जनता टाइम्स

२८ मंसिर २०७६, शनिबार १०:५८

यसरी सार्थक बन्दैछ प्रधानमन्त्री ओलीका प्रतिबद्धता


२०७४ सालको सङ्घीय एवं प्रदेशसभाको निर्वाचनको प्रचार प्रसारका बेला नै तत्कालीन वाम गठबन्धनका ‘कमाण्डर’ केपी शर्मा ओलीले आगामी सरकार वामपन्थीको बन्ने र त्यसले सुशासन र देश विकासको कामलाई तीव्र गतिका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । १६, कात्तिक २०७४ मा झापाबाट सुरु भएको उहाँको चुनावी अभियान मङ्सिर १८ गते भक्तपुरमा समापन भएको थियो । त्यस अवधिमा उहाँले २६ जिल्लाका करिब एक सयवटा ठूला आमसभालाई सम्बोधन गर्नुभयो । त्यसबेला जनतासँग गरेका प्रतिबद्धता र अहिले ओलीको नेतृत्वले गरिरहेका विकास र राष्ट्रियताका कामको तुलना गर्नु मनासिव हुन्छ ।

पहिलो प्रधानमन्त्रीकालमा भारतले लगाएको नाकाबन्दीका सामु नझुकेका कारण ओलीको राष्ट्रवादी छवि ह्वात्तै उचालियो । आम जनताले उहाँलाई विश्वास गरे । मतदाताहरूमा नेपालको राष्ट्रहितका लागि जोखिम उठाउन सक्ने नेता ओली नै हुन् अरूबाट त्यो जोखिम मोल्ने साहस हुनै सक्दैन भन्ने देखिन्थ्यो । दोस्रो, ओलीले अघिल्लो प्रधानमन्त्रीकालमा विकासमा ठूला योजना सञ्चालन गर्ने घोषणाबाट मानिसहरू आशावादी थिए । जस्तो कि ओलीले प्रधानमन्त्रीको भएको १० दिन नबित्दै एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गर्नुभएको थियो । दैनिक १८ घण्टासम्म लोडसेडिङ व्यहोरेका नेपालीका लागि ओलीको त्यो घोषणा रमाइलो किस्साजस्तो भएको थियो । वर्ष दिन बित्न नपाउँदै प्रधानमन्त्री पदबाट राजिनामा दिनु परे पनि ओलीले भनेकै समयमा लोडसेडिङ समाप्त भयो । यो उपलब्धिपछि मान्छेमा ओलीले बोलेका कुरा किस्सा, कहानी मात्र होइन रहेछन्, पूरा गर्ने रहेछन् भन्ने विश्वास जाग्यो ।

जनता देशमा व्याप्त भ्रष्टाचार र बेथितिबाट आक्रान्त छन् भन्ने ओलीलाई राम्रोसँग थाहा थियो । देशमा विधिको शासन मर्दै गएको, दण्डहीनता बढेकाजस्ता विकृति अन्त्य गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको मुहार आफूले हेर्न चाहेको सयवटै आमसभामा दोहो¥याउनु भएको थियो । हो ती चुनावका प्रतिबद्धता क्रमशः यथार्थमा परिणत हुँदैछन् । ओली प्रधानमन्त्री भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका बहालवाला आयुक्त भ्रष्टाचार आरोपमा जेलमा छन् भने पूर्व प्रमुख आयुक्त पनि अनुसन्धानको दायरामा छन् । कतिपयले अहिले भ्रष्टाचारका अभियुक्त पक्राउ पर्नुलाई भ्रष्टाचार बढेको अर्थ लगाइरहेका छन् । तर केही समय अघि ओलीले यसको सटीक जवाफ दिनुभएको छ ‘अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो ।’ यसको अर्थ विगतका सरकार र प्रशासनले भ्रष्टाचार गर्नेलाई देखेको नदेख्यै गरे, वर्तमान सरकारले त्यस्ता व्यक्तिलाई कानुनको कठघरामा उभ्यायो ।

ओलीले ६ कात्तिक, २०७४ मा बुटवलमा भएको चुनावी सभामा पूर्व पश्चिम राजमार्ग छ लेनको बनाउने भन्नुभएको थियो । घोषणा बमोजिम उहाँले ८ चैत, २०७५ मा बुटवलबाट पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार कार्यको शिलान्यास गर्नुभयो । चुनावका बेला छ लेन भनिए पनि चार लेनले नै यस राजमार्गमा सञ्चालन हुने सवारी धान्ने प्राविधिक प्रतिवेदन अनुसार दुई लेनबाट चार लेनमा विस्तार गरिने भएको हो । अहिले सो राजमार्गको बुटवल–नारायणगढ खण्ड धमाधम निर्माण भइरहेको छ ।

१३ असोज, २०७६ मा ललितपुरको भैँसेपाटीमा प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको शिलान्यासका क्रममा विकासलाई आफूले अभियानकै रूपमा अघि बढाएको दृष्टान्त दिँदै प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा भन्नुभएको थियो, “यो विकास ओलीका लागि होइन, भोलिका लागि हो ।” हो, ओलीले आफ्ना लागि भन्दा पनि देश र जनताका लागि स्वास्थ्यलाई नै दाउमा राखेर अहोरात्र खटिरहनुभएको छ । उहाँको काम गर्ने शैली र उच्च आत्मबलले भोलिको सुखी नेपाली र समृद्ध नेपालको मार्गचित्र कोरेको छ । ८ चैत २०७४ मा बुद्धिजीवीहरूसँग एउटा भेटघाटमा देश विकास गर्ने उत्कट चाहनाले नै प्रतिकूल स्वास्थ्यका बीच पनि रातदिन काममा खटेको बताउनुभएको थियो । बुद्धिजीवीहरूबीच उहाँले भन्नुभएको थियो ‘यो एउटा युग परिवर्तनको समय हो । हामीसँग धैर्य गरेर बस्ने समय अब छैन । अन्यथा म यो कमजोर स्वास्थ्यका बीच यहाँ आएर दुःख गर्ने थिइनँ । रातभरि बसेर काम गर्ने थिइनँ ।’

ओलीले चुनावका बेला धेरै उठाएको अर्को विषय समुद्रमा नेपाली झण्डावाहक पानीजहाज र केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेल, पूर्वपश्चिम रेल र भारतका सीमावर्ती क्षेत्रबाट दक्षिण उत्तर रेल सञ्चालनको विषय थियो । ४ जेठ, २०७३ मा तत्कालीन अखिल नेपाल महिला सङ्घको राष्ट्रिय भेलामा प्रशान्त महासागरमा नेपाली झण्डावाहक पानीजहाज सञ्चालन गर्ने घोषणा उहाँले गरेपछि नेपालीका लागि नौलो लागेको यो विषयलाई काँग्रेसले खुबै विरोध गफ्यो । तरुण दलले बालुवाटारमा कागजको रेल र बाल्टीमा खेलौना पानीजहाज राखेर व्यङ्ग्य ग¥यो । तर काँग्रेसले कागजको रेल बनाएको ११ महिना नपुग्दै स्थानीय तहको निर्वाचनमा जारी गरेको घोषणापत्रको बाहिरी पृष्ठमा नै पहाड छेडेर आएको चुच्चे रेलको चित्र राख्न बाध्य भयो ।

यसको अर्थ प्रधानमन्त्री ओलीले विकासमा जुन प्रकारको नयाँ ‘ड्राइभ’ को परिकल्पना गर्नुभयो, आम जनताले साथ दिए । कुनै न कुनै प्रयोजनमा विदेश घुमेका नेपाली रेल, पानीजहाज चढेर फर्किएका छन् । ठूला र चिल्ला सडक पनि देखेका छन् । चुल्हा चुल्हामा जोडिएको ग्यासबाट बनाइएको खाना पनि खाएर फर्किएका छन् । उनीहरू ओलीले उजागर गरेका यी विकासे काम विदेशमा हुनसक्छन् भने नेपालमा नहुनुपर्ने कारण छैनन् भन्नेमा स्पष्ट छन् । ओलीका यी घोषणालाई सत्यताको नजिक र गर्न सजिलै सकिने रूपमा बुझे । र, आम मानिसमा आधुनिक विकासको प्यास जागृत भएको छ । यो प्यास मेटाउन सक्ने राजनेता ओली नै हुन् भन्ने विश्वास बढेको छ ।

कोशीमा अहिले स्टिमर चलाइएको छ । प्रधानमन्त्री ओलीले नेपाली झण्डावाहक पानीजहाजलाई बहसमा ल्याएको केही समयमा नै व्यवसायीहरूले सानै सही तर त्यस प्रकारका जहाजको झल्को दिने गरी स्टिमर सञ्चालन गरिरहेका छन् । विकास निम्ति राजनीतिक नेताले लिएको दृष्टिकोणले आम मानिसमा कस्तो प्रभाव पर्दोरहेछ भन्ने यही कोशीको स्टिमरलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको थियो । उहाँको भनाइ थियो, ‘कोशी त बगिराखेको थियो । तर पानीजहाजभन्दा केही मान्छेले मजाक उडाए । पानीजहाजका चर्चा चलेपछि त्यहाँका उत्साही युवाले त्यहाँ पानीजहाज आफ्नो बुता अनुसारको बनाएर सञ्चालन गरे । अब भोजपुर त चतराबाट २० मिनेटको बाटो भयो । मान्छेले मजाक उडाउँदै गर्छन् । तर कति दिन लगाएर हिँड्ने बाटो अथवा दिनभरि लगाएर पुग्नुपर्ने मोटरबाटो त्यो त २० मिनेटको बाटो भयो ।’

वर्तमान सरकार देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हो । परम्परागत रूपमा भइरहेको विकासलाई प्रधानमन्त्रीको सक्रियताले ‘ब्रेक थ्रु’ गरेको छ । कतिपय निर्माणका कामहरू निर्धारित समयभन्दा अघि नै सकिएका छन् । धेरैवटा विकास निर्माणका काममा अब विलम्ब हुनेछैन र वर्षौंदेखि एउटै काम सम्पन्न भएन भनेर दुःख मान्नुपर्ने छैन । सरकार आफू जिम्मेवार हुने र मातहतका निकायलाई जिम्मेवार बनाउने अभियान सार्थक हुँदैछ । जसले भविष्यप्रति आम मानिसको भरोसा पनि बढ्दैछ । प्रधानमन्त्री ओलीले चुनावी आमसभामा बारम्बार दोहोर्याएको अर्को विषय राजनीतिक स्थिरता हो । केही समय अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले वर्तमान प्रधानमन्त्रीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने निर्णय गरेपछि राजनीतिक स्थिरताको प्रतिबद्धता पनि पूरा हुने भएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ८ चैत, २०७४ ओलीले वर्तमान सरकार कस्तो हो र यसले कसरी काम गर्छ भन्ने एउटा सङ्केत गर्नुभएको थियो । कमजोर स्वास्थ्यका बीच पनि देश निर्माणको सपना सार्थक बनाउन निरन्तर लाग्ने उहाँको भनाइ थियो, ‘अहिलेको सरकार देशको एउटा टर्निङ प्वाइन्ट हो । अहिले हामी टर्निङ प्वाइन्टमा छौँ । यो एउटा माइलस्टोन हो, पुरानो अवस्थाको अन्त्य र नयाँतर्फको प्रस्थानबिन्दु हो । तसर्थ यो सरकार परिवर्तन मात्र होइन । यसले छोटो समयमा नै जनताले अनुभूत हुने गरी काम गर्नेछ ।’ आफ्नो स्वास्थ्य समस्यालाई समस्याको रूपमा नलिने उच्च मनोबलयुक्त प्रधानमन्त्री ओलीले दोस्रो कार्यकालको २१ महिनामा करिब ८० वटा ठूला योजनाको शिलान्यास र उद््घाटन गर्नुभएको छ । आफ्नै कार्यकालमा शिलान्यास गरेको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन निर्माण निर्धारित समयभन्दा अगावै सम्पन्न भएर उहाँले उद्घाटन गर्नुभएको छ । अब क्रमैसँग अन्य आयोजना उद््घाटनमा पुग्नेछन् । र, जनताले ओलीको नेतृत्वमा द्रुत विकासको अनूभूति गर्दै जानेछन् ।