जनता टाइम्स

७ जेष्ठ २०८२, बुधबार १८:४७

नवराज सुवेदीले रास्वपालाई पठाए पत्र, राजावादी आन्दोलनमा सहभागी हुन निम्तो 


काठमाडौं, ७ जेठ। राजावादीले सञ्चालन गरेको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई  सो समूहले चलाएको राजा फर्काउने आन्दोलनमा सहभागी हुन निम्तो पठाउनुभएको छ ।

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई पत्र लेख्दै सुवेदीले जेठ १५ गतेदेखि राजावादीले गर्न लागेको संवैधानिक राजसंस्था, सनातन हिन्दु राष्ट्र र बहुदलीय प्रजातन्त्र पुनः प्राप्तिका लागि देशव्यापी रूपमा आन्दोलन सञ्चालन गर्न लागिएको भन्दै त्यसमा सहभागी हुन आग्रह गर्नुभएको छ । वर्तमान राजनीतिक व्यवस्थाले नेपाली जनताको सुशासन, समृद्धि र राष्ट्रिय पहिचानको अपेक्षा पुरा गर्न असफल भएको भन्दै धर्म, संस्कृति र मौलिक मूल्य, मान्यतामा आधारित सनातन पहिचान गम्भीर संकटमा परेको सुवेदीले पठाउनु भएको पत्रमा उल्लेख छ ।

रास्वपा सभापति रवि लामिछानेले पनि वर्तमान व्यवस्थाको कारण निष्पक्ष न्याय पाउन नसकेको भन्दै रास्वपालाई उकास्ने प्रयास गरिएको छ । ‘तपाईँको पार्टीका सभापति श्री रवि लामिछानेज्यूले पनि हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शङ्का व्यक्त गर्नुभएको तथ्य सर्वविदित छ, राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अङ्गहरू दलीय हस्तक्षेप र दलीयकरणको गम्भीर सिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईँहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ,  यसैले वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा हामीबिच साझा समझदारी हुन सक्ने आशा लिएको छु’, सुवेदीले पत्रमा लेख्नु भएको छ ।

रास्वपाको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्थाप्रतिको आलोचनालाई दृष्टिगत गर्दा राजावादीको आन्दोलनसँग रास्वपाको सहकार्य हुने सुवेदीको निष्कर्ष छ । ‘आउनुहोस्, यो चरम दलीयकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनः स्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौँ, संवैधानिक राजसंस्था, सनातन हिन्दु राष्ट्र, बहुदलीय प्रजातन्त्र पुनर्स्थापना गरौँ’, पत्रमा लेखिएको छ ।