Single Top Ad

 

मनोरञ्जनमूख्य समाचारसमाचारसमाज

सीता तुम्खेवाको दमदार कविता ‘वीर्यको बतास’ : बाचन सुरु गर्दा चकमन्न, सकिदा तररर…तालीले गुञ्जियो हल 

नारायण ढुङ्गाना/काठमाडौं

नाङ्गिएकी हो ऊ
मर्दको अगाडि सर्वाङ्ग
मर्दकै चाहना, आश्वासन र निर्देशनमा
छोडाएर केस्राकेस्रा अङ्गप्रत्यङ्ग
अँध्यारो कोठाभित्र पटकपटक
मर्दले गरिदियो न्वारान एकपछि अर्काे
काली, डल्ली परी…।

वाचन गरेको पाँचौँ कविताको पहिलो अङ्कको शुरुआतमै हल चकमन्न भए । यसअघि चार वटा रचना वाचन भएको थियो । काठमाडौँको एक समारोहमा ढुङ्गा, राजनीति, बेपत्ता भएको जेठा तथा बुढेसकाल र प्रेम शीर्षकको चार वटा कविताले त्यति साह्रो दर्शकलाई छोएन, जसरी ‘वीर्यको बतास’ले छोयो । नारीले नारीको बेदनालाई उधिनेर समाजलाई चोटिलो प्रहार गर्नु चानचुने कुरा हुँदै होइन । समाजमा उध्रिएको सोचाइको विकृति र विसङगति देख्दा तेह्रथुमकी कवयत्री सीता तुम्खेवालाई नमजा हुन्थ्यो । कविता कोरे पनि भित्रभित्रै गुजुल्ट्याउने बानीले कविता फक्रिन्थेन । एक दिन त्यही समाजलाई विम्ब बनाएर अनायासै कविता कोर्दा यस्तो स्वरुपमा देखापर्यो ।

अँध्यारो बन्द कोठाभित्र
परीका सवाङ्ग खुड्किलाहरु टेकेर
सगरमाथा उक्लिएपछि
परीकै स्वप्निल महकको फेरो समाएर
पुग्यो मर्द…
एक स्वर्गदेखि अर्काे स्वर्गसम्म
बासनाको बादलमा निथ्रुक्कै भिजेर

नारी विद्रोह धारको एउटा शालिन र सशक्त उक्त कविताले स्रोता र पाठकलाई साँच्चै सोचमग्न बनाउँछ । एकपटक टक्क अड्याउँछ । कानूनमा नभए पनि नेपाली समाजमा अझै पितृसतात्मक सोचका अवशेष यत्रतत्र छ । त्यही समाजप्रति शालिन ढङ्गले कवयित्री तुम्खेवाले कवितामार्फत प्रहार गर्नुभयो । हुन त उहाँले कविता सार्वजनिक गर्न थालेको तीन वर्ष मात्रै भयो । कोर्न थालेको भने विसं २०६२/६३ सालदेखि नै हो । धेरै कविता लेख्नुभयो । नारी वेदनालाई कवितामार्फत छर्लङ्ग पार्नुभएकी तुम्खेवाले रस भरेर समाजलाई प्रश्न गर्नुभएको छ । कल्पनामा डुबेर यथार्थ चित्रण गर्ने प्रयास कवितामा प्रष्ट झल्किन्छ । नारीले नारीलाई नै दबाउँछ तर नारी जति नै दोषी भए पनि पुरुषप्रति आडम्बर देखाउँछ भन्ने उक्त कविताको आमा पात्रले चित्रित गरिदिन्छिन् ।

त्यो दिन
बन्द कोठाभित्र मुर्झाएर कथित मर्द
आफ्नै वीर्यमाथि लतपतिएकै हो
तर, जब कोठाको झ्यालढोका खोलिए
उज्यालो छिर्याे अँध्यारो कोठामा
र, बतास ह्वात्तै बाहिरियो झ्यालबाट
वीर्यको गन्ध र परीको चरित्र बोकेर
छिनमै बतास यसरी फैलियो की
चोकको चिया पसल, डाँडाको चौतारो हुँदै
पुग्नुपर्ने ठाउँ पनि पुग्यो
नपुग्नु पर्ने ठाउँ पनि पुग्यो

कोठाको झ्याल खुले । बतासमात्रै उडेन । उड्यो त त्यो चरित्र सबै । आमाकोमा पुग्यो तर । कलङ्कित भइन ती नारी । नक्कचरी बनिन् । मर्द, मर्द नै रह्यो ।

हावा त हावा नै हो
बेपर्वाह उड्दैउड्दै गयो जतातता
एकदिन ठोक्कियो मर्दकै आमाको कानमा
आक्रोशित भइन् आमा र भनिन्
‘त्यो नक्कचरी…!’
फेरि शान्त भइन् र भनिन,
‘छोरा चिन्ता नगर,
नडरा यो हावासँग, तँ छोरा होस् ।’

उनको कविता वाचनको शृङ्खला सकियो । त्यो हल तररर… तालीले गुञ्जियो । धेरै उभिएरै कविता सुनिरहेका थिए । स्रोताको मनमा समाजको विकृत चित्र कोरियो । समाजमा यस्ता बतास चलिरहेकै छ । आखिर भागिदार समान भए पनि नारीले समाज नामको कलङ्क बोकिरहँदा त्यो पुरुष चोखिन्छ । जीवन धान्ने महत्वपूर्ण चिज गाँस, बास, कपास अनि सहवास । दुरुपयोगले उठाउँछ घरबास भन्ने उदाहरण पनि हो कविता । कवयत्री तुम्खेवा भन्नुहुन्छ, “समाजमा आमाले पनि छोराको गल्तीलाई ढाक्छिन्, तर छोरीलाई छोरीको सम्बन्धलाई खत्तमै भयो भन्ने असमान सोचाइ हुन्छ ।” महिला दूषित हुन्छ भने पुरुष पनि दूषित हुनुपर्छ, कविताले भन्न खोजेको यही हो ।

सशक्त भएकै कारण यसपाली यही कविता उत्कृष्ट हुँदै पुरस्कार पायो । शक्तिशाली कविताको सङ्ज्ञा दिँदै अग्रज कवि तुलसी दिवस भन्नुहुन्छ, “चेतनाको विकासमा कविले कविताको सदुपयोग गरेका छन्, कविता लेखनमा संलग्न महिलाहरु अस्तित्व संरक्षणमा सचेत भएको पाएको छु ।” कविताको शक्ति देखाउने बेला आएको भन्दै उहाँले एउटा कविताले पनि कविलाई स्थापित गराउँछ भन्ने उदाहरण यही कार्यक्रम हो भन्नुभयो । जसरी तुम्खेवालाई स्थापित गराइदिएको छ ।

कविताले साताको साहित्य डटकमबाट रु २० हजार पुरस्कार प्राप्त गरेको छ । यसका कार्यकारी सम्पादक कवि सुमन घिमिरेले धेरै लेखिने र कम पढिने विधा कविता भएकाले पुरस्कार स्थापना गरेर कवि र कविताको गरिमा बढाउने प्रयास थालिएकोे बताउनुभयो ।

पुरस्कारका लागि यसपाली तीन रचना छनोट भएका थिए । गीता पुडासैनीको कविता ‘बाल– विधवा’ र रुपक वनवासीको गजललाई जितेर ‘वीर्यको बतास’ले बाजी मार्यो । पहिलो चोटी यसरी पुरस्कृत भएको विज्ञप्ति सार्वजनिक हुँदा तुम्खेवा मलेसियामा हुनुहुन्थ्यो । उहाँले विगतमा पुरकारका लागि भनसुनको चलन थाहा पाउनुभएको थियो । छक्क पर्दै भन्नुभयो, “मैले चाहिँ पुरस्कारका लागि कविता लेखिन, आफूले लेखेका कविता मलाई कहिल्यै मन परेन, कसरी पुरस्कार पाएँँ होला भन्ने लाग्छ । जीवनकै पहिलो पुरस्कार भएको बताउने तुम्खेवा कवितासङ्ग्रह निकाल्ने तयारीमा रहेको बताउनुहुन्छ ।

हरेक साता उत्कृष्ट कविता प्रकाशन गर्ने साताको साहित्य डटकमले नजिर स्थापित गर्दै एउटा कविताको रु ५०० पारिश्रमिक दिनेगर्छ । सम्पादक निष्प्रभ सजी सानैदेखि कविता मन पर्ने भएकाले कवितासँग जोडिरहनका लागि सानो सोचबाट अनलाइनमार्फत कविताको महत्व बुझाउने कोशिस गरेको प्रतिक्रिया दिनुहुन्छ । यसअघि नवीन प्यासी, पोल्लास सिन्धुलीया, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचना पुरस्कृति भइसकेको छ । रासस

Comment here