जनता टाइम्स

२७ कार्तिक २०७६, बुधबार ०९:२७

अमेरिका हिडेका नेपालीको दुखभरी कहानी, मलावीमा ३२ दिन बन्धक


काठमाडौं, कात्तिक २७

पर्वतका २२ वर्षीय सरोज (नाम परिवर्तन) का साथीभाइ अधिकांश विदेशमा थिए । ठूला भनिएका देशमा साथीभाइ रहेपछि स्नातक तहमा भर्ना भएका उनलाई पनि विदेश जाने रहर जाग्छ ।

त्यसैक्रममा उनले एक भारतीय एजेन्टलाई भेटाउँछन् । अवैध तरिकाले अमेरिका छिर्न सकिने आशामा ती भारतीयले दक्षिण अमेरिकी देश बोलिभियासम्म पु¥याइदिने बताए । विदेश जाने हुटहुटी लागेका सरोजलाई यो अवसर सुन्दा निक्कै राम्रो लाग्यो । यसैक्रममा सरोजको भेट निरोज (नाम परिवर्तन) सँग भयो । उनी पनि त्यहीँ जाने तर्खरमा रहेका थिए । झन्डै एक वर्षअघि उनीहरू नेपालबाट थाइल्यान्ड हुँदै भियतनामका लागि उडे । तर, संयोग एउटै जिल्लाबासी भए पनि अपरिचित उनीहरू नेपालबाट भियतनाम पुग्दा मात्र साथी भएका थिए ।

नेपालबाट उनीहरू भियतनामा पुगे । त्यहाँ पुगेका तीनजनासँग थप एक नेपाली जोडिए । १४ वर्ष वैदेशिक रोजगारीको शिलशिलामा कतार र दुबईमा बसिसकेका अनुभवी नारायण (नाम परिवर्तन) राम्रै जागिर छाडेर बोलिभियाको यात्रामा थिए । यी चारै जनाको भारतीय एजेन्टसँग कुराकानी भइरहेको थियो । एजेन्टले उनीहरूलाई भियतनामको एउटा होटेलमा राखेका थिए ।

एक दिन दुई दिन भन्दै २२ दिन उनीहरूले होटेलमै बिताए । त्यसपछि उनीहरूलाई इथोपिया पु¥याइयो । चारै जनालाई इथोपियाको राजधानी अदिसअबाबामा राखियो । त्यहाँ पनि राम्रो होटेल । खानेबस्ने र घुम्ने व्यवस्था पनि थियो । उनीहरूलाई समय बितेको खासै पत्तो भएन । त्यहाँबाट उडाउँछु भन्दा भन्दै ४ महिना बित्यो ।

चार महिनापछि भने चार जनाको समूह छुट्टियो । तीन जना मेडागास्करतिर लागे । सरोज चाहिँ दुबई । उनीहरूको भिषा सकिएकाले यसो गर्न परेको जानकारी उनीहरूलाई एजेन्टले दिएका थिए । २५ दिनसम्म उनीहरूले होटेलमै बसे । फेरि त्यहाँबाट उनीहरूलाई जोर्डन लगियो । जोर्डनमा भने पुनः चारै जनाको भेट भयो । त्यहाँ उनीहरूलाई अपार्टमेन्टमा राखिएको थियो । महिनौँ बितिसके पनि उनीहरूको आशा मरिसकेको थिएन । बोलेभिया पुग्ने भन्ने नै थियो ।

३५ दिनपछि फेरि चारै जनालाई दुबई फर्काइयो । एजेन्टले पैसा दिन्थ्यो, अपार्टमेन्टमा उनीहरू आफैँ पकाउँथे र खान्थे । करिब दुई महिना उनीहरू दुबईमै रहे । भिसा सकिएछ, दुबईमा ओभरस्टे देखिए पनि सबै एजेन्टले तिरिदियो । त्यसपछि उनीहरूलाई अजरबैजन लगियो । त्यहाँ उनीहरूले १८ दिन बिताउँदा सबै राम्रै थियो । त्यसपछि उनीहरू मलावीतर्फ गए ।

त्यसपछि भने उनीहरूको कष्टकर जीवन सुरु भयो । उनीहरूमध्ये नारायण अंग्रेजीसमेत राम्रो बोल्न जान्ने भएकाले समूहका लिडर नै भए । अक्टोबर २ मा उनीहरू मलावी पुगेका थिए । उनीहरूलाई एउटा घरमा राखियो । एजेन्ट एयरपोर्टमा नै पुगेका रहेछन् । पहिलोपटक उनीहरूलाई एजेन्ट रिसिभ गर्न पुगेका थिए । तर, यहाँको बसाई अघिल्ला ठाउँहरूभन्दा फरक रह्यो । १५ दिनपछि उनीसँग पैसा माग्न थालियो । कुटपिटको सुरुआत पनि त्यही निहुँमा हुन थाल्यो । उनीहरूको राहदानी त्यहीँका एजेन्टहरूकै नियन्त्रणमा थियो । घरबाट पनि बाहिर निस्किन पाउने कुरै भएन । कुटपिट चाहिँ जारी रह्यो ।

उनीहरू बसेको घरमा स्थानीय युवा आएर कुटपिट गर्दै घरबाट पैसा माग्थ्यो । ‘घरबाट पैसा झिका, नत्र मार्दिन्छौँ’, उनीहरूले भनेको कुरा सुनाए । मलावीको ब्लान्टायर सहरको एक घरमा बन्धक बनाइएका उनीहरू सामु धम्की जारी थियो । मलावीको एक घरभित्र बन्धक भएका उनीहरूले घर परिवारसँग पैसा माग्ने बहानमा सम्पर्क गर्न पाए । ह्वाटस् एपमार्फत् परिवारका सदस्यसँग कुराकानी भयो । परिवारका सदस्यले मानव बेचबिखन अनुसन्धान ब्युरोलाई खबर गरे । अनुसन्धानको जिम्मेवारी डिएसपी नरहरि रेग्मीले लिए ।

त्यसपछि ह्वाट्स एपबाटै उनीहरूको डिएसपी रेग्मीसँग कुराकानी हुन थाल्यो । यो कुरा एजेन्टलाई भने थाहा थिएन । ब्युरोको टोलीले मलावीको प्रहरीसँग समन्वय ग¥यो । उनीहरूले बन्धकमा परेको ठाँउको लोकेसन ह्वाट्स एपबाटै पठाए । त्यसैलाई ट्रयाक गरेर स्थानीय प्रहरीले उद्धार गरेको हो । २१ कात्तिकमा मलावीको दक्षिणमा रहेको एक गाउँबाट पर्वतका ४, दाङका १, रुकुमका १ गरी ६ जना युवालाई उद्धार गरेको थियो । उद्धार गरिएका मध्ये चार जनालाई ब्युरोले नेपाल फर्काइसकेको छ । बाँकी दुई जनालाई नेपाल फर्काउने क्रममा रहेको ब्युरोले जनाएको छ ।

यस्तै, मलावी प्रहरीले घरमा बन्धक बनाएर राख्ने काममा संलग्न भारतीय मूलका नाजिर अहमदलाई मानव बेचबिखन तथा ओसारपसार गरेको अभियोगमा पक्राउ गरेको छ । यसरी मलावी पु¥याइएका ६ नेपाली युवासँग अहमदले २० हजार अमेरिकी डलर माग्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

‘परिवारसँग सम्पर्क भएपछि हामीले उद्धारको तयारी गरेका थियौँ,’ डिएसपी रेग्मीले भने । अहिले पनि मलावीमा अझै दुई जना नेपाली प्रहरीकै सम्पर्कमा छन् । परिवारले टिकटको पैसा पठाउन नसक्दा उनीहरूलाई उद्धार गर्न सकिएको छैन । त्यस्तै अन्य समूहका अरू पाँच जना बन्धक परेको जानकारी नेपाल प्रहरीले पाएको छ । उनीहरूको उद्धारको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तस्करका अनेक रुट

पहिले नेपालबाट भारत अनि त्यहाँबाट रुस, ब्राजिल वा स्पेन हुँदै बोलिभिया, पेरु, कोलम्बिया, इक्वेडर, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमालाबाट मेक्सिको लगिन्थ्यो । अहिले ल्याटिन अमेरिकी देश बोलिभिया, ब्राजिल, सुरिनाम, गुयना वा कोलम्बिया हुँदै मेक्सिको छिराउने विभिन्न रुट चल्तीमा देखिएको ब्युरोले जनाएको छ । विभिन्न देशमा सक्रिय रहने तस्करहरूले अनुकूलता हेरेर रुट बदल्ने गरेका छन् ।

२०७५ वैशाखमा अमेरिका हिँडेका युवतीलाई गिरोहले भारतबाट रुस, कोलम्बिया हुँदै हैटी पुर्‍याएको थियो । हैटीबाट क्यारेबियन समुद्र तरेर बहामास टापु जाँदै गर्दा बाटो बिराएपछि १८ दिनसम्म जहाज समुद्रमै हरायो । पर्याप्त खाद्यान्न र पानी नभएपछि भक्तपुरकी सुमित्रा कुँवरको जहाजमै ज्यान गुमाइन् । मलावीबाट उद्धार गरिएकाहरूलाई पनि गिरोहले मेक्सिकोबाट अमेरिका छिराउने प्रयत्न गरेको थियो । तर, सेटिङ नमिलेर वा पीडितबाट थप पैसा असुल्न तस्करहरूले महिनौं विभिन्न देशमा झुलाएर बन्धक बनाउने गरेको देखिन्छ ।

अनअराइभल भिसा पाइने भएकाले पहिले बोलिभिया पुर्‍याउने र त्यहाँबाट ठाउँठाउँका एजेन्टलाई पैसा खुवाएर विभिन्न रुट हुँदै मेक्सिको लगिन्छ । कतिपय एजेन्टले सुरिनाम, गुयना, बेलिजजस्ता टापु राष्ट्र हुँदै मेक्सिको लैजाने गरेको देखिन्छ । पछिल्लो समय प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोल र अमेरिकी सुरक्षा निकायहरूको चासोसमेत बोलिभियाको अध्यागमनमा केन्द्रित हुन थालेको छ ।

डीएसपी रेग्मीको अनुभवमा तस्करहरूले अनेक देशको भिसा लिने र त्यहाँबाट सेटिङ मिलाएर मेक्सिको जाने रुट प्रयोग गर्छन् । ‘ती देशमा सक्रिय तस्करहरूले सुरुमा जसरी हुन्छ लैजाने, पछि विभिन्न बहानामा झुलाउँदै आर्थिक शोषण गर्ने र उपाय नलागेपछि धम्क्याउँदै बन्धक बनाउने गरेको देखिन्छ,’ उनले भने ।