जनता टाइम्स

२ पुष २०७६, बुधबार २१:०३

अर्थतन्त्रमा देखियो सरकारको जादु : चार महिनामा २७ अर्ब बढि रकम बचत


काठमाडौं, पुष २

चालु आर्थिक वर्षको पहिलो चार महिनामा अर्थतन्त्र २७ अर्ब २९ करोड रुपैयाँले बचतमा देखिएको छ । आयात वृद्धिदर घटेको, विदेशी लगानी बढेको, अध्ययनका लागि बाहिरिने रकम घटेकोलगायत कारण शोधनान्तर (भुक्तानी सन्तुलन) बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको कात्तिक महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो सुधारको संकेत देखाएको हो ।

मुलुकबाट बाहिरिने र भित्रिने रकमको अन्तर देखाउने शोधनान्तर गत वर्ष भरी नै घाटामा थियो । यो आर्थिक वर्षको सुरुदेखि नै शोधनान्तर बचतमा छ । यसको अर्थ मुलुकबाट बाहिरिने रकम भन्दा भित्रिने धेरै छ भन्ने हो ।

०७५ कात्तिकसम्म शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोडले घाटामा थियो । यस्तै, अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनासम्ममा ५० करोड ३६ लाखले घाटामा थियो । यो वर्षको चार महिनामा २४ करोड ८ लाखले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत कात्तिकसम्म मुलुकको चालु खाता ३७ अर्ब ३० करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८८ अर्ब ४३ करोड थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनासम्ममा ७७ करोड २१ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ३२ करोड ८८ लाख रहेको छ । यसैगरी, चार महिनाको अवधिमा प्रत्यक्ष वैदेशिक लगानी करिब १६ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । ०७५ कात्तिकमा यस्तो लगानी ४ अर्ब २४ करोड रुपैयाँ थियो ।

केन्द्रीय बैंकका अनुसार पहिलो ४ महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.७६ प्रतिशत छ । ४ महिनाको औसत मुद्रास्फीति भने ६.२७ प्रतिशत छ । पहिलो ४ महिनामा आयात ६.९ प्रतिशतले घटेको छ । निर्यात भने २३.९ प्रतिशतले बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भए पनि विप्रेषण आप्रवाह पनि २.३ प्रतिशतले घटेको छ । यसैगरी शोधनान्तर स्थिति २७ अर्ब २९ करोड रुपैयाँले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ कायम भएको छ । उक्त सञ्चिति ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

यस अवधिमा संघीय सरकारको बैंकिङ कारोबारमा आधारित खर्च २ खर्ब १९ अर्ब १७ करोड र राजस्व परिचालन २ खर्ब ७५ अर्ब २ करोड रुपैयाँ छ । विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १५.४ प्रतिशतले बढेको देखिन्छ । यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.१ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.४ प्रतिशत र कर्जाको वृद्धिदर १५.६ प्रतिशत छ ।