जनता टाइम्स

१२ मंसिर २०८३, शनिबार ०९:०४

बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चालकसहित पाँच घाइते


बाजुरा, मङ्सिर १२ । बाजुराको जगन्नाथ गाउँपालिका–३, दाउणामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित पाँच जना घाइते भएका छन्।

शुक्रबार साँझ भएको दुर्घटनामा जगन्नाथ गाउँपालिका–३, मनिकाँडाका अन्दाजी ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए।

पिलुचौर बजारबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

दुर्घटनामा चालक अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय नवीन बोहरासहित जगन्नाथ–३ का बिउरा ओड, संगीता शाही, सिद्धा ओड र रामसरादेवी सिंह घाइते भएका छन्।

घाइते पाँचै जनाको कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।