जनता टाइम्स

१९ पुष २०७६, शनिबार १३:४८

सानै उमेरमा विवाह गर्दाको पीडादायी कथा


मन्दिरा थापा/दोलखा

 सानै उमेरमा नै विवाह गरेर बच्चा जन्माउँदाको पीडा दोलखाको विगु गाउपालिका–८ खोपाचागु निवासी सुस्मा श्रेष्ठले संवेदनशील अवस्थासम्म पनि भोग्न बाध्य बनिन । आठ कक्षा पढदा उनी १५ वर्षको थिइन, त्यहीबेला उनले गाउकै खडका थरका युवकसँग विवाह गरिन । कक्षा १० पढदै गर्दा उनले १७ वर्षको उमेरमा प्रसव पीडा भोग्न बाध्य बनिन ।

२०७६ पौष ११ गते दिउसो ३ बजे प्रसव पिडाले छटपटिएकी सुस्मालाई स्थानीय हेल्थपोष्टमा उपचार हुन नसकेपछि करिब १२ घण्टापछि बिहान ४ बजे खोपाचागुबाट एम्बुलेन्समा राखेर झण्डै चार घण्टा लगाएर बिहान ८ बजे प्राथमिक स्वास्थ्य केन्द्र ल्याइयो । प्राथमिक स्वास्थ्य केन्द्रमा सकुशल शिशुको जन्म दिएकि सुस्मालाई श्वासप्रश्वासमा समस्या देखेपछि तत्कालका लागि काठमाडौं लैजानुपर्ने भयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको पहलमा सुत्केरी उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगियो । उनी मात्र होइन, गत पौष २० गते मेलुङ गाउपालिका वडा नम्बर १ पवटीकी १९ वर्षिया बिन्दा भुजेललाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइयो । ९ महिनामा शिशु जन्मिनुपर्ने भएपनि ७ महिनामा नै प्रसव पीडा बढेकाले सदरमुकाम चरिकोटमा उपचार हुन नसकी काठमाडांै लैजान भनियो । काठमाडौं जादै गर्दा राती साढे ७ बजे उनले एम्बुलेन्समा नै बच्चा जन्माइन । उनलाई पुनः फर्काएर प्राथमिक स्वास्थ्य केन्द्र नै ल्याइयो ।

बच्चा सकुशल त जन्मियो तर उसलाई २४ घण्टा भित्रमा आइसियुमा राख्नुपर्ने भयो । त्यो सुविधा स्थानीय स्तरमा नभएपछि काठमाडौं लैजानुपर्ने भयो । उनलाई भोलीपल्ट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा हेलिकप्टरमार्फत काठमाडौ लगियो । तत्काल उपचार नपाए मृत्युको मुखमा पुगेका २ किशोरीलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारको कार्यविधि बनाएर सेवा विस्तार गरेसंगै बाँच्न सफल भए । तत्काल हेलिकप्टरमार्फत उपचार पाएका यी दुई किशोरीहरु त प्रतिनिधि पात्र मात्रै हुन । दोलखामा अझै पनि बालविवाह न्युनिकरण हुन नसक्दा धेरै आमाहरुले अकालमा ज्यान गुमाउने गरेका छन भने शिशु मृत्युदरको दर पनि बढदै गएको छ । बालबिवाह रोक्न दोलखामा थुप्रै संघ संस्थाले लामो समयदेखि काम गदै आएका छन तर समस्या भने जस्ताको तस्तै रहेको छ ।

बालविवाह गरे सजाय र जरिवानाको कानुनमा व्यवस्था गरिए पनि कार्यन्वयनमा आउन नसकेको महिला अधिकारकर्मी सिर्जना कार्की बताउनु हुन्छ । सानै उमेरमा बच्चा जन्माएका किशोरीहरु प्रसुती हुने बेलामा स्वास्थ्य चौकीमा समेत उमेर ढाँढने गरेको स्वास्थ्यकर्मीको अनुभव छ । दोलखामा बालविवाह गरेका जोडीहरु बिचमै पढाई छोडने, सानै उमेरमा आमा बन्ने, सानै उमेरमा सम्बन्ध विच्छेद गर्ने जस्ता समस्याहरुबाट पनि पिरोलिनु परेको छ । सानै उमेरमा प्रजनन अंगहरुको पुर्ण रुपमा विकास नभएको र यस्तो अवस्थामा विवाह गर्दा शिशु मृत्युदर, मातृ मृत्युदर, मातृ मृत्युदर बढने, पाठेघरको क्यान्सर हुने जस्ता यौनजन्य रोग लाग्नुका साथै अन्य सामाजिक समस्याहरु हुने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

२०७८ सालसम्म प्रदेश नम्बर ३ ले वालविवाहमुक्त प्रदेश घोषणा गर्ने लक्ष्य लिएको छ । तर दोलखामा बालबिबाह बढदो अवस्थामा देखिन्छ । यसले गर्दा प्रदेश सरकारको लक्ष्य पूरा हुन सक्छ कि सक्दैनन भन्ने प्रश्न् उठेको छ । यसतर्फ ध्यान दिन आवश्यक देखिन्छ । आर्थिक विपन्नता, सामाजिक र साँस्कृतिक प्रचलनका कारण बालविवाह हुने गरेको छ । कानुनको प्रभावकारी कार्यान्वयनको अभाव, गुणस्तरीय शिक्षा र शैक्षिक वातावरणको कमीले पनि बालविवाह हुने गरेको यस क्षेत्रमा कार्यरत अभियन्ताहरुको भनाई छ । बालविवाहकै कारण दोलखामा उमेर नपुग्दै आमा बन्नेहरुको संख्या ४५ देखि ५० प्रतिशत रहेको महिला अधिकारकर्मीहरुको भनाई छ ।

दोलखाको ग्रामीण भेगमा अझै पनि संस्कार, संस्कृती, रितिरिवाज तोडनु हुन्न भन्ने मान्यताका साथ बालबिवाहको चलन विद्यमान छ भने अर्कोतिर स्कूल, कलेजमा पढदा पढदै देखासिकीमै लभ म्यारिज गर्ने किशोर किशोरीको संख्या बढदो अवस्थामा छ । सानै उमेरमा हुने विवाह रोक्न सबैले एउटै उदेश्य सानो उमेरमा विवाह गर्ने कुरालाई रोकेर छोरीहरुको शिक्षा पुर्ण गर्ने र सक्षम सवल सशक्त बनाउन आवश्यक देखिन्छ । अब गाउँपालिका, वडाहरुमा बालविवाह रोक्न विभिन्न योजनाहरु सञ्चालन हुन आवश्यक देखिन्छ भने विद्यालय तहमा पनि सचेतना कार्यक्रम गर्नुपर्ने देखिन्छ ।