कृति वर्णनात्मक, संस्मरणात्मक र आत्मविश्लेषणात्मक शैलीमा लेखिएको छ। घटनाहरू समयक्रमअनुसार प्रस्तुत गरिएकाले पाठकलाई कथाको प्रवाह सहज लाग्छ। आवश्यक ठाउँमा लेखकले आफ्ना अनुभूति, विचार र निष्कर्ष पनि समेटेका छन्, जसले कृतिलाई केवल घटनाको सङ्कलन नभई जीवनदर्शनको अभिव्यक्ति बनाएको छ
अञ्जू कार्की
नेपाली साहित्यमा संस्मरण, आत्मसंस्मरण र पारिवारिक इतिहास लेखनको परम्परा निरन्तर समृद्ध हुँदै गएको छ । यस्ता कृतिहरूले केवल एउटा व्यक्तिको जीवन कथा मात्र प्रस्तुत गर्दैनन्, बरु त्यस समयको समाज, संस्कृति, पारिवारिक संरचना, शिक्षा, जीवनशैली र सामाजिक मूल्यहरूको पनि अभिलेख तयार गर्छन् । यस दृष्टिले भोलानाथ पाठकद्वारा लिखित ‘मनका नाथ, बालनाथ’ उल्लेखनीय कृति हो । लेखकले यसलाई ‘संस्मरणात्मक पारिवारिक इतिहास’ का रूपमा प्रस्तुत गरेका छन, र पुस्तकको अध्ययन गर्दा यो नाम पूर्णतः सार्थक देखिन्छ ।
यो कृति केवल लेखकको आत्मवृत्तान्तमा सीमित छैन । यसले एक परिवारको वंशावली, पुस्तान्तरण, सामाजिक रूपान्तरण, जीवनसंघर्ष, नैतिक मूल्य, शिक्षा, श्रम, अनुशासन र मानवीय सम्बन्धलाई एउटै सूत्रमा गाँसेको छ । त्यसैले यो पुस्तक व्यक्तिगत संस्मरण मात्र नभई नेपाली समाजको एउटा कालखण्डको सामाजिक इतिहास पनि हो ।
कृतिको संरचना
२०८३ साल असारमा प्रकाशित यस कृतिमा ३३ वटा अध्याय समावेश छन् । पुस्तकको सुरुवात पूर्वलिखित पुस्तकसम्म पर्छ । त्यसपछि मनोहरी पाठकको पारिवारिक इतिहास, हजुरबुबा चेतनाथ पाठकको सेवा र संघर्ष, बालनाथ पाठकको जन्म र प्रारम्भिक जीवन, भारतसम्मको यात्रा, विवाह, सन्तान, संयोगले पाएको जीवन, पहिलो हुनुपर्द, मृत्युको पूर्वाभास, शिक्षामा बुबाको योगदान, कालिदेवी विद्यालयको स्थापना, वातावरणप्रति बुबाको प्रेम, जागिर, कृषिमा आधुनिकीकरण, आमाको माया, बुबाको मृत्युपछि आमाको हेरचाह, परिवार र आफन्तको नजरमा बुबा, वंशावली तथा तीर्थयात्रासम्मका विविध विषयलाई क्रमबद्ध रूपमा प्रस्तुत गरिएको छ। विषयसूची हेर्दा नै पुस्तकले एउटा व्यक्तिको जीवनभन्दा धेरै व्यापक आयाम समेटेको स्पष्ट हुन्छ ।
विषयवस्तु
पुस्तकको मूल केन्द्र लेखकको जीवन भए पनि यसको वास्तविक विषय परिवार, समाज र जीवनको निरन्तरता हो । लेखकले आफ्ना पुर्खादेखि वर्तमान पुस्तासम्मको यात्रालाई अत्यन्त आत्मीय र इमानदार ढङ्गले प्रस्तुत गरेका छन । पुस्तकको प्रारम्भिक भागमा हजुरबुबा चेतनाथ पाठक र बाबु बालनाथ पाठकको संघर्ष, सेवा, सामाजिक प्रतिष्ठा, पारिवारिक मूल्य तथा जीवनदृष्टिको चर्चा गरिएको छ । यसले लेखकको व्यक्तित्व निर्माणमा परिवारको प्रभाव कति महत्वपूर्ण हुन्छ भन्ने देखाउँछ ।
त्यसपछि लेखकले आफ्नो बाल्यकाल, शिक्षा, विवाह, सन्तान, जागिर, सामाजिक जिम्मेवारी, कृषि, विद्यालय स्थापना, वातावरण संरक्षण तथा समाजसेवाका अनुभवलाई विस्तारपूर्वक प्रस्तुत गरेका छन । यी सबै घटनाहरूले एउटा सामान्य नेपाली परिवारले भोगेका संघर्ष, अवसर र परिवर्तनलाई जीवन्त बनाउँछन ।
साहित्यिक समीक्षा
कृति : मनका नाथ, बालनाथ (संस्मरणात्मक पारिवारिक इतिहास)
लेखक : भोलानाथ पाठक
प्रकाशक : लेखन कुञ्ज, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौं
सम्पादक : सिर्जना शर्मा
प्रथम संस्करण : २०८३, असार

संयोगले पाएको जीवन : कृतिको भावनात्मक केन्द्र
पुस्तकका सबै अध्यायमध्ये ‘संयोगले पाएको जीवन’ अत्यन्त मार्मिक र स्मरणीय अध्याय हो । लेखकले आफ्नो जन्मको प्रसङ्गलाई अत्यन्त संवेदनशील ढङ्गले प्रस्तुत गरेका छन । धेरै सन्तान भइसकेको अवस्थामा अर्को सन्तान जन्माउने वा नजन्माउने विषयमा आमाबुबाबीच देखिएको द्विविधा, आमाको मानसिक अवस्था तथा बाबुको दृढ निर्णयका कारण आफूले संसार देख्न पाएको अनुभवलाई लेखकले अत्यन्त सरल तर गहिरो शैलीमा अभिव्यक्त गरेका छन ।
लेखकले आफ्नो जन्मलाई केवल जैविक घटना नभई भाग्य, आस्था, मातृत्व, पितृत्व र जीवनको अनमोल उपहारका रूपमा चित्रण गरेका छन्। यस अध्यायले प्रत्येक जीवनको अस्तित्वको मूल्य कति ठूलो हुन्छ भन्ने अनुभूति गराउँछ। यही कारणले यो अध्याय पुस्तकको भावनात्मक केन्द्रका रूपमा स्थापित भएको छ ।
परिवार र सामाजिक मूल्यको प्रस्तुति
यस कृतिको अर्को उल्लेखनीय पक्ष पारिवारिक मूल्यहरूको सशक्त प्रस्तुति हो। लेखकका लागि परिवार केवल रगतको सम्बन्ध होइन, संस्कार, जिम्मेवारी र जीवनको आधार हो। बाबुप्रतिको श्रद्धा, आमाप्रतिको माया, दाजुभाइबीचको सम्बन्ध, सन्तानप्रतिको जिम्मेवारी र आफन्तसँगको आत्मीयता पुस्तकभरि निरन्तर देखिन्छ।
विशेष गरी ‘जुन जस्ती मेरी आमा’, ‘आमाको माया’, ‘आमाको अन्तिम अवस्था’, ‘बुबाको मृत्युपछि आमाको हेरचाह’ जस्ता अध्यायहरूले नेपाली परिवारमा रहेको ममता, त्याग, सहनशीलता र भावनात्मक सम्बन्धलाई अत्यन्त प्रभावकारी ढङ्गले चित्रण गरेका छन्।
शिक्षा, समाजसेवा र विकासप्रतिको दृष्टिकोण
पुस्तक केवल पारिवारिक संस्मरणमा सीमित छैन। लेखकले शिक्षा, समाजसेवा, कृषि आधुनिकीकरण, विद्यालय स्थापना, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वका विषयलाई पनि प्राथमिकता दिएका छन्।
‘शिक्षामा बुबाको योगदान’, ‘कालिदेवी विद्यालयको स्थापना’, ‘कृषिमा आधुनिकीकरण’ तथा ‘वातावरणप्रति बुबाको प्रेम’ जस्ता अध्यायहरूले लेखकको सामाजिक चेतना र विकासप्रतिको दृष्टिकोणलाई उजागर गर्छन्। यी अध्यायहरूले लेखकलाई केवल संस्मरणकार होइन, समाज परिवर्तनका संवाहकका रूपमा पनि चिनाउँछन्।
भाषा–शैली
भोला नाथ पाठकको भाषा सरल, सहज, स्पष्ट र स्वाभाविक छ। उनले साहित्यिक जटिलता वा कृत्रिम अलङ्कारभन्दा अनुभवको सत्यतालाई प्राथमिकता दिएका छन्। पुस्तकको भाषा गाउँघरको आत्मीय बोलीसँग नजिक छ, जसले पाठकलाई लेखकसँग भावनात्मक रूपमा जोड्न मद्दत गर्छ।
लेखकले घटनाहरूलाई कुनै नाटकीय मोड नदिई यथार्थ रूपमा प्रस्तुत गरेका छन्। त्यसैले पुस्तक पढ्दा कुनै काल्पनिक कथा होइन, वास्तविक जीवनको सजीव अनुभव पढिरहेको अनुभूति हुन्छ।
शिल्प र प्रस्तुति
कृति वर्णनात्मक, संस्मरणात्मक र आत्मविश्लेषणात्मक शैलीमा लेखिएको छ। घटनाहरू समयक्रमअनुसार प्रस्तुत गरिएकाले पाठकलाई कथाको प्रवाह सहज लाग्छ। आवश्यक ठाउँमा लेखकले आफ्ना अनुभूति, विचार र निष्कर्ष पनि समेटेका छन्, जसले कृतिलाई केवल घटनाको सङ्कलन नभई जीवनदर्शनको अभिव्यक्ति बनाएको छ ।













प्रतिक्रिया दिनुहोस्