काठमाडौं, १५ जेठ । गणतान्त्रिक शक्तीबीचको सहकार्य अपरिहार्य छः अध्यक्ष प्रचण्ड(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बतानुभएको छ ।
गणतन्त्र दिवस–२०८२ का अवसरमा आज शुभकामना दिँदै उहाँले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि परिवर्तनकारी शक्तिबीचको एकता र गणतान्त्रिक शक्तिबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभएको हो । पूर्वप्रधानमन्त्री दाहालले गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको कार्यान्वयन गरेर फेरिएको व्यवस्थाअनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रूपान्तरण गर्ने कार्यभार पूरा गर्नेतर्फ दलहरूको ध्यान जानुपर्ने बताउनुभयो । ‘माओवादीको सचेत पहल र आमउत्पीडित जनसमुदायको सहभागितामा सञ्चालित जनयुद्धको जग तथा अन्य गणतान्त्रिक शक्तिको समेत सहकार्यमा भएको ऐतिहासिक जनआन्दोलनको बलबाट गणतन्त्र स्थापना भएको हो’, उहाँले भन्नुभयो , ‘गणतन्त्रवादी यथास्थिति र प्रतिगामी हर्कतका विरुद्ध सङ्घर्ष गर्दै गणतन्त्र र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनुपर्छ ।’
अध्यक्ष दाहालले गणतान्त्रिक सोच, शैली र आचरणको विकास गर्दै गणतान्त्रिक शक्तिबीचको बलियो एकता र सहकार्यका साथ जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुन गणतन्त्र दिवसले प्रेरित गरोस् भनी कामना गर्नुभएको छ। उहाँले गणतन्त्र प्राप्तिका लागि भएको जनयुद्ध र विभिन्न जनआन्दोलनमा प्राण उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली तथा बेपत्ता, घाइते योद्धाको त्याग र समर्पणप्रति सम्मान प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्