काठमाडौँ, मङ्सिर १२ । नेपाली सेना र अमेरिकी सेनाबीच ‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा हटाउने विषयमा ज्ञान तथा अनुभव आदानप्रदान हुने भएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी सेनाको प्रशान्त कमान्डका विशेषज्ञहरू मङ्सिर १४ देखि २१ गतेसम्म नेपाली सेनासँगको कार्यक्रममा सहभागी हुनेछन्।
नेपाली सेनाको आयोजनामा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन हुने कार्यक्रममा दुवै देशका सैन्य विशेषज्ञले विस्फोटक पदार्थ तथा उपकरण पहिचान, निष्क्रियकरण र सुरक्षित विसर्जनका विधिबारे अनुभव साटासाट गर्नेछन्।
कार्यक्रममा अमेरिकी सैन्य विशेषज्ञले कार्यसञ्चालन अनुभव, प्राविधिक ज्ञान तथा उत्कृष्ट अभ्यासबारे जानकारी गराउनेछन्। अमेरिकी टोलीले शान्ति स्थापना कार्यका क्रममा विस्फोटक पदार्थबाट उत्पन्न जोखिम व्यवस्थापनमा नेपाली सेनाले हासिल गरेको अनुभवबाट पनि सिक्ने अवसर पाउनेछ।
दुवै देशका विशेषज्ञले संयुक्त अभ्यासमार्फत विस्फोटक पदार्थजन्य जोखिम पहिचान, व्यवस्थापन र सुरक्षित विसर्जनका लागि आवश्यक सीप अभिवृद्धि गर्नेछन्।
यस कार्यक्रमले दुई देशबीचको सैन्य सहकार्य र तयारी क्षमता सुदृढ गर्नुका साथै शान्ति सैनिक तथा सर्वसाधारणको सुरक्षा गर्ने क्षमता बढाउने अपेक्षा गरिएको अमेरिकी दूतावासले जनाएको छ।
कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले नेपाल विश्वका अग्रणी शान्ति सैनिक योगदानकर्ता मुलुकमध्ये एक रहेको उल्लेख गर्दै यस अभ्यासले नेपाल र अमेरिकाबीचको दीर्घकालीन रक्षा साझेदारी थप मजबुत बनाउने बताउनुभएको छ।
विस्फोटक पदार्थ निष्क्रिय पार्ने र सुरक्षित रूपमा हटाउने विषयमा विज्ञता आदानप्रदानले दुवै देशका साथै विश्वभरका शान्ति स्थापना अभियानमा मानवीय जीवनको रक्षा गर्ने क्षमता अभिवृद्धि हुने उहाँको भनाइ छ।












प्रतिक्रिया दिनुहोस्