जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार १७:४०

बाढीपीडितको उद्धारमा नेपाली सेनालाई २०० थान हेडल्याम्प सहयोग


काठमाडौं, मङ्सिर ११ । बाढीपीडितको उद्धार तथा राहत कार्यमा खटिने नेपाली सेनालाई २०० थान हेडल्याम्प सहयोग गरिएको छ । रातिको समयमा तथा कठिन भूगोलमा खोज तथा उद्धार कार्यलाई सहज बनाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा उक्त सामग्री नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् ।

अमेरिकी नागरिक जन सी. ग्रेगरी जुनियरबाट प्राप्त पोर्टेबल इलेक्ट्रिक ल्याम्प बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी र प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले नेपाली सेनाका सहायक रथी शीतल बानियाँलाई हस्तान्तरण गर्नु भएकाे हाे । 

हस्तान्तरण कार्यक्रममा रेडक्रसका अध्यक्ष भण्डारीले सामग्रीको परिमाण सानो भए पनि विपद् प्रतिकार्यमा यसको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले विपद् प्रभावितको उद्धार तथा राहतका लागि थप सहयोग जुटाउन र सम्बन्धित निकायसँग सहकार्य गर्न रेडक्रस निरन्तर सक्रिय रहेको जानकारी दिनुभयो ।

अमेरिकाको प्रकाश उपकरण उत्पादक कम्पनी ‘स्ट्रिमलाइट इङ्क’का जनरल काउन्सेल तथा इन्टेलेक्चुअल प्रोपर्टी म्यानेजरसमेत रहनुभएका ग्रेगरीले विपद् प्रतिकार्य र मानवीय सहायताका लागि उक्त सामग्री निःशुल्क उपलब्ध गराउनुभएको हो ।

हस्तान्तरण गरिएका सामग्रीमध्ये १०० थान सेप्टर रबर/इलास्टिक हेडल्याम्प र १०० थान ब्यान्डिट हेडल्याम्प रहेका छन् । करिब एक हजार अमेरिकी डलर मूल्य बराबरका यी सामग्रीले रातिको समयमा र कठिन भौगोलिक क्षेत्रमा खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा रेडक्रसका उपनिर्देशक शिवराम गौतम, लेखा अधिकृत शम्भुप्रसाद निरौला, नेपाली सेनाका अधिकृत तथा प्राधिकरणका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।