काठमाडौं, मंसिर १२ । बाजुराको जगन्नाथ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
दुर्घटनामा शुक्रबार राति जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी सोही गाउँकी ५२ वर्षीया रामशरा देवी सिंहको पनि उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर दुर्घटनामा दुई जनाकाे मृत्यु भएकाे थियाे भने चालकसहित पाँच जना घाइते भएका थिए । घाइते हुनेमा अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ट्याक्टर चालक नवीन बोहरा, जगन्नाथ गाउँपालिका–३ मनिकाँडाकी ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगीता शाही र ५२ वर्षीया रामशरा देवी सिंह रहेका थिए ।
गम्भीर घाइते सिंहको कोल्टीस्थित आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव अस्पतालको शवगृहमा राखिएको छ । दुर्घटनामा घाइते भएका अन्य चार जनाको कोल्टीस्थित आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी जुड्डी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घाइते तथा मृतकलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्