जनता टाइम्स

१६ जेष्ठ २०८२, शुक्रबार १४:२६

सडेगलेका विचार बोकेका केही भूत–प्रेतहरू मसानघाटबाट निस्किएका छन् : कैलाशप्रसाद ढुङ्गेल 


हेटौँडा, १६ जेठ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले देशमा केही पुर्न उत्थान वादीहरूले टाउको उठाउने प्रयास गरेका बताउनुभएको छ ।

शुक्रबार नेपाल खेलकुद महासंघ वाग्मती प्रदेशको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले त्यस्तो तत्त्वले नेपाली जनतालाई जिस्क्याएका बताउनुभयो । ‘देशमा यति बेला सडे गलेका विचार बोकेका केही भूत–प्रेतहरू मसानघाटबाट निस्किएका छन्, जसले नेपाली जनतालाई जिस्क्याइ रहेको छ, खिसीटेउडी गरिरहेको छ’, ढुङ्गेलले भन्नुभयो ।

समृद्ध नेपाल, सुखी नेपालीको अभीष्ट पुरा गर्नको लागि अहिले देश भरिका सबै राष्ट्रवादी र लोकतान्त्रिक शक्तिहरू मुलुकमा जुरुक्क उठ्नु पर्ने बेला आएको उहाँले बताउनुभयो । देशमा सङ्कट भएको बताउँदै उहाँले अहिले टाउकोमा लौरो आउँदा भन्दा पनि जोखिमको अवस्था रहेको स्पष्ट पार्नुभयो ।

ढुङ्गेलले झगडा गरेर संगठन बलियो नहुने बताउँदै संगठनलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । संगठनलाई राम्रो बनाउन राम्रो नीति बनाउनु पर्ने बताउँदै उहाँले अधिवेशनमा राम्रो नीति बनाउन आग्रह गर्नुभयो ।