काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले देशको आर्थिक अवस्था निक्कै नाजुक भएको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित ‘बदलिँदो विश्व परिवेशमा नेपालले अङ्गाल्नुपर्ने आर्थिक नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै नेता कोइरालाले दुई ठुला मुलुकका बिचमा रहेको नेपाल अहिले निक्कै अप्ठेरो स्थितिमा रहेको बताउनुभयो । धेरै सहयोगी संस्थाहरू नेपालबाट फर्किएकाले अब देश आफैँ सक्षम भएर अघि बढ्नु पर्ने उहाँले बताउनुभयो । ‘हामी सक्छौँ भनेर सोचौँ न, अझै पनि हामीले अमेरिकाको ऋण खोज्नु पर्छ भने हामी सबैलाई धिक्का छ’, उहाँले भन्नुभयो ।
कोइरालाले भ्रष्टाचारलाई शून्यमा झार्न र दण्डहीनतालाई अन्त्य गर्न सके देशमा सुशासन कायम हुने र सुशासन कायम भए देश आफ्नै हिसाबले चल्न सक्ने बताउनुभयो । ‘यति मात्रै गर्न सक्यौँ भने पनि हामी धेरै अगाडि बढ्न सक्छौँ, व्यवस्थापन गर्न सक्यौँ भने हामी ठिक ठाउँमा पुग्छौँ’, कोइरालाले भन्नुभयो ।
उहाँले अहिले जे जति आर्थिक चहलपहल देखिरहेको छ त्यो सबै रेमिट्यान्सबाट मात्रै भएको बताउनुभयो । १ खरब ४० अरब प्रति महिना रेमिटेन्स औपचारिक बाटोबाट आउने गरेको उहाँले बताउनुभयो । ‘हामीलाई खाडीमा गएका नेपालीहरूले बचाइरहेका छन्’, उहाँले भन्नुभयो ।
उहाँले अब हरेक क्षेत्र डिजिटलाइजेसन तर्फ जानु पर्ने बताउनुभयो । पहिला–पहिलो डिजिटलाइजेसन भनेको पढेलेखेकाको लागि मात्र चाहिन्छ भन्ने मानसिकता रहेको बताउँदै उहाँले अब गाउँका किसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषयमा लाग्ने पर्नेमा कोइरालाले जोड दिनुभयो । ‘गाउँका किसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषय महत्त्वपूर्ण रहेछ, त्यहाँबाट उनीहरूले उत्पादन बढाउन सक्छन् । मार्केटमा त्यहाँबाट आफ्नो प्रोडक्ट पुर्याउन सक्छन्’, उहाँले भन्नुभयो ।
कोइरालाले फजुल खर्च रोक्नु पर्ने सुझाव दिनुभयो । चालु खर्च घटाउने पुँजीगत खर्च बढाउने तर्फ सरकार लाग्नु पर्ने कोइरालाले बताउनुभयो ।
उहाँले सडक, हाइड्रोपावर लगायतका ठुला ठुला योजनाहरू सरकारले लोन लिएर बनाउन छाड्नु पर्ने बताउनुभयो । त्यस्ता योजना अब निजी क्षेत्रलाई दिनुपर्ने उहाँको धारणा छ ।
उहाँले दण्डहीनतालाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । भ्रष्टाचारमा लिप्त भएर देश विकास गर्न नसकिनेमा उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्