयो ।
राज्यले थालेका धेरै योजनाहरू समयमा सम्पन्न नहुँदा त्यसले सुशासनमा चुनौती दिएका नेम्वाङले बताउनुभयो । शिक्षा, स्वास्थ्य पर्यटन लगायतका कुरा गर्दा त्यहाँसम्म पुग्ने सबैभन्दा पहिलो पूर्वाधार सडक नै भएको तर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो ।
धेरै सडक योजना समयमा सम्पन्न नहुँदा ती सबै क्षेत्रको विकासमा बाधा परेको नेम्वाङको भनाइ छ । ‘बाटो र पुल बिना यी विकासका योजना अधुरै रहन्छन्’, उहाँले भन्नुभयो ।
उहाँले विकासका योजनाहरूले किन हालसम्म पूर्णता पाउन सकेनन् भन्दै सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । नेम्वाङले विकास निर्माणका काम समय सीमा भित्र पुरा गर्न आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्