जनता टाइम्स

८ पुष २०७६, मंगलवार १२:१६

यसकारण चलायो प्रहरीले चिनियाँबिरुद्ध अपरेशन : यस्तो छ नेपालमा चिनियाँ नागरिकको अपराध कथा


काठमाडौं, पुस ८ । नेपाल प्रहरीले पहिलो पटक नेपाली भूमिमा रहेका बिदेशी नागरिकबिरुद्ध सवैभन्दा ठूलो अपरेशन चलाएको छ । नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ सुरु गरी १२२ जनालाई पक्राउ गरेको हो ।

नेपालमा अवैध रूपमा बसेका तथा आर्थिक अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको यो नै सबैभन्दा ठूलो अपरेसन हो । पक्राउ परेकामध्ये धेरैजसो इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाजी र ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्न रहेको पाइएको छ । नेपाल प्रहरीले चिनियाँ प्रहरीको अनुरोधमा उनीहरुलाई पक्राउ गरेको हो। नेपालमा रहेका चिनियाँहरूलाई प्रहरीले ठाउँठाउँबाट र समूह–समूहमा पक्राउ गरेको छ । चिनियाँ अधिकारीकै सूचीको आधारमा मनमैजुका चार, बाँसबारीका दुई र बुढानीलकण्ठको एक घरमा छापा मारी प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । यो अभियान अभैm जारी रहने छ । ‘चिनियाँ पक्षले ६ सयजनाको सूची दिएको छ, सोचेभन्दा थोरै मात्र पक्राउ परे, धेरै भागिसकेका हुन सक्छन, त्यसैले यो अपरेसन जारी रहन्छ,’ प्रहरीका एक बरिष्ठ अधिकारीले जनताटाइम्ससँग भने ।

बाँसबारी, नयाँबजार क्षेत्रमा घर नै भाडामा लिएर बस्दै आएका चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल आएका थिए । उनीहरूबाट करिब पाँच सय ल्यापटप तथा मोबाइल बरामद गरिएको छ । प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभागले उनीहरूविरुद्ध सूचना संकलन गरेर पृष्ठभूमि अपरेशन अघि बढाएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी), महानगरीय अपराध महाशाखा र स्थानीय प्रहरीले फिल्डमा अपरेसन चलाएका थिए । कारबाहीका लागि चीनबाट समेत एक दर्जन प्रहरी अधिकारी तथा आइटीविज्ञ गत साता काठमाडौं आएका थिए ।

नेपालबाहेक फिलिपिन्स, मलेसिया, सिंगापुरलगायत पूर्वी एसियाली देशहरूमा अपरेसन गर्न चिनियाँ प्रहरी एकैपटक पुगेको छ । यसका लागि नेपाल र चीनका अधिकारीहरू तीन महिनादेखि तयारीमा रहेको स्रोतको भनाई छ । नेपालमा बसेर चीनमा अपराध गर्ने प्रवृत्ति बढेपछि चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा सुपुर्दगी सन्धि गर्ने तयारी गरेको थियो । तर, त्यसले तिब्बती शरणार्थीलाई समेत समेट्ने भन्दै विरोध भएपछि सहमति हुन सकेन । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा विभिन्न घटनामा एक सयभन्दा धेरै चिनियाँ पक्राउ परिसकेका छन । उनीहरूमध्ये धेरैजसो डलर तस्करीमा संलग्न रहेका थिए । त्यस्तै, सुन, वन्यजन्तुका अंग, जडीबुटी तस्करी, ह्याकिङ तथा अवैध चिकित्सकीय अभ्यासका घटनामा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

यस्तो छ चिनियाँ नागरिकको अपराध डायरी

जनावरका अंग, लागुऔषध, डलरदेखि ८८ किलो सुनसम्म तस्करी गर्न खोजेको आरोपमा पक्राउ ।

१२ मंसिर ०७६ : ८ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ  । हङकङ हुँदै नेपालमा सुन तस्करीको प्रयास ।

२० साउन ०७६ : चिनियाँ नागरिक ली निङ्सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार किलो सुनसहित पक्राउ । हङकङबाट कपडाको बेल्टमा लुकाएर उनले सुन ल्याएका थिए ।

२७ चैत ०७५ : तीन चिनियाँलाई करिब साढे तीन किलो सुनसहित विमानस्थल प्रहरीद्वारा पक्राउ । उनीहरूले मलद्वारमा लुकाएर सुन तस्करीको प्रयास गरेका थिए ।

१२ कात्तिक ०७५ : एक लाख २२ हजार चार सय डलरसहित प्रहरीले एक चिनियाँलाई विमानस्थलमा पक्राउ । नेपालबाट चीनमा डलर तस्करी गर्न खोज्ने क्रममा इरेसा नामक चिनियाँलाई प्रहरीले पक्राउ गरेको थियो ।

४ भदौ ०७५ : समुद्री घोडा तथा बाघको छालासहित तीन चिनियाँ नागरिक ठमेलबाट पक्राउ । काठमाडौं वान होटेलका सञ्चालक चिनियाँ नागरिक चेन क्आङ ठमेलस्थित उनकै होटेलबाट पक्राउ परेका थिए ।

२३ वैशाख ०७५ : चिनियाँ महिला तीन किलो सुनसहित पक्राउ ।

१५ माघ ०७४ : सालकको खपटासहित चिनियाँ नागरिक क्वी जिओरोङ र क्वी लिबाओ विमानस्थलबाट पक्राउ ।

८ पुस ०७४ : जुत्ताभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने चिनियाँ युवती पुकाओ हुलाई दुई किलो सुनसहित प्रहरीले विमानस्थलमै पक्राउ ।

१३ असोज ०७४ : चिनियाँ महिला यानकुन दुवानलाई ४६ हजार चार सय ८० अमेरिकी डलरसहित नेपालबाट भुटान जान खोज्दा पक्राउ।

४ असोज ०७४ : रसुवामा चिनियाँ नागरिक ली वानलाई ५० हजार अमेरिकी डलरसहित पक्राउ ।

७ माघ ०७३ : रसुवाको टिमुरेबाट चिनियाँ नागरिक वाङ चुङ १८ हजार चार सय ३२ अमेरिकी डलरसहित पक्राउ।

१ माघ ०७३ : दुई लाख ६० हजार अमेरिकन डलर, एक लाख १८ हजार युरो र केही अस्ट्रेलियन डलरसहित रसुवातर्फ जाँदै गरेका तीन चिनियाँ नागरिक नागढुंगाबाट पक्राउ ।

१५ जेठ ०७३ : लागुऔषध नियन्त्रण ब्युरोले तीन केजी कोकिनसहित चिनियाँ नागरिक चुन म्यानलाई पक्राउ

३२ जेठ ०७२ : चिनियाँ महिला याङ होङ ९८ हजार पाँच सय डलरसहित विमानस्थलमै पक्राउ ।

१० भदौ ०७२ : विमानस्थलमा एक चिनियाँ नागरिक ७४ हजार अमेरिकी डलर, ७६ हजार युरो, ४८ हजार स्विस फ्र्यांकसहित पक्राउ ।

पुस ०६८ : भक्तपुरको जगातीबाट ९७ हजार दुई सय २३ डलरसहित केही चिनियाँ नागरिक ।

१८ असोज ०६७ : चिनियाँ नागरिक कोविन ली ४० हजार डलरसहित भक्तपुरबाट पक्राउ ।

असोज ०६७ : तीन लाख अमेरिकन डलरसहित तीन चिनियाँ नागरिक स्वयम्भुबाट पक्राउ ।

८ जेठ ०६७ : चिनियाँ नागरिक जिन वाई तथा १९ वर्षीय झाङ यु ताइनसहितको एक समूह ४६ किलो सालकको खपटासहित पक्राउ ।