जनता टाइम्स

८ माघ २०७६, बुधबार ०७:४६

छाउगोठ भत्काएपछि महिलाका समस्या बुझ्न कर्णाली र सुदुरपश्चिम प्रदेशका गाउँ-गाउँमा मन्त्रीसहितको टोली


बिष्णु शर्मा, दैलेख । छाउपडी समस्याबाट ग्रसित कर्णाली प्रदेश र सुदुरपश्चिममा सरकारले छाउगोठ भत्काउने अभियानलाई तीब्र पारेको छ । अभियान नरिन्तर चलिरहेका बेलामा छाउगोठ भत्केपछि महिलाहरुलाई कस्तो समस्या छ भनेर समस्या बुझ्न अहिले महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्ग, स्वास्थ्य राज्य मन्त्री नवराज रावत, मन्त्रालयका सहसचिवहरु सँगै प्रतिनिधि सभाका सदस्यहरुको टोली स्थालगत अध्ययनका क्रममा गाउँ गाउँमा पुगेको छ ।

दिपायल हुँदै अछामको मंगलसेनमा बृहत छलफल गरेपछि मंगलवार मन्त्री गुरुङ्ग सहितको टोलीले दैलेखको दुल्लूमा बृहत छलफल सम्पन्न गरेको छ । दैलेखमा ३ सय बढी छाउगोठ भत्किएपछि कतिपय महिलाहरु छाउगोठ छोडेर पशुचौपाय बाँध्ने गोठमा जान थालेको भन्ने कुरा बाहिर आउन थालेपछि मनको छाउगोठ भत्काउने अभियानमा आफुसहितको टोली स्थलगत अध्ययनमा हिडेको मन्त्री पार्वत गुरुङ्गले बताउनुभयो । ।

छाउगोठ कतिपय स्थानमा भत्किसकेका छन्, अभियान जारी छ, यती हुँदा हुँदै पनि स्थानीय नागरिकहरु भित्र रहेको मनको छाउगोठ भत्काउन सरकारले चेतनामुलक कार्यक्रम सुरु गरेको र यो अभियानमा स्थानीय जनप्रतिनिधिहरु अग्रसर हुँदै मनको छाउगोठ भत्काउन जुट्नुपर्ने मन्त्री गुरुङ्गंले सुझाव दिनुभयो । मनको छाउगोठ भत्काउने अभियान सँगसँगै स्थानीय प्रशासनले कानुनी राज्यको पालना गर्ने बिषयलाई जिल्ला प्रशासन र जिल्ला प्रहरीले महत्वका साथ लिन मन्त्री गुरुङ्गले निर्देशन दिनुभएको छ ।

उहाँले केन्द्र सरकारले अभियान सुरु गरेको छ अव प्रदेश र स्थानीय सरकारले पनि अभियानकै रुपमा मनको छागोठ भत्काउन लाग्नुपर्ने बताउनुभयो । छाउगोठ भत्केपछि जनताहरुले कसरी लिएका छन् यसको अध्ययन गरेका छौं, सरकारले आगामी दिनमा थप कस्ता कामहरु गरेमा छाउगोठ मुक्त गर्न सकिन्छ भन्ने बारेमा पनि यो अध्ययनले सजिलो भएको छ । सामाजिक कुरितिहरुको अन्त्यका लागि सरकारले चालेको कदम सँगै नयाँ कदम चाल्नका लागि प्रतिनिधिमुलक जिल्लाहरुको भ्रमण गरेको टोलिले दैलेखका जनप्रतिनिधि, सामाजिक कार्यकर्ता, अभियान्ताहरु सँग छलफल र बहस पनि गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कर्णाली र सुदुरपश्चिममा छाउगोठमा बसेकै कारण महिलाहरुले अकालमै ज्यान गुमाउनुपर्ने दर्दनाक अवस्थाको पूर्ण रुपमा अन्त्य गर्नका लागि मन्त्री सहितको टोली गाउँका अगुवा, बुद्धिजिवी, विद्यार्थी, महिलाहरु सँग छलफल गर्दै आएको बताउनु भयो । यसको मुख्य दायित्व राजनीतिक दलहरु र निर्वाचित जनप्रतिनिधिहरुसँग रहेकोले वडा वडामा अभियान थाल्नुपर्ने सुझाव रावतले दिनुभयो । छाउपडीको समस्या कर्णाली र सुदुरपश्चिममा मात्र हैन देशैभर रहेको छ ।

गोठमै गएर सुत्नुपर्ने र घर बाहिर गएर सुत्नुपर्ने बाध्यता सुदुरपश्चिम र कर्णालीमा धेरै देखियो यो मानवता विरोधी गतिविधिको पूर्ण रुपमा अन्त्य गर्न सरकार लागेको र केही हदसम्म सफल भएको रावतले बताउनुभयो । देशैभर छाउपडीको समस्या छ । अहिलेपनि स्तरअनुसार छाउबार्ने प्रचलन देखिएको छ । गरिव, विपन्न र पिछडीएका समुदायमा रहेको पुरातनवादी सोच भत्काउँदै अभियान सफल पार्नु सवैको दायित्व रहेको रावतको भनाई छ ।

प्रतिनिधि सभाका सदस्य एवं नेकपा दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले दैलेख अवको ६ महिनाभित्र छाउगोठ मुक्त जिल्ला बनाउने अभियानमा लाग्ने बताउनुभयो । निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिदै हरेक जनप्रतिनिधिहरुले छाउगोठ मुक्त अभियानमा नलाग्नेहरुलाई आगामी दिनहरुमा पार्टीमा मुल्याँकन गरिने समेत उहाँले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले छाउगोठ भत्काउनुपर्छ भन्दै अव दैलेखमा व्यानरा राखेर कार्यक्रम गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।

२१ औं सताब्दीमा महिलाहरुलाई गोठ राख्ने हाम्रो प्रवृधि सदाका लागि अन्त्य गर्नुपर्ने र जनप्रतिनिधिहरुले अव लाज मान्नुपर्ने अवस्था आएको बताउनुभयो । सांसद पार्वती बिसुन्केले मानसिकता परिवर्तन सँगै कानुनी उपचारमा अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो ।